‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’ « Khabarhub

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजानका लागि पहल र नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

२० जना लेखक तथा राजनीतिक विश्लेषहरूले बिहीबार संयुक्त अपिल जारी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएका कारण राष्ट्रपतिले पहल र नेतृत्व गर्न आवश्यक रहेको औँल्याएका हुन् ।

‘अहिले प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको छ,’ अपिलमा भनिएको छ, ‘त्यसैले अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षकसमेत रहनुभएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ ।’

आन्दोलनकारी जेन–जी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद अगाडि बढाउन र ऐतिहासिक संविधानसभामार्फत् बनेको संविधानको वृहत्तर दायराभित्रैबाट आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गरिनुपर्ने उनीहरूको भनाइ छ ।

‘यस्तो संवाद, परामर्श र छलफल नेपाली सेनाको जङ्गी अड्डामा होइन, राष्ट्रपति कार्यालयमा गर्न पनि आग्रह गर्दछौँ,’ अपिलमा भनिएको छ, ‘यी समग्र राजनीतिक, संवैधानिक र संक्रमणकालीन व्यवस्थाका बारेमा राष्ट्रपतिजीले अविलम्व जनताका नाममा सम्बोधन गरी प्रक्रिया अगाडि बढाउन पनि आग्रह गर्दछौँ ।’

मुलुकको अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसद्मार्फत् अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो भएको उनीहरूले स्मरण गराएका छन् ।

‘तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौँ,’ लेखक तथा राजनीतिक विश्लेषकहरू भनेका छन् ।

उनीहरूले ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानविरुद्ध हुने कुनै पनि षड्यन्त्र नेपाली नागरिकलाई स्वीकार्य नहुने वास्तविकता पनि अभिव्यक्त गरेका छन् ।

हाम्रो अपिल–
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध तथा देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा यही भाद्र २३ गतेबाट सुरु भएको नवयुवा उमेर समूह जेन–जीको शान्तिपूर्ण आन्दोलन अकस्मात र अनपेक्षित रूपमा हिंसात्मक बन्न पुग्यो । आन्दोलनमा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भयो र दुर्भाग्यवश धेरै ठूलो जनधनको क्षति भयो ।

हामी सरकारको यस्तो अलोकतान्त्रिक, बर्बर र दमनकारी प्रवृत्तिको घोर भत्र्सना र निन्दा गर्दछौँ । त्यसैले यसबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने सुनिश्चितताका साथ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गर्दछौँ । आन्दोलनको क्रममा ज्यान गुमाउने युवा–विद्यार्थीहरूका साथै सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारसँग घाइतेहरूको निःशुल्क उपचारको माग गर्दछौँ । यस्तो आन्दोलनपछि सिर्जना भएको विषम, जटिल र संवेदनशील घडीमा नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरीले नागरिकको जीउधनको सुरक्षा गरी शान्ति र सुव्यवस्था कायम गर्न अहोरात्र खटिएका छन् ।

हामी सुरक्षा निकायलाई संविधानको भावना र विधिको शासनअनुसार मानव अधिकारको सम्मान गर्दै शान्ति सुव्यवस्था कायम गर्न आग्रह गर्दछौँ । हामी सबैलाई थाहा छ कि अवान्छित स्वार्थ समूहको घुसपैठका कारणले आन्दोलन दुर्भाग्यपूर्ण रूपमा हिंसात्मक तथा ध्वंसात्मक हुन पुग्यो ।

संसद् भवन, सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालतलगायत राज्यका लोकतान्त्रिक संस्था, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरहरूसमेत तोडफोड गरियो र जलाइयो । राजनीतिक पार्टीका कार्यालय तथा नेताका निवास जलाउने तथा तोडफोड गर्ने र व्यक्तिगत रूपमा सांघातिक आक्रमण गर्ने कार्यहरू भए ।

यसैगरी सञ्चारगृह, निजी व्यवसायिक प्रतिष्ठान तथा उद्योग–व्यवसायमाथि पनि आक्रमण, आगजनी र लुटपाटसमेत गरियो । यहाँसम्म कि विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीहरूलाई समेत जेलबाट भाग्ने स्थिति सिर्जना भयो । हामीलाई लाग्छ, यी सबै आन्दोलनको भावना र मागविपरीतका अराजक, अमानवीय र उच्छृंखल कार्यहरू थिए, जसले गर्दा मुलुकमा राज्यहिनता, भय, आतंक र अन्योलको वातावरण सिर्जना भयो ।

हामी यी सबै अराजक उच्छृंखल कार्यहरूको घोर भत्र्सना गर्दछौँ । यस्तो संकटको घडीमा संयम हुन र लोकतन्त्र, संविधान तथा मानवअधिकारको रक्षा र सम्मान गर्न सबैमा हार्दिक अपिल गर्दछौँ ।

अहिले प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको छ । त्यसैले अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षकसमेत रहनुभएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ ।

यसका लागि आन्दोलनकारी जेन–जी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद अगाडि बढाउन र ऐतिहासिक संविधानसभामार्फत बनेको संविधानको बृहत्तर दायराभित्रैबाट आन्दोलनको भावना र नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न हामी राष्ट्रपतिलाई हार्दिक अपिल गर्दछौँ ।

यस्तो संवाद, परामर्श र छलफल नेपाली सेनाको जङ्गी अड्डामा होइन, राष्ट्रपति कार्यालयमा गर्न पनि आग्रह गर्दछौँ । यी समग्र राजनीतिक, संवैधानिक र संक्रमणकालीन व्यवस्थाका बारेमा राष्ट्रपतिजीले अविलम्व जनताका नाममा सम्बोधन गरी प्रक्रिया अगाडि बढाउन पनि आग्रह गर्दछौँ ।

हामी राष्ट्रपति, आन्दोलनकारी जेन–जी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौँ कि सार्वभौम संसद् जीवित छ । साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसद्मार्फत् अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो हो भन्ने कुरा पनि हामी स्मरण गराउन चाहन्छौँ ।

तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौँ ।

अन्त्यमा, हामी ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानको विरुद्धमा हुने कुनै पनि षड्यन्त्र नेपाली नागरिकलाई स्वीकार्य नहुने वास्तविकता स्पष्ट रूपमा अभिव्यक्त गर्न चाहन्छौँ ।

-अनुप सुवेदी
-अरुण जोशी
– इन्द्र अधिकारी
– उद्धव प्याकु
रेल
-कन्चन झा
– केशव दाहाल
– कोमल भट्टराई
– कृष्ण पौडेल
– खगेन्द्र संग्रौला
– गेजा शर्मा वाग्ले
– घिमिरे युवराज
– झलक सुवेदी
– दिपेश घिमिरे
– निरज भारी
-मुमाराम खनाल
– रामराज रेग्मी
– सञ्जीव सतगैया
-सुरेश ढकाल
– विनोदविक्रम केसी
– युग पाठक

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ५ : ३३ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष