काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा कथा छ । कतै अभाव, कतै सम्बन्ध, कतै मिहिनेत-संघर्ष र कतै सम्पन्नताको कथा भेटिन्छ ।
नायिका वर्षा सिवाकोटीको पनि आफ्नै कथा छ । आखिर उनी पनि त यो सहरको एक पात्र न हुन् !
राम्रा कपडामा सजिएको चम्किलो अनुहार भएकी नायिका । सुन्दरी विशेषतासहितको ‘चर्चित नायिका’ को ट्याग पाउनुअघि वर्षाको जीवन यात्राले पनि एउटा उतारचढाव पार गरेको छ ।
उनी ‘इन्ट्रोभट’ छिन् । घर र स्कुल वा यो सहरकै वातावरणले उनलाई ‘इन्ट्रोभट’ बनायो । घर-विद्यालयको कडा अनुशासनले आफूलाई ‘इन्ट्रोभट’ बनाएको वर्षाको बुझाइ छ ।
‘बुवा अलि स्ट्रिक हुनुहुन्थ्यो । उहाँसँग डर लाग्थ्यो । राम्रो पढाइ होस् भनेर कडा अनुशासनमा भएको स्कुलमा पढाइ भयो । हरेक कमिकमजोरी र गल्तीमा सजाय दिने स्कुलमा पढियो । यी दुई कुराले नै मलाई इन्ट्रोभट बनाए जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘मतलब घरको र स्कुलको अनुशासनले मलाई खुलेर बोल्ने बनाएन ।’
स्कुल पढ्दासम्म वर्षाले सहज बाल्यकाल पाइन् । बुवाको बैंकमा नोकरी भएकाले आर्थिक पाटो सहज थियो । सहरका नाम चलेका बोर्डिङमा पढ्न पाइन् । अभाव र असहजता उनले अनुभव गर्नुपरेन ।
वर्षा कक्षा ११ मा पढ्दाताका सुतेको ओछ्यानबाटै हृदयाघातका कारण बुवाले प्राण त्याग गरे । परिवारको एक मात्र आम्दानीको स्रोत भएका बुवाको अनुपस्थितिमा आर्थिकलगायतका असहजता देखा पर्न लागे ।
वर्षा भन्छिन्, ‘सबैलाई आफ्नो समस्या ठूलो लाग्छ । अकस्मातको घटनाले बुवा बित्नुभयो । दाइले जागिर सुरु गर्नु भएको थिएन । यो अवस्थामा निकै कठिनाइहरु आइपरे ।’
बुवाको अनुस्थिति वर्षाले गहिरो रुपमा महसुस गर्नुपरेको चाहिँ स्नातक पढ्ने बेला हो । त्यस बेला उनकी आमालाई आफन्हतरुले सल्लाह दिन्थे, ‘तपाईंले छोरीलाई पढाउन सक्नुहुन्न । बिहे गरिदिनू ।’
तर, वर्षाको आमाले दह्रो खुट्टा टेकिन् । कलेज जाने सोच गरेकी छोरीलाई आर्थिक अभावको दबाबमा चुरा, सिन्दुर र पोतेको बन्धनमा पराइ घर पठाउन चाहिनन् ।
भनौं, पति वियोगको बज्रपातमा परेकी वर्षाकी आमाले जीवनको असहज परिस्थितिमा ‘सटकर्ट’ खोजिनन् ।
स्नातक पढ्नबाट वर्षा वञ्चित हुन परेन । उनी आफैँले पनि नाम चलेकै कलेजमा छात्रवृतिमा नाम निकालिन् । त्यही स्नातक दोस्रो वर्ष पढ्दै गर्दा उनलाई फिल्मबाट अफर आयो ।
उनी भन्छिन्, ‘मेरो ममी त्यसबेला स्ट्रङ नभएको भए सायद म आज नायिका बन्दैन थिएँ होला । मेरो कलाकारिता यात्रा कलेजको कार्यक्रमबाट सुरु भएको हो ।’

०००
वर्षाको पुर्ख्यौली घर मोरङ हो । उनको जन्म मात्रै उता भएको हो । पढाए–हुर्काइ र कार्यथलो काठमाडौं नै बन्यो ।
आफू बैंकको जागिर भएकाले छोरीले पनि यही क्षेत्रमा काम गरोस् भन्ने बाबुको इच्छा थियो । वर्षामा करिअरको खासै चिन्ता थिएन ।
अक्सर व्यक्तिले किशोरावस्थामा प्रवेश गरेपछि सपनाको पेसा बनाउँछन् । वर्षामा त्यो पनि थिएन ।
उनी भन्छिन्, ‘मेरो केही सपना थिएन । परिस्थितिले जता लैजान्छ त्यहीँ जान्छु भन्ने सोच भएको व्यक्ति हो म ।’
अनि कलाकार बन्ने इच्छा नि ?
