सत्ताको आडमा दुई डिलरको दादागिरी | Khabarhub Khabarhub

सत्ताको आडमा दुई डिलरको दादागिरी

कुटानी, पिसानी र पेलानीमा जनता



ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको बिरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल बाथरुमको ढोका खुल्लै जन्मिएको पोजमा नुहाइरहेका थिए । यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे– ‘लाज, सरम, घिन केही छैन, यस्तो के तमासा देखाउनु भएको ?’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए– ‘म तपाईंलाई केवल यो बताउन चाहान्थें कि यो अवस्थामा ब्रिटिस सरकार समक्ष त्यस्तो कुनै कुरा छैन, जो अमेरिकी राष्ट्रपतिका सामु गुप्त राख्न सकियोस् ।’

नेपालका अधिकांश शासकको हालत चर्चिलको जस्तै छ । अरुले भरिदिएको हावाको गतिमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारुढको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन्, तिनीहरुका लागि सत्ता सधैं अंगुर अमिलोको कथासरह बन्यो । हिन्दी सिनेमाको यो गीत सायद नेपाली राजनीतिलाई देखेर बनाएको हुनुपर्छ– ‘जितनी चाभी भरी राम ने, उतनी चली खिलोना ।’ कुनै आग्रह, पूर्वाग्रह होइन अहिलेसम्म सर्वाधिक महत्त्वपूर्ण भनिएको २००७ सालको राजनीतिक क्रान्तिका नायक मानिएका त्रिभुवनले आत्मसमर्पण गरेका थिए तर बर्दी भिराइयो राष्ट्रपिताको ।

संविधान संशोधनको एजेण्डा देखाएर कांग्रेस–एमालेले सत्ता बाँडे । संविधान त एउटा निहुँ थियो । भित्री उद्देश्य राज्यको श्रोत साधन बिलो लगाउनु नै हो ।

संविधान संशोधनको एजेण्डा देखाएर कांग्रेस–एमालेले सत्ता बाँडे । संविधान त एउटा निहुँ थियो । भित्री उद्देश्य राज्यको श्रोत साधन बिलो लगाउनु नै हो । अन्धभक्त कार्यकर्ताको जागिर सुरक्षित गर्नुमा कांग्रेस–एमालेका मुखियाले आफ्नो दीर्घकालीन फाइदा देखेका छन् । शेरबहादुर देउवा र केपी ओलीको सत्तायात्रा मुलुक नबनाउने राष्ट्रिय सहमतिको हस्ताक्षर हो । सुशासन र जनताको बखान गोहीले शिकार गर्दा बगाएको आँसु जस्तै हो । राज्यमा बढ्दो अव्यवस्था यिनीहरुका लागि खुँदो हो । जनमतमा एक नम्बर पार्टी सधैं सत्ताको फेविकोल भएर बस्नु राजनीतिशास्त्रको कुन दर्शनभित्र पर्छ ?

एउटा नबोली नबोली र अर्को फन्टुस बोलेर विधि विरुद्धको महायज्ञमा चरु होमिरहेका छन् । प्रधानमन्त्री कानुनभन्दा माथि सर्वाधिकार सम्पन्न शासन प्रणाली भएको देशमा एउटा संस्थाको खरिदारलाई बोलाएर प्रधानमन्त्री झाँको झार्छन्– ‘बेलैमा मल किन नल्याएको ?’ प्रधानमन्त्री र मन्त्रीको कार्यगत सम्झौताको नाटक चल्छ । मानौं मन्त्री पेटिठेकेदार र प्रधानमन्त्री मूल ठेकेदार हुन् । शिक्षा, स्वास्थ्य सिंचाई, सडक यातायात, विधिको शासनलाई बटमलाइनमा राख्ने बित्तिक्कै काम गर्न कुनै एजेण्डा खोज्नै पर्दैन । भातको सितादेखि सरकारी अफिसका भित्तासम्म भ्रष्टाचार भएपछि खोज्ने त बाहनाबाजी नै हो । सरकारले बनाउने सिटामोलदेखि सरकारी झण्डा बोकेर उड्ने वायुसेवा निगमसम्म थला परेका छन् । यी सबैको नैतिक जिम्मेवारी सत्तारुढ दलका नाइकेहरुको हैन ? आँगनमा हेलिकोप्टर, घरभित्र अस्पताल, साइरनवाल गाडीका लहर, मेसिनगन बोकेकाको डफ्फा, रोजेको–खोजेको खानपान, पोसाकको सरकारी बन्दोबस्ती दादागिरीका लागि नभएर जनताको सहज व्यवस्थापन मिलाउन हो । तीन करोड जनताको व्यवस्थापनको जिम्मेवारीका कारण सत्ता सञ्चालकलाई सुविधा दिइएको हो ।

