श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार | Khabarhub Khabarhub

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट उत्तरतर्फ कान्छी चोक-कालाबन्जर-नडाहा हुँदै चतरातर्फ फराकिलो र सुन्दर कालोपत्रे सडक सोझिन्छ ।

पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण भएको यो सडकको मुख्य खण्डमा जनताको श्रम, खुन, पसिना पोखिएको छ । दुई दशक अघि जनताले निर्माण गरेको पूर्वाधारमा राज्यले थप लगानी गरेपछि यो सडक रमणीय र यात्रायोग्य बन्न पुगेको छ ।

सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर २०६५ भदौ २ गते पूर्व–पश्चिम राजमार्ग बगाएपछि विकल्पका रूपमा सञ्चालनमा आएको हो, इटहरी कान्छी चोक-नडाहा चतरा-कन्चनपुर सडक । एसियाली विकास बैंकको २ अर्ब ३४ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको वैकल्पिक सडकको पूर्वाधार बृहत् जनश्रमदानमा तयार गरिएको थियो ।

ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सडक ८ मिटर पक्की र दुवै साइडमा २/२ मिटर कच्ची गरी कुल १२ मिटर चौडाइ रहने सम्झौता गरिएको थियो ।  

जनश्रमदानबाट सडकको पूर्वाधार खडा गरिएको यो वैकल्पिक राजमार्ग इटहरी कान्छीचोक- चतरा- गाईघाट- भिमान सडकको मुख्य खण्ड नडाहा- चतरा सडक निर्माण भएको दुई दशकपछि शहीद स्मृति द्वार निर्माण गरिएको छ ।

पन्चायतकाल अघिदेखि नै भित्री बाटोका रूपमा प्रयोग हुँदै आएको बयलगाडा मार्गलाई माओवादी द्वन्द्वकालमा जनश्रमदानबाट सडक फराकिलो गर्ने अवधारणा ल्याइएको थियो ।

तत्कालीन माओवादीको आह्वानमा चतरा र नडाका स्थानीयले  जनश्रमदानद्वारा चार किलोमिटर बाटो निर्माण गर्न सुरु गरेका थिए । हाते औजार प्रयोग गरी निर्माण सुरु गरिएको सडक शान्ति प्रक्रियापछि २०६४ सालमा बृहत् श्रमदानको आयोजना गरी कच्ची बाटो निर्माण गरिएको थियो ।

तत्कालीन माओवादीका स्थानीय सूचना विभागको जिम्मेवारी पाएका सेन्ट्री नवराज वान्तवाका अनुसार माओवादीको आह्वानमा तत्कालीन कोशी अञ्चल ब्युरो ईश्वरी दाहाल ‘असारे’ को नेतृत्वमा शहीदमार्ग निर्माणको काम सुरु भएको थियो ।

शहीदमार्गको चतरा खण्डको श्रमदान र उपभोक्ता समितिको संयोजन रामबहादुर श्रेष्ठले गरेका थिए भने नडाहा खण्डको संयोजन पूष्प बस्नेतले गरेका थिए ।

जनश्रमदानमा बाटोको ट्रयाक खोलिएपछि तत्कालीन माओवादीले यो सडक खण्डको नामकरण गर्दै ‘शहीद मार्ग’ राखेको थियो । द्वन्द्व रूपान्तरणपछि शान्ति प्रक्रियामा आएको माओवादी पटक पटक सरकारमा गए पनि शहीद मार्गको आधिकारिक नामकरण गर्न सकेको थिएन । स्मृति द्वार समेत निर्माणका लागि बजेट विनियोजन गर्न सकेको थिएन । सडक फराकिलो भएको झन्डै दुई दशकपछि ‘शहीद स्मृति द्वार’ निर्माण गरिएको छ ।

दुई दशकपछि शहीद स्मृति द्वार

शहीद स्मृति द्वार निर्माणका लागि कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा विनियोजित २५ लाख रुपैयाँबाट निर्माण सम्पन्न भएको छ ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा समेत शहीद स्मृति द्वारका लागि बजेट विनियोजन भएको थियो । तर बजेट फ्रीज हुँदा काम हुन सकेको थिएन ।

कोशी प्रदेश सभा सदस्य सपना परियारको पहलमा विनियोजित बजेटबाट शहीद स्मृति द्वार निर्माण भएको नेकपा माओवादी केन्द्रका वराहक्षेत्र नगर कमिटीका अध्यक्ष कमल कट्वालले जानकारी दिए ।

उनका अनुसार शहीद परिवारकी सदस्य टीका भट्टराईको अध्यक्षतामा स्मृति द्वार निर्माण गरिएको हो । स्मृति द्वार निर्माणपछि नडाहा- चतरा सडक खण्डको सौन्दर्यीकरणमा समेत टेवा पुगेको स्थानीय बताउँछन् ।

शान्ति प्रक्रियापछि सुरु भयो वराहक्षेत्रमा बृहत् जनश्रमदान

गोरेटो, घोडेटो, हुलाकी मार्ग र बयलगाडा मार्गका रूपमा रहेका धेरै सडक/ बाटोहरूलाई जनताले श्रमदानबाट तयार गरेका छन् । पूर्वाधार तयार भएका कतिपय सडक/बाटाहरूमा राज्यले लगानी गरेको छ भने कतिपय सडक/ बाटा उस्तै छन् ।

माओवादी जनयुद्धको अन्त्यतिर वराहक्षेत्रमा धेरै सडकहरूको श्रमदानमा पूर्वाधार निर्माण गरिएको थियो । मान्छेमात्रै हिंड्ने बयरवन मिलन चोक- सूर्यकुण्ड सडक तत्कालीन माओवादीको आह्वानमा जनताले  श्रमदानबाट ट्रयाक फराकिलो बनाएका थिए । ट्रयाक खोलेपछि तत्कालीन वराहक्षेत्र गाविस र हाल वराहक्षेत्र नगरपालिकाले स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने काम गर्दै आएको छ । तर भिराला ठाउँहरूमा रिटर्निङ बाल उठाउने र कालोपत्रे गर्ने काम स्थानीय सरकारले गर्न सकेको छैन ।

श्रमदानमै पूर्वाधार निर्माण गरिएको भण्डारीटार- चावाचा सडक खण्डको अवस्था पनि उस्तै छ । स्तरोन्नतिका नाममा राज्यको लाखौँ रुपैयाँ रकम बर्खाको पहिरोमा पुरिँदै आएको छ । यो सडकसमेत पक्की बनाउन पहल गरिएको छैन ।

वराहक्षेत्र-२ स्थित ओमशान्ति मार्ग माओवादी द्वन्द्वकालको समाप्तिपछि विस्तार गरिएको हो । वराहक्षेत्रको लालबस्ती मार्गसहित धेरै भित्री बाटा र हुलाकी मार्गसँग जोडिएका बाटा श्रमदानमा निर्माण भएका हुन् ।

‘हामीले बाटोका ट्रयाक खोल्ने अवधारणा सशस्त्र द्वन्द्वकालकै बेला ल्याएका थियौँ तर त्यसताका श्रमदानको कार्यान्वयन सुरक्षाका दृष्टिले सम्भव थिएन,’ तत्कालीन माओवादीका वराहक्षेत्रमा सङ्गठित पर्शुराम कार्की ढोलीले भने, ‘शान्ति प्रक्रिया सुरु भएपछि नागरिकलाई बृहत् श्रमदानका लागि आह्वान गर्‍यौँ, र धेरै सडक र बाटाहरूको ट्रयाक खोल्ने काम सम्पन्न गर्‍यौँ ।’

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ७ : १३ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।