यस प्रसंगमा भने उनीसँग बाल्यकालको एउटा मीठो स्मृति छ । वर्षाको डेरा छेउ एक फिल्मको सुटिङ भएको थियो । सानै भएकाले उनलाई फिल्मको नाम याद छैन ।
उनलाई याद छ- बुवाले बोकेर उनलाई सुटिङ हेर्न लगेको । अर्को उनले नबिर्सिएको कुरा- त्यस फिल्मको हिरोइन करिश्मा मानन्धर थिइन् ।
उनी भन्छिन्, ‘मलाई करिश्मा म्यामले बोक्नु भएको थियो । अनि केही खानेकुरा दिनुभएको थियो ।’
यो घटनाले पाँच वर्षभन्दा कम उमेरकी वर्षालाई अनौठो छाप पारेछ । ठूलो भएपछि उनलाई ‘करिश्मा मानन्धर’ बन्ने इच्छा पैदा भयो ।
उनी भन्छिन्- मैले मन्दिर जाँदा, बाटोमा मूर्ति जस्तो ढुंगा देखेँ भने पनि नमस्कार गरेर ‘करिश्मा मानन्धर बनाइदिनू’ भनेर वर माग्थेँ ।
तर, यो वर माग्ने क्रम उनको हुर्काइसँगै हरायो । उनी भन्छिन्, ‘७–८ वर्षसम्मको हुँदा मैले यसरी वर माग्ने गरेको ममीहरु सुनाउनुहुन्छ । त्यसरी वर मागेको केही स्मृति मेरो दिमागमा अझै छ ।’
यो वर्षाको सुरुवाती बाल्यकालको कुरा हो । एक अबोध बालिकाले मागेको वर मात्रै हो ।
हुर्किएसँगै वर्षालाई नृत्यमा रुचि बढ्यो । स्कुलमा आयोजना हुने नृत्य कार्यक्रममा सहभागी हुने विद्यार्थीमा उनी अग्र स्थानमै आउँथिन् ।
उनी भन्छिन्, ‘म स्कुल बाहिरका नृत्य प्रतियोगितामा पनि सहभागी भएकी थिएँ । टेलिभिजनको बाल नृत्य प्रतियोगितामा पनि सहभागी भएकी थिएँ । भृकुटी मण्डपमा हुने खुला नृत्य प्रतियोगितामा सेकेन्ड भएकी थिएँ ।’
यही कारणले वर्षालाई घर परिवार र आफन्तले नायिका उपनाम दिन्थे । तर, वर्षालाई अभिनयमा आउने कुनै इच्छा थिएन । न उनलाई यस क्षेत्रप्रति चासो नै थियो ।

कन्सल्टेन्सीको जागिर
वर्षाको बुवाको निधनपछि घरको आर्थिक अवस्था कमजोर बन्यो । गृहणीको जिम्मेवारी सम्हाल्दै आएकी आमालाई छोरा–छोरीलाई आर्थिक सहजता दिन स्वभाविकरुपमा सकस भयो ।
वर्षा बुझ्ने भएकी थिइन् । आमालाई परेको असहता उनले महसुस गरिन् । स्नातक पहिलो वर्ष पढ्दै जागिर खाने निर्णय लिइन् ।
वर्षा भन्छिन्, ‘आफ्नो लागि खर्च पुर्याएँ भने घरमा केही सहज हुन्छ कि भनेर काम गरेकी थिएँ । तर, इच्छा नहुँदा नहुँदै मैले काम गरेको हो । त्यो मेरो बाध्यता नै थियो ।’
आफन्तको कन्सल्टेन्सीमा वर्षाले जागिर सुरु गरिन् । इच्छा नहुँदै बाध्यताले रोजेको कामले उनलाई सन्तुष्टि मिलेन । ४–५ महिनामै छाडिन् ।
उनी भन्छिन्, ‘आफन्तको काम गर्दा अलि व्यवसायिक व्यवहार पनि नहुने । अफिसमा पनि पारिवारिक वातावरण घुस्ने रहेछ । जस्तो– आफन्तकै अफिस भएकाले तलब पनि यो महिना मिलाएर काम चलाउन भन्ने हुँदो रहेछ । त्यस्तै कुराले म जागिरमा टिक्न सकिनँ ।’
फिल्मको प्रस्ताव
वर्षालाई अचानक फिल्मको प्रस्ताव आएको थियो । स्नातक दोस्रो वर्ष पढ्दै गर्दा यो संयोग जुरेको थियो ।
वर्षा आफ्नै कलेजको ‘मिस्टर एण्ड मिस प्रतियोगिता’ मा सहभागी भएकी थिइन् । त्यस प्रतियोगितामा सहभागीले नृत्य र अभिनयसमेत गर्नुपर्थ्यो ।
त्यस प्रतियोगितामा आफूले ‘मिस ट्यालेन्ट’ को उपाधि जितेको उनी बताउँछिन् ।
