बुटवल– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन् । चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको `दैनिक उपभोग्य बस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो´ विषयक अन्तर्संवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले चाडबाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएमा सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिए ।
उपप्रधानमन्त्री सिंहले उपभोग्य बस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिए । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तर्संवादले उपभोक्ताको हक अधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रुपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया