असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए « Khabarhub

असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ गते जेनजी पुस्ताका युवाको नाममा भएको भ्रष्टाचार विरोधी आन्दोलनको असली नेतृत्व को हो भन्ने विषयमा अन्यौलता देखिएको छ । 

अन्तरिम सरकार गठनको संवादका लागि जेनजी नेतृत्वको प्रतिनिधित्वको विषयमा धेरै समूह तथा व्यक्तिबाट दाबी हुन थालेपछि असली नेतृत्व को हो भन्ने विषयमा नै अन्यौलता देखिएको हो ।

२३ गतेको राज्यको दमन र २४ गतेको प्रतिरोधपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि आन्दोलनकारी जेनजी युवा पुस्ताको नेतृत्वमा सरकार गठन गर्न उनीहरूले नै सामाजिक सञ्जालमार्फत माग गरे । सोही बमोजिम नेपाली सेनाले वार्ता गर्न बोलाउँदा जेनजीको असली प्रतिनिधित्वको दाबी गर्नेको संख्या धेरै देखिएको छ ।

अहिलेसम्म विभिन्न दर्जन बढी समूहले आफूहरू नै असली जेन्जी भएको भन्दै दाबी गरिरहेका छन् । उनीहरूले विज्ञप्ति तथा सूचना जस्ता सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्ना धारणा राखिरहेका छन् । जुन धारणाहरू एक आपसमा बाझिएको पनि देखिन्छ ।

आधिकारिक प्रतिनिधित्व अभावमा निर्णायक छलफल हुन सकेन

बुधबार नेपाली सेनाले जेनजी आन्दोलनको नेतृत्वलाई वार्तामा बोलाएको थियो । नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलकै सहभागितामा जेनजी आन्दोलनको नेतृत्वको नाममा केही युवा सहभागी भएर वार्ता पनि गरे । वार्तामा सहभागी भएका जेनजी पुस्ताका नेतृत्वले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वको रूपमा प्रस्ताव गरेको विषय बाहिरियो ।

तर, सो लगत्तै बुधबार साँझ युवा पुस्ताको एउटा समूहले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने भनेर सेनाको मुख्यालय अगाडि नै प्रदर्शन गर्‍यो । जुन प्रदर्शन आजसम्म पनि जारी छ ।

साथै, बुधबारदेखि आजसम्म विभिन्न समूहले कसको नेतृत्वमा सरकार हुनुपर्ने भन्दै आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र कुलमान घिसिङ लाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने भनेर जेनजी युवा पुस्ताका छुट्टाछुट्टै समूहले छुट्टाछुट्टै आफ्ना अडान सार्वजनिक गरेका छन् ।

बिहीबार दिउँसो बालेन्द्र साह र हर्क साम्पाङका समर्थकबीच सुन्धारामा कुटाकुट समेत भएको छ । यतिबेला काठमाडौं सुन्धारा क्षेत्रमा केही जनजी नामका समूहले आआफ्ना माग सहित प्रदर्शन गरिरहेका छन् भने रिपोर्टस कल्बमा एउटा समूहले आफूलाई असली जेनजी भन्दै पत्रकार सम्मेलन समेत गरिरहेको छ ।

त्यतिमात्रै नभएर जेनजीहरूले आफ्नो माग अथवा नेपालको राजनीतिमा देखिएको अन्यौलताको निकासको विषयमा समेत स्पष्टरूपमा तय गर्न सकेका छैनन् । कुनै जेनजी समूहले हालको संवैधानिक व्यवस्थाभित्रैबाट समस्याको समाधान हुनुपर्ने तर्क गरेका छन् भने कुनै समूहले संसदको विघटन गरेर नयाँ प्रक्रियामा जानुपर्ने तर्क गरेका छन् ।

जेनजीहरूबीचमा भएको विभाजित परिदृश्यलाई देखेर दुर्गा प्रसाईँ लगायतका केही व्यक्तिहरूले पनि राजनीतिक अवसर प्राप्तिको पहलकदमीको लागि प्रयास गर्न खोजेको देखिन्छ । जसले गर्दा सरकारविहीन भैसकेको अवस्थामा राज्य अन्यौलतातर्फ जाने त होइन भन्ने थप आशङ्का पैदा गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ०१ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष