काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सङ्गठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।
२०७८ सालमा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
शनिबार भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूको तर्फबाट स्वागतद्वार राखिने भएको हो ।
यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसङ्गठनले लिएका छन् ।
बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने जनाइएको छ ।
महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ब्यापक बनाउने तयारी छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ ।
गौतमका अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।
एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेले पेस गर्ने छन् ।
एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।
व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधी तय गर्ने उत्सव भएकाले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिए । एमालेले आजदेखि विधान महाधिवेशनको काउन्ट डाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ । विधान महाधिवेशन सुरु हुन अब १९ दिन बाँकी छ ।
प्रतिक्रिया