आफैंले आफैंलाई ढाँटेर रोपिएको निर्देशित प्रजातन्त्रको बेर्ना राजा महेन्द्र, बीपी हुँदै प्रचण्डपथसम्म आउँदा पनि दुईपाते हुन सकेन । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकले प्रचण्डलाई देअवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए

आफैंले आफैंलाई ढाँटेर रोपिएको निर्देशित प्रजातन्त्रको बेर्ना राजा महेन्द्र, बीपी हुँदै प्रचण्डपथसम्म आउँदा पनि दुईपाते हुन सकेन । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकले प्रचण्डलाई देअवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए । प्रकारान्तरले उनका लागि प्रधानमन्त्री पद फगत मुन्टो लुकाउने जागिर बन्यो ।

मुलुक राणा शासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए– ‘जनताद्वारा निर्वाचित हुने प्रतिनिधिद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । हाम्रो देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिदैछ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’

राजा त्रिभुवनको यो सपना उनी बाँचुन्जेल पूरा हुने छाँटकाँट कतै आएन । उनका छोरा महेन्द्रले राजपाट सम्हालेको चार वर्षपछि देशबासीका नाममा गरेको सम्बोधन त झन् विरक्त लाग्दो थियो– ‘हालै इलेक्सन कमिसनबाट पेश भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने व्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएबाट सो घोषित तिथिमा चुनाव हुन नसक्ने भएको छ भनी आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावतः हामीलाई जति खेद लागेको छ सो देशवासीलाई पनि भनिरहनुपर्ने कुरो छैन् ।’

झण्डै सात दशकपछि गणतान्त्रिक मुलुकका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलको हालत पनि दुरुस्त उस्तै छ । त्यो बेला पनि राजा महेन्द्रले दललाई यस्तै नैतिकताको पाठ सिकाउँथे, जसरी अहिले रामचन्द्रले सिकाइरहेका छन् । यी सबै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो– दशकौं एउटै रोटेपिङमा हामी किन मच्चिरहेका छौं ? कहिल्यै घिउ नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ?

यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अहिले त झन् नागरिक भएका राजाका नातिले उज्यालो अनुहार लगाएर एउटा भिडियो सार्वजनिक गर्दा गणतन्त्रका सारथीहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । यसबाट गणतन्त्रको जग कति मजबुत रहेछ भन्ने आफैँ प्रष्ट हुन्छ । नेताले स्वीकारेको जनता मौन रहेको शासन व्यवस्था सधैं धरापमा रहिरहन्छ । व्याकरण मिलेन भने सुनको स्वर्ग भएको रावण पूज्य भएनन् । पाण्डवकै सन्तान भएर पनि कर्ण सत्यवादी पाण्डवको कित्तामा ल्याउन लोक हच्कियो ।

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालीन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जो सँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसँगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रका अवतारहरुले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् । यी पात्रहरु कतै गुण्डागर्दीको कमाइमा कानुन आफ्नो मुट्ठीमा कैद गरेका छन् भने कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडिरहेका छन् ।