यस कार्यक्रममा मिडिया क्षेत्रका हस्तीहरु जज र कोरियोग्राफरको भूमिकामा थिए । यसको फाइदा वर्षाको करिअरमा पुग्यो ।
वर्षाले प्रस्तुतिमार्फत् मन जितेकाले उनीहरुले फिल्म ‘नाइ न भन्नु ल २’ को टिमसँग भेट गराइदिए । जुन वर्षाको डेब्यू फिल्म हो ।
यो फिल्म डेब्यू बन्नुमा ‘अनुहार मिल्नूको संयोग’ ले थप भूमिका खेलेको वर्षा बताउँछिन् ।
वर्षा भन्छिन्, ‘त्यसमा मेरो भूमिका सानो छ । तर बालकलाकार सुज्ञानी भट्टराईसँग मिल्ने अनुहार खोज्नु भएको रहेछ । मेरो र उसको अनुहार ठ्याक्कै मिल्यो । त्यसकारण मलाई नै फिल्ममा अभिनय गराउन उहाँहरुले बढी चासो राख्नुभयो ।’
यसरी जीवनमा अभिनयको अध्याय सुरु भएको जस उनी कलेजको कार्यक्रमलाई दिन्छिन् ।

‘पशुपतिप्रसाद’ ले पारेको प्रभाव
वर्षालाई फिल्ममा आउन संघर्ष गर्नुपरेन । अकस्मातको आएको अवसरलाई उनले सदुपयोग गरिन् । हिट शृङ्खलाबाट ठूलो पर्दामा डेब्यू गर्न पाइन् ।
तर, फिल्म क्षेत्रमा आउन सहज भए पनि स्थापित हुन संघर्ष गर्नुको विकल्प छैन । अभिनयबाट दर्शकको मन नजिते स्थायित्वमा प्रश्न उठ्छ ।
वर्षा यसमा पनि आफूलाई भाग्यमानी मान्छिन् । उनले दोस्रो फिल्म ‘पशुपतिप्रसाद’ गरिन् । यसमा उनी शीर्ष भूमिकामा छिन् । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।
वर्षा भन्छिन्, ‘पशुपतिप्रसाद राम्रो टिमले बनाएको फिल्म हो । यसले गर्दा मलाई सिरियस मेकरहरुबाटै प्रस्ताव आयो । जसकारण मेरो करिअरलाई गति लिन सहज भयो ।’
यसरी उनी फिल्म ‘पशुपतिप्रसाद’ लाई अभिनय करिअरको अर्को टर्निङ प्वाइन्ट मान्छिन् ।

‘माग्ने राजा’ सम्म आइपुग्दा
वर्षाको अभिनय रहेको फिल्म ‘माग्ने राजा’ भदौ ६ मा प्रदर्शनमा आउँदै छ ।
यो उनको ०८२ सालमा प्रदर्शनमा आएको दोस्रो फिल्म हो । गत वैशाखमा उनी स्टारर फिल्म ‘झिल्को’ प्रदर्शनमा आाएको थियो ।
अहिले वर्षा मेकरहरुको रोजाइको नायिका बनेकी छन् । एक दर्जनभन्दा बढी फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी उनी स्थापित नायिकाको सूचीको अग्रस्थानमा नै पर्छिन् ।
तथापि उनको सबैभन्दा हिट फिल्म ‘छक्का पञ्जा ५’ हो । जुन गत वर्षको दशैँमा प्रदर्शनमा आएको थियो । त्यसयता उनको ब्यस्तता झन् बढ्दो छ ।
अर्थात्, स्थापित ब्यानरका फिल्म र स्टार नायकहरुसँग वर्षाले नायिकाको रुपमा सहकार्य गरिसकेकी छन् ।
उनले साइन गरेका तीन फिल्म छायाङ्कन हुन बाँकी छन् । ‘महाराजधिराज’, ‘गोबर गणेश’ र ‘जहाजै’ मा उनले साइन गरेका फिल्महरु हुन् ।
अन्त्यमा…
वर्षा एक यात्रा पार गरेर आफूलाई फिल्म क्षेत्रमा स्थापित गर्न सफल भएकी छन् ।
अर्थात्, ‘वर्षा सिवाकोटी’ नामलाई फिल्म क्षेत्रले नायिकाका रुपमा चिन्छ ।
तर, उनलाई अभिनयप्रति थप मोह पैदा हुँदै गएको छ । आधा दर्जन हिट फिल्म दिँदा पनि उनी आफ्नो अभिनयप्रति अझै सन्तुष्ट बन्न सकेकी छैनन् ।
उनी भन्छिन्, ‘मैले आफूलाई चित्त बुझ्ने गरी अभिनय गर्न सकेको छैन । जुन फिल्ममा पनि अझ बढी गर्न सक्थेँ जस्तो लाग्छ । म आफ्नो भोक मर्ने गरी अभिनय गर्न पाउने भूमिकाको खोजीमा छु ।’
प्रतिक्रिया