तीजको दरमा कस्तो खानपान उचित हुन्छ ? | Khabarhub Khabarhub

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

थोरै खाऔँ, अधिक रमाइलो गरौँ


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन मिठा मिठा परिकारहरू खाने र भोलि निराहार व्रत बस्ने चलन हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको हो । 

तर पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा मात्रै सीमित रहेन । विभिन्न कार्यालय, सामाजिक संघ संस्था तथा गाउँ टोलमा गरेर झन्डै २ हप्ता अगाडीदेखि नै दर खाने चलन बढ्दै गइरहेको छ । 

पहिले पहिले दर भनेर घरमै पकाइएका स्वस्थकर ठाउँ अनुसार फरक फरक खालका खानेकुरा जस्तै : ढकने, खीर, सेलरोटी, फलफूल तथा तरकारी, अचार लगायतका खानेकुरा खाइन्थ्यो भने अहिलेको दर प्राय पार्टी प्यालेस रेष्टुरेन्टहरुमा खाइन्छ । 

होटेलमा पाकेको खाना त्यसै पनि धेरै चिल्लो हुन्छ । त्यसमाथि तारेका चिजहरू मसालेदार माछामासु, विभिन्न किसिमका कोल्ड ड्रिङ्क्स तथा हार्ड ड्रिङ्क्सहरुको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविद्हरू बताउँछन् ।

पोषणविद् नानीशोभा शाक्य भन्छिन् शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरूमा पछिल्लो समय त्यसै पनि मोटोपनको समस्या रहेको छ भने कुनै न कुनै प्रकारका रोग पनि बढ्दै गइरहेका छन् । 

जस्तै कसैलाई सुगर, प्रेशर, मुटुसम्बन्धी समस्या छ भने कसैलाई ग्याष्ट्रिकको समस्या रहेको छ । यस्तो अवस्थामा दरको नाममा दिनदिनै खाइने हरेक परिकारहरूले त्यस्ता समस्यालाई झन् बढाइरहेको उनले बताइन् । 

उनका अनुसार दरमा खाइने परिकारहरू चिल्लो, मसालेदार हुने भएकाले पहिलेदेखि नै समस्या भएकाहरूमा झन् बढाउँछ भने नभएकाहरूमा पनि विभिन्न समस्याहरू सिर्जना गर्ने काम यसले गरिहरेको छ । 

स्वस्थ तरिकाले दर कसरी खाने ? 

वर्षभरी विभिन्न काममा व्यस्त महिलालाई साथीसँगी दिदीबहिनी जम्मा भएर केही दिन रमाइलो गर्नु मानसिक हिसाबले राम्रो हो । तर खानपानले गर्दा शारीरिक रूपमा विभिन्न समस्याहरू निम्त्याउने सम्भावना धेरै हुने भएकाले खानपानमा धेरै ध्यान दिनुपर्ने पोषणविद् शाक्यको भनाई छ । 

तीजमा व्रत बस्ने दर खाने चलन सदियौंदेखि चल्दै आएको हो । तर त्यो बेलाको हाम्रो जीवनशैलीको तुलनामा अहिले एकदमै फरक रहेको बताउँदै शाक्य भन्छिन्– पहिले छोरीहरूलाई बिहे गरेर पठाइसकेपछि अहिलेका छोरीहरूले जस्तो पोसिलो खानेकुरा पाउँदैनथे, भिर पाखा, मेलापातमा काम गर्नुपर्ने हुन्थ्यो । टाढा भएका चेलीबेटीहरूलाई एकै दिन भए पनि मिठो मसिनो खुवाऊँ भन्ने सोचेर माइतमा बोलाएर खुवाउने चलन रहेको थियो होला । तर अहिले त्यो अवस्था छैन । 

जतिखेरै जस्तोसुकै खाना बनाएर खान सक्ने अवस्था प्राय सबैको छ । त्यसैले आजभोलि दरमा भारी खाना समावेश नगरी हल्का खानाहरु समावेश गर्दा राम्रो हुन्छ । कोभिड महामारीभन्दा अगाडी मनाइने दर खाने कार्यक्रम र त्यसपछि मनाउने कार्यक्रममा केही फरक त आएको छ । तर अझै धेरै कुरामा सुधार गर्नुपर्ने शाक्य बताउँछिन् । 

धेरै जना जमघट भएर मनाउँदा सङ्क्रामक रोगहरूको संक्रमण हुने, भारी खाना खाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउँछ भनेर चिल्लो पिरो कम खानेको संख्या बढिरहेको छ । 

तर अझै यसमा सुधार गर्नुपर्ने देखिन्छ । खानपान भन्दा रमाइलोलाई अझ बढी जोड दिन जरुरी रहेको उनले बताइन् ।  

के खाने के नखाने ? 

तीजको दर व्रत बस्नुभन्दा अघिल्लो दिन राति खाइने भएकाले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । अघिल्लो दिन खाएको खानाले भोलिपल्ट व्रत बस्दा सजिलो होस् भनेर लामो समयसम्म भोक लागेको अनुभव नहुने खालको खानेकुरा खाने चलन रहेको छ ।
 
धार्मिक हिसाबले त्यसदिन माछामासु लगायत तामसिक खाना वर्जित गरिएको छ । यो वैज्ञानिक हिसाबले पनि उपयुक्त रहेको पोषणविद् शाक्य बताउँछिन् ।

जस्तै भुटेको, तारेको तथा मसालेदार खानाहरू एकै पटक धेरै खानाले अपच भएर व्रत बस्ने दिनमा पखाला लाग्ने, पेट दुख्ने, ग्यास्ट्रिक हुने जस्ता पेटसम्बन्धी समस्या आउन सक्ने भएकाले सकेसम्म सजिलैसँग पच्ने खालको खानेकुरा खान उनको सुझाव छ । 

विशेष गरेर दिर्घरोग भएका महिलाहरूले दर खाँदा र व्रत बस्दा अझ विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्य बताउँछिन् । अहिलेको व्यस्त तथा तनावग्रस्त जीवनशैलीबाट मुक्त हुनका लागि केही दिन रमाइलो गरौँ भनेर दर खानु व्रत बस्नु शारीरिक तथा मानसिक हिसाबले राम्रो हो । 

तर दरका नाममा दैनिक अपाच्य खानेकुरा खानु, बियर लगायतका पेय पदार्थको सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न नकारात्मक असर गर्ने भएकाले यस्तो तरिकाले दर नखान र व्रत बस्दा पनि फलफूल खानु स्वास्थ्यका लागि उपयुक्त हुने उनले बताइन्  । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : १९ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका