काठमाडौं– सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरूले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किएपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन् ।
हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख राणाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा छलफल नै नभएको बताए ।
सत्तारुढ दलकाबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्त्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका विषयमा साझा धारणा बनाउने प्रयास गरिएको उनले बताए ।
त्यस्तै उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे । बर्तौलले उपसभामुखका विषयमा उठेका प्रश्नहरूलाई निष्कर्षका पुराउनका लागि खुला ढंगले छलफल गर्ने बताए ।
उपयुक्त समयमा यसका विषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देशबाहिर रहेका बेला उनकाविरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा राखे ।
यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किएपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए ।
सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल भएको उनले बताए ।
बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगायत दलका नेताहरू सहभागी भएका थिए ।
प्रतिक्रिया