बीपीको समाजवाद, मदन भण्डारीको बहुदलीय जनवाद र माओको नौलो जनवाद क्रसर उद्योग, जग्गा दलाल, घुसखोर, हाइड्रोपावरका खेलाडीको कब्जामा पुगेर खरानी भएका छन् । ०४६ सालको परिवर्तनलाई विस्थापित गर्न रिमिक्स शैलीमा उतारिएको संघीयता र गणतन्त्रले मुलुकलाई न गरी खानु, न मरी जानुको अवस्थामा पुर्‍याएको छ ।

भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर सावित भइसकेको छ । यो फर्मूला विश्वका दुई शक्ति राष्ट्र विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर बिकाउनेको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो ।

भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर सावित भइसकेको छ । यो फर्मूला विश्वका दुई शक्ति राष्ट्र विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर बिकाउनेको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो ।

अहिले मात्र हैन, उहिल्यैदेखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ । जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासंग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए ।

कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेता महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीले मानवताको नाताले रिहाइको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए ।

पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईंलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सबैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाई नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ । आशा छ– तपाईंको तर्फबाट मानवीय कर्म हुनेछ ।’

यता पद्शम्शेरले पनि सत्याग्रहमा उत्रिएकाको माग सम्बोधन गर्नकै लागि नेहरुसँग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरुले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्र सिंहजस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए । नेहरुले भनेका थिए– तपाईंहरु के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि आफ्ना चारजना प्रतिनिधि पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीले त तपाईंहरुले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए । तपाईंले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरुले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ– ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तिमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ ।

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले साँच्चै केही ऐतिहासिक काम गरे । गोराहरुको ढाड्स पाएका जंगबहादुरले पहिले आपूmलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्‍याए । भाइहरुको विवाह राजा खलकसँग मात्र गराएनन, आफूलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

देशका योजनाले ५० वर्षपछि जन्मिनेको हक अधिकार सुरक्षित राख्ने हैसियत देखाउनु पर्छ । पहिला एउटालाई पूmलपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रुखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरुको झल्को दिने काम गर्दै आएका छन् ।

सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली ठहर्दै आएका छन् । देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर छन् । कालो कोट लगाउने वकिलहरु वकालतमा भन्दा जग्गा बेचबिखनको धन्दामा जमेका छन् । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाहमा धेरै बिक्छ । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल छैन, उनीहरु निजीक्षेत्रका नेता बनेका छन् । राजनीतिको पहिलो खुड्किलोमै पछारिएका मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भएका छन् ।

सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली ठहर्दै आएका छन् । देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर छन् ।

जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकेर स्वघोषित बुद्धिजीवी भएर शहर पसेका छन् । एकातिर सामाजिक संरचनाका अवयवहरु यसरी विश्रृंखलित भएका छन् भने अर्कातिर सिंहदरबार यस्तो ७८ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने शेरहरु फर्किंदा रुझेको बिरालो बन्दै निस्किएका छन् ।

मानिस भन्छन्– नेपालमा सुन महँगो छ । तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ । माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या गनी साध्य छैन् । नागरिकका लागि राज्यले आधारभूत रुपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीका भरपर्दो साधन भएका छन् । नगरपालिकाले आफैँले आफैँलाई धान्न नसकेको देशमा संघीयता नामको राजनीतिक सौदाबाजीले आतंक मच्चाएको छ । संघीयता ल्याउनेहरु नै यसको स्वरुप देखेर चकित देखिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : १५ बजे

विदेश यात्रामा हुने विकृति रोक्ने अध्यागमनको प्रयास, ट्राभल एजेन्सीदेखि विमान कम्पनीसम्मलाई ७ बुँदे निर्देशन

काठमाडौं- अध्यागमन विभागले विशेष विदेश यात्रामा हुने अनियमितता, टिकट ओभरबुकिङ,

ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका

‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग

काठमाडौं – निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘बलिदान’को टिजरले

एशियन होटलले आईपीओ निष्कासन गर्ने 

काठमाडौं– एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कान गर्ने

बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क