मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै « Khabarhub

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व मनाउँदैछन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा वैदिक मन्त्र उच्चारण गर्दै कुश उखलेर घरमा राख्ने यो पर्व शुभकार्य र पितृकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

हिन्दू परम्पराका सबैजसो शुभकार्य र पितृकार्यमा अनिवार्य मानिने कुश भदौ औँसीका  दिन वर्षभरलाई पुग्ने सङ्ग्रह गर्ने परम्परा छ । यस दिन कूल पुरोहितले पनि आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएर उखालिएको कुश दलिनमा सिउरी दिन्छन् । यद्यपि मिथिलामा भने घरमूली आफैँले पनि बिहानको ब्रह्ममुहूर्तमा कुश उखलेर घरमा सिउरिने चलन छ ।

कुश उखल्दा हिन्दू परम्परामा तलको मन्त्र उच्चारण गर्नुपर्ने मान्यता छ । 
 ‘विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव ।।
पूर्व मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः । 
हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत ।।’

यो मन्त्रले उखेलिएको कुश एक वर्षसम्मका शुभकार्य र पितृकार्यका लागि पवित्र मानिने शास्त्रीय मत छ । हिन्दू वैदिक परम्परामा प्रत्येक शुभकार्य होस् वा पितृकार्य, त्यसको सङ्कल्प कुशबिना कल्पना नै नगरिएको हिन्दू मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए ।

कुशको औँठी धारण गरेपछिमात्र कुनै व्यक्ति पितृकार्य र शुभकार्यको कर्ता हुनसक्ने स्थापित परम्परा छ । यसैगरी वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जौ, तील समातेर गरेको सङ्कल्पपछिमात्र कार्यआरम्भ गरिन्छ ।

यसबाहेक भदौ औँसी अर्थात् कुशेऔँसीका दिन घरको दलिन वा अन्यकतै स्वच्छ ठाउँमा सिउरिएको वा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ ।

शास्त्रीय मतअनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने  पाका मैथिल बताउँछन् । कुश ग्रहण आचरणका दृष्टिले पनि सात्विक मानिने लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

बाबु जीवितै हुनेले यो दिन नयाँ वस्त्र फेराएर मिष्‍टान्न परिकार भोजन गराउँछन् । यसै दिन दिवङ्गत पितृका लागि हिन्दू परम्परामा तीर्थ श्राद्धको पनि परम्परा रहेको छ ।

बाबुको मुख हेर्ने दिनको परम्पराले आज टाढाटाढाबाट बाबु भेट्न पुग्नेको चहलपहल बढेको छ । पर्वविशेषले यस भेगका सबैजसो बजारका मिठाइ पसल र कपडा पसलमा बाबुका लागि उपहार किन्नेको एकाबिहानैदेखि भीड लागेको छ ।

नेपाली जनजिब्रोमा कुशेऔँसी भनिने दिनलाई नै मैथिल जनजिब्रो कुशअमबसीया भनेको हो । यो पर्वलगत्तै हिन्दू नारीको महान पर्व हरितालिका तिज र लगतै मिथिलामा निष्ठासाथ मनाइने चौरचन पर्वले पनि यहाँ चहलपहल बढेको छ । (रासस)

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १० : ३६ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त