काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय घेर्न थालेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर आतंक मच्चाएको भन्दै कवाडी व्यवसायीहरू संगठित रुपमा प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले मंगलबार पनि कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेरेका छन् ।
विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउका क्रममा बालेनविरुद्ध अप्रिय र आपत्तिजनक नाराबाजी र प्लेकार्ड पनि प्रदर्शन गरे ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, ज्यादती, र संरचना भत्काउने काम तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।
उनीहरूले सोमबार पनि कमलादीस्थित काठमाडौँ महानगरको कार्यालयबाहिर नाराबाजीसहित धर्ना दिएका थिए ।
कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायमा गरेको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत माग उनीहरूले गरेका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया