भोजपुर– भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् ।
भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो ।
विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ ।
शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उनको भनाइ छ ।
विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उनको टिप्पणी छ । उनले यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताए ।
कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन् । कृषिअन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहनेले कक्षा ९ बाटै प्रवेश गर्नुपर्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिए ।
व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाले धान, मकै, विभिन्न जातका तरकारी, च्याउखेती, मौरीपालन, माछापालनलगायतका बारेमा ज्ञान दिइन्छ ।
साथै जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग, कीरा र उपचार पद्धतिबारे पनि अभ्यास गराइन्छ ।
आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ की छात्रा विविहाङमा राईले बताइन् । अभ्यासका माध्यमबाट शिक्षण हुने भएकाले सीप आर्जन गर्न सजिलो भएको उनको भनाइ छ ।
२०७४ सालदेखि बाली विज्ञान व्यावहारिक शिक्षा सुरु भएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिइरहेका छन् । (रासस)
प्रतिक्रिया