काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको त्यसबेला माओवादी उपाध्यक्ष अग्नि सापकोटाले बताएका थिए ।
‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भनेका थिए, ‘छिटै वार्ता समिति बनाएर सम्पन्न गर्ने निर्णय भएको छ ।’
त्यसबेला माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने वार्ता चलिरहेको सापकोटाले बताएका थिए । ‘विप्लजीको पार्टीबारे निर्णय भइसकेको छ, धेरै भनिरहनुपरेन’, उनले भनेका थिए, ‘माधवजीको पार्टीबारे हामी निष्कर्षमा पुगिसकेको अवस्थाछ छैन । छलफल चलिरहेको छ । एकीकृत समाजवादीसँग तत्कालै एकता सम्भव देखिएन ।’
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने गरी माओवादीले निर्णय गरेको पनि सोमबार २० दिन बितिसकेको छ । तर, विप्लवसँगको एकतामा प्रचण्डको प्रयास झन् झन् असफल हुँदै गएको छ ।
‘कुनै बेला महासचिव विप्लव आफैं माओवादीसँग एकताका लागि तयार हुनु भएको थियो । उहाँ तयार हुँदा प्रचण्डले टारेको टार्यै गर्नु भयो’, उनीनिकट एकजना नेताले भने, ‘अब अहिले प्रचण्डले जोडबल गरिरहनु भएको छ । तर, अहिलेको अवस्थामा विप्लवले अलग्गै बाटो तय गर्ने योजना बनाउनु भएको छ ।’
माओवादीमै किचलो
विप्लवसँग एकताको योजना बनाएका प्रचण्ड आफैंले अहिले माओवादीभित्र शक्ति संघर्ष गर्नुपरेको छ । साउन १९ मा सकिएको चार दिन लामो स्थायी समिति बैठकमा आफूसँग दुई लाइन संघर्ष चर्काइरहेका उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई आत्मआलोचना गराउन असफल भएका प्रचण्डले त्यसयता समाजवादी मोर्चा ब्युँत्याएका छन् । त्यसैगरी एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग पनि एकताको कोसिस गरिरहेका छन् ।
तर माधव नेपालले एकीकृत समाजवादीलाई माओवादीमा मिसाउँदा आफ्नो साइज झन् घट्ने चिन्ताले एकतामा नजाने निष्कर्ष निकालिसकेका छन् । सम्मानित नेता झलनाथ खनालसँग दुई लाइन संघर्षको चेपुवामा रहेका नेपाल माओवादीसँगको एकताबाट हच्किएका छन् ।
यस्तोमा प्रचण्डले उपमहासचिव शर्मालाई ‘चेक एन्ड ब्यालेन्स’का लागि विप्लवलाई भित्र्याउन चाहेका थिए । यसअघि नै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई प्रचण्डले सक्रिय गराइसकेका छन् । उनले नन्दबहादुरलाई उपाध्यक्षको भूमिका दिइसकेका छन् । उपाध्यक्षमा फर्किएसँगै अहिले नन्दबहादुर पुन प्रचण्डका लागि एउटा भरोसा बनेर उभिएका छन् ।
उनले त्यही कुराको पुष्टि साउन १९ सम्म बसेको चार दिन लामो स्थायी समिति बैठकमा गरिदिए । उनले माओवादी बैठकमा जनार्दन पार्टी लाइनबाहिर गएको भन्दै आलोचना गरे । पुनले अहिले प्रचण्डको विकल्प खोज्ने नभई, नेतृत्वलाई बलियोसँग साथ दिएर अघि बढ्नुपर्ने मत पनि राखे ।

उक्त बैठकमा जनार्दनले माइन्युटमा मात्रै हस्ताक्षर नगरेको कुरामा आत्मआलोचित भए । पेरिसडाँडा बैठकपछि यी दुई नेताबीचको कलह थामिने अपेक्षा थियो ।
तर प्रचण्डले ४ भदौमा देशको राजनीतिको खाँबो आफूले छाडे गर्ल्यामगुर्लुम भत्किहाल्छ कि जस्तो लाग्ने गरेको बताए । साहित्यकार बाबा बस्नेतद्वारा लिखित रङ्गिन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कविता सङ्ग्रह) र आवाज (श्रव्य नाटक सङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो भनेका थिए ।
‘हुन त म अहिले सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्ष दलको नेता छु’, उनले त्यस दिन भने, ‘तर यस्तो लाग्छ–देशको राजनीतिको खाँबो मैले छोड्दिएँ भने भत्किहाल्छ कि जस्तो पनि लाग्छ । गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ र पुरै जिम्मा मेरै काँधमा भएजस्तो ।’
उनले कहिलेकाही यस्तो त हुँदैन भन्ने पनि सोच्ने गरेको पनि उनले त्यस दिन सुनाए । ‘सोच्छु यस्तो त हुँदैन जीवनमा । मान्छे त एउटा निश्चित अवधिसम्म गर्ने हो शाश्वत कुरा मरिन्छ र अर्कोले गाडी चलाउँछ । तर, जिम्मेवारीबोध भन्ने यस्तो हुँदोरहेछ अन्तिम अवस्था नहुँदासम्म जिम्मेवारीले थिचिराख्ने’, प्रचण्डले भदौ ४ मा भने ।
प्रचण्डले त्यसो भनेको ४ दिनपछि ८ भदौमा उपमहासचिव शर्मा जंगिए । शर्माले प्रचण्डलाई लक्षित गर्दै ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन’ भन्ने कडा टिप्पणी गरे । प्रचण्डले राजनीति छोड्दा सबै गल्र्यामगुर्लम्म हुने अभिव्यक्ति दिएपछि त्यसको खण्डन गर्दै जनार्दनले कडा जवाफ फर्काए ।
शर्माले शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको र शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए। उनले भने, ‘आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसक्यो।’ शर्माले कसैले राजनीति छोड्दैमा पृथ्वी नढल्ने भन्दै आफ्नो टिप्पणीलाई थप स्पष्ट पार्दै प्रचण्डलाई जवाफ फर्काए ।
माओवादीमा प्रचण्ड र जनार्दनबीच दुई लाइन संघर्ष चर्किरहँदा अन्य साना कम्युनिस्टसँगको एकता भने अलमलमा परेको छ ।
माओवादीसँग मिल्न तयार विप्लव अहिले भड्किएका छन् उता माधव नेपाल पनि आन्तरिक संघर्षका कारण एकताबाट टाढिएका छन् ।
बरू विप्लवले छुट्टै कम्युनिस्ट केन्द्र बनाउनेगरी छलफल थालेपछि प्रचण्डले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संवादका लागि खटाए । गत २१ साउनमा नारायणकाजीले विप्लवसँग एक घण्टा लामो वार्ता गरे ।
माओवादी केन्द्र र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको बहुप्रतीक्षित पार्टी एकता प्रक्रिया अनिश्चित बनेका बेला भएको यी दुई नेताबीचको भेटले पनि कुनै निकास दिएन । स्थायी समितिको बैठकको केही दिनपछि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विप्लवलाई फकाउने कोसिस गरेका थिए।
उक्त भेट वार्ता विप्लव नेतृत्वको नेकपाले माओवादीसँग एकता नगरी आफ्नो नेतृत्वमा फरक राजनीतिक केन्द्र निर्माण गर्ने निर्णयपछि भएको थियो।
विप्लव नेतृत्वको नेकपाले अहिले पनि माओवादी केन्द्रप्रति आलोचनात्मक धारणा राख्दै आएको छ । विप्लवले आफूलाई ‘सच्चा क्रान्तिकारी धार’ को प्रतिनिधि बताउँदै छुट्टै पहिचान निर्माणको कोसिस गरिरहेका छन् ।
उता माओवादीभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वामपन्थी एकताको पक्षमा सक्रिय भएर लागेका छन् । उनले विप्लवसँगको संवादमार्फत् पार्टी एकता वा न्यूनतम सहकार्यको सम्भावना पुनः जीवित राख्न प्रयास गरेका थिए । तर उनको प्रयासलाई विप्लवले पत्याएनन् ।
फरक प्रयास
गत साउन ६ गते पुष्पलाल जयन्तीका अवसरमा स्कुल अफ मार्क्सिज्मले आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक बहसमा विप्लव, जनार्दन र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एकैठाउँ देखिए । उनीहरू एकै मञ्चमा देखिएनन् मात्रै उक्त कार्यक्रममा विचार पनि समान खालको व्यक्त गरे ।
यी तीन नेताले केपी शरमा ओली, माधवकुमार नेपाल र प्रचण्डको नेतृत्वप्रति गम्भीर आलोचना र विरोध गरे। उनीहरूले वर्तमान शीर्ष नेतृत्व कम्युनिस्ट मूल्य-मान्यताबाट विचलित भइसकेको निष्कर्ष उक्त कार्यक्रममा सुनाए ।
विप्लव नेकपा महासचिव हुन् भने जनार्दन र घनश्याम दोस्रो तहका नेतामा पर्छन् । उनीहरूले आफ्नो नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै विकल्प खोज्नुपर्ने धारणा उक्त मञ्चबाट साझा रुपमा सार्वजनिक गरे ।
भुसालले उक्त कार्यक्रममा पुरानो नेतृत्वबाट परिवर्तन सम्भव नरहेको ठोकुवा गरे । विप्लवले प्रचण्डकै कारण माओवादी कमजोर भएको आरोप लगाए। जनार्दनले मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट रहेको आरोपसम्म लगाए । उनले साउन तेस्रो साताको स्थायी समिति बैठकमा आफूले प्रचण्डलाई नभनेको भनेर बचाउ गरे । यद्यपि मनमोहनबाहेकका प्रधानमन्त्रीमा प्रचण्ड पनि पर्छन्।
अन्तर्क्रियामा तीन दलका दोस्रो तहका नेताहरू मिलेर नयाँ पार्टी खोल्न लागेको भनेर प्रश्न पनि गरे । उक्त प्रश्नको जवाफ दिँदै नेकपा महासचिव विप्लवले अहिलेको नेतृत्वबाट कम्युनिस्ट आन्दोलन नचल्ने निष्कर्षसहित नयाँ ध्रुवीकरण सुरू भएको बताए ।
त्यसपछि विप्लवले साउन ९ गते जनार्दन शर्मासँग ललितपुरस्थित बखुण्डोलमा एक्ला एक्लै भेटवार्ता गरे । शर्मासँगको भेटमा पार्टी एकता, वामपन्थी ध्रुवीकरण र साझा मोर्चा बनाउने विषयमा छलफल भएको विप्लवको सचिवालयले त्यसबेला जनाएको थियो ।
उक्त भेटघाटमा पार्टी एकतासहित नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी पुनर्गठन गर्नेबारे लामो छलफल भएको विल्लवको सचिवालयले जनायो । दुई नेताबीच नयाँ सिराबाट एकता र सहकार्यको कुरा भएको विप्लवको सचिवालयका एक सदस्यले त्यसबेला बताए । अर्को चरणमा छलफलले मूर्तरुप लिने विश्वास विप्लवले लिएका थिए ।

साउन ९ गते नै विप्वलले माओवादीका अर्का उपमहासचिव वर्षमान पुनसँग पनि वार्ता गरे । त्यस भेटमा प्रचण्डकै शैलीमा वर्षमानले पनि विप्लवलाई पार्टी एकताको प्रस्ताव अघि सारेका थिए ।
त्यसपछि साउन ११ मा विप्लवले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग संवाद गरे । पोखरेलसँगको भेटवार्तामा एमालेको आन्तरिक झगडादेखि समग्र कम्युनिस्ट आन्दोलनका समस्याबारे छलफल भएको विप्लवको सचिवालयले जनाएको थियो ।
तर त्यसयता सोमबार (भदौ ९ गते) विप्लव र जनार्दनबीच कुरा भएको बताइएको छ । विप्लवनिकट एक नेताले भेटको पुष्टि गरेको छ । तर सोमबार हरिसिद्धि पुगेर विप्लवलाई भेटेको कुरा उपमहासचिव शर्माले अस्वीकार गरेका छन् । सोमबार बिहान प्रचण्डले हरिसिद्धि पुगेर विप्लवलाई फकाउने प्रयास गरे ।
नयाँ कम्युनिस्ट केन्द्र निर्णमाका लागि विप्लव, जनार्दन र घनश्याम पटक पटक छलफलमा बसेका छन् । विप्लवले माओवादीसँगको एकतालाई अहिलेका लागि थाती राख्दै आफ्नो नेतृत्वमा नयाँ केन्द्र बनाउने तयारी गरिरेहका छन् ।
त्यसका लागि विप्लवले घनश्याम र जनार्दनसहित जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि सहकार्य हुन सम्भव रहेको आँकलन गरेका छन् । त्यहीअनुसार उनी अहिले माओवादीसँग एकतालाई थाती राखेर नयाँ कम्युनिस्ट केन्द्र निर्माणको कोसिसमा छन् ।
एकता टर्यो : अनिल शर्मा विरही

एकतामा जाने माओवादी निर्णयपछि साउन २० मा बसेको ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक स्थायी समिति बैठकले एकतालाई अस्वीकार गरिदियो । उक्त बैठकले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा पुगेको छैन भन्ने निष्कर्ष निकालेको थियो ।
बरू बैठकले नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको थियो । आगामी चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने गरी उत्पादन केन्द्रित कार्यक्रम र महासचिव विप्लवको ‘स्वच्छ नेतृत्व’ मा देशलाई निकास दिने कार्ययोजना अघि बढाउने सहमति बनेको नेताहरूले बताएका थिए ।
यता विप्लव नेतृत्वको नेकपाका एकजना नेता अनिल शर्मा विरही पनि माओवादीसँगको एकता अहिलेलाई सम्भव नभएको बताउँछन् । प्रचण्डले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबाट जोगिन एकता प्रयास गरेको बताउँछन् ।
‘विप्लव प्रभाकरसँग नजिकिएपछि प्रचण्डले भेट्नु भएको हो । अलिकति सन्तुलन मिलाउनुपर्छ भन्ने उद्धेश्य हुन सक्छ’, शर्माले भने, ‘अहिले पनि प्रचण्ड एकता गर्नुपर्छ भन्नेमा जोड गरिरहनु भएको छ । तर हामी प्रचण्डबिनाकव कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा पुगेका छौँ ।’
उनले त्यसका लागि विभिन्न नेताहरूसँग छलफल भइरहेको पनि बताएका छन् । ‘अहिले महासचिव कमरेडको जनार्दन शर्मा घनश्याम भुसालहरूसँग छलफल भइरहेको छ । तर अब प्रचण्डले चाहे जसरी एकता सम्भव छैन । हामी त उनीबिनाको कम्युनिस्ट केन्द्र निर्माणको दिशामा अघि बढिसकेका छौँ ।’
खासमा प्रचण्डले अहिले पनि विप्लवलाई अल्मल्याउने खेल खेलिरहेको शर्माले बताए । ‘विप्लवलाई अल्मल्याउने कोसिसस्वरुप प्रचण्ड हरिसिद्धि पुग्नु भएको हुन सक्छ । जनार्दन शर्मा र घनश्याम भुसालहरू पनि एक ठाउँमा आउँदा समस्या पर्न चिन्ता उहाँमा छ । हामी त अब पुनर्गठित माओवादीको नेतृत्व गर्ने गरी जान्छौँ ।’
उनले दोहोर्याउँदै आफूहरू माओवादीसँग एकताको पक्षमा नरहेको उल्लेख गरे । ‘पहिले हामीले एकताको लागि बल गर्दा प्रचण्डले झुलाउने मात्रै काम गर्नु भयो’, उनले भने, ‘हामीले बल गर्दा नमानेपछि अब एकता सम्भव छैन । हामी कम्युनिस्ट एकता केन्द्र निर्माणका लागि अघि बढिसकेका छौँ।’
प्रतिक्रिया