दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म | Khabarhub Khabarhub

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म



काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी पुस्ताका नाममा देशभर तोडफो र आगजनी गरियो । जेन–जीका नाममा युवाहरूले देशव्यापी तोडफोड र आगजनी गरेर ठूलो भौतिक संरचना नष्ट गरे ।

त्यस क्रममा सरकारी तथा सार्वजनिक कार्यालय र दलका नेताको घर र कार्यालय निशानामा परे । आन्दोलनकारीको तोडफोड र आगनजीबाट निजी स्वामित्वका व्यावसायिक क्षेत्र पनि परे ।

भ्रष्टाचारविरुद्ध भनेर छेडिएको प्रतिरोध आन्दोलनमा आगजनी र तोडफोड भएका निजी व्यावसायिक क्षेत्र तिनका सञ्चालकको राजनीतिक आबद्धताको आधारमा भएको हुनसक्ने देखिएको छ ।

आन्दोलनकारीले सबैभन्दा ठूलो सुपरमार्केट चेन भएको भाटभटेनीका २१ वटा शाखामा आगजनी र तोडफोड गरे । विश्वकै खर्बपति भनेर चिनिएका विनोद चौधरीको सामाखुसीको कारखाना र थापाथलीका सोरुममा पनि आन्दोलनकारीले आगजनी गरे ।

त्यस्तै, रामेश्वर थापा सञ्चालक रहेको सुविधानगरस्थित सिम्रिक एयरलाइन्सको कार्यालय पनि जलाए । त्यसैगरि काभ्रेस्थित घर र हेलिकप्टर पनि जलाइएको छ ।

साहिल अग्रवाल सञ्चालक रहेको शंकर ग्रुप स्वामित्वको नक्सालस्थित हिल्टन होटेल, गैरीधारास्थित राजेन्द्र बजगाईंको वर्नवास होटेल, लैनचौरस्थित एनसेलको कर्पोरेट कार्यालय र थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएको छ ।

उद्योगी तथा व्यवसायी चन्द्र ढकालले सञ्चालनमा ल्याएको चन्द्रागिरिस्थित र गैँडाकोटस्थित केबलकार र सञ्चार उद्यमी कैलाश सिरोहिया र गैरआवासीय नेपाली उपेन्द्र महतोको घरमा पनि आन्दोलनकारीले आगजनी गरे ।

काठमाडौँ उपत्यका बाहिरका क्षेत्रमा पनि निजी क्षेत्रको स्वामित्व रहेका कैयौँ व्यावसायिक प्रतिष्ठानमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेको समाचार आएका छन् ।

अहिलेसम्म देशभर कति क्षति भयो भन्ने विषय राज्य र निजी क्षेत्रले एकिन तथ्यांक संकलन गरिसकेका छैनन् । तर, काठमाडौं उपत्यकाभित्र भएको मुख्य क्षति भने राजनीतिक आबद्धताको आधारमा पूर्वाग्रह राखेर गरेको हुनसक्ने देखिन्छ ।

मुख्य दलमै उद्योगी व्यवसायीको आबद्धता

राजनीति तथा व्यवसाय आफ्नो इच्छाअनुसार गर्न पाउने स्वतन्त्रता नेपालको संविधानले सबै नागरिकलाई दिएको छ । त्यही अधिकारका आधारमा उद्योगी व्यवसायी आफ्नो पेसा व्यवसायसँगै विभिन्न राजनीतिक दलमा आबद्ध वा निकट भएका हुनसक्छन् ।

तर, पछिल्लो समयमा आम नेपाली जनता राजनीतिक दल र नेतृत्वसँग असन्तुष्ट हुँदै जाँदा उद्योगी व्यवसायीले भने उनीहरूलाई निरन्तर साथ दिँदै गए ।

साथै, कतिपय मुद्दाहरूमा ठूला राजनीतिक दल र उद्योगी व्यवसायीको सहकार्य जस्तो देखिन पुग्यो, तिनै विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् कैयौँ नेपालीले विरोध गरिरहेका थिए ।

भदौ २४ गतेको आन्दोलनको क्रममा आन्दोलनकारीले आगजनी तथा तोडफोड गरेको सबैभन्दा ठूलो सुपरमार्केट चेन भाटभटेनीका सञ्चालक नेकपा (एमाले)मा नै आबद्ध छन् ।

यतिमात्रै नभएर उनले पछिल्लो समयमा एमालेको केन्द्रीय कार्यालय निर्माणको निम्ति जग्गासहित भवन निर्माण गरिदिने विषय निकै विवादित बनेको थियो ।

विश्वकै अर्बपतिको सूचीका विनोद चौधरी यतिबेला कांग्रेसको तर्फबाट प्रतिनिधिसभाकै सदस्यका रूपमा रहेका छन् । सिम्रिक एयरलाइन्सका सञ्चालक क्याप्टेन रामेश्वर थापा एमालेनिकटका रुपमा चिनिन्छन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रूपमा समाजमा परिचित छन् । पछिल्लो एमाले–कांग्रेस गठबन्धनको सरकार बनाउन रामेश्वर थापाको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रचारसमेत भएको थियो ।

त्यस्तै, गैरीधारा वर्नवास होटेलका सञ्चालक राजेन्द्र बजगाईं कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । हिल्टन होटेल शंकर ग्रुपले सञ्चालन गरे पनि शेरबहादुर देउवाका छोरा जयवीर चन्दले त्यहाँ लगानी गरेको भन्दै केही समयअगाडि अप्रमाणिक प्रचार भएको थियो । जसका कारण आन्दोलनकारीले होटेलमा आगजनी गरेको अनुमान गर्न सकिन्छ ।

समय समयमा उद्योगी तथा व्यवसायीतर्फ सोझिने विभिन्न किसिमका मुद्दाको व्यवस्थापन राजनीतिक नेतृत्व तथा राज्यसत्तासँग मिलेर हुने गरेको भनेर गम्भीर आरोप लाग्ने गरेको छ ।

जुन आरोपमा प्रमाणहरू बाहिर नआए पनि अधिक प्रचारका कारण आन्दोलनको क्रममा विभिन्न राजनीतिक दलनिकट देखिएका उद्योगी व्यवसायी निशानामा परेको देखिन्छ ।

उद्योगी व्यवसायीका छाता संगठनले आन्दोलनको क्रममा निजी क्षेत्र निशाना बनाइएको विषयमा विरोध गरेका छन् । आर्थिक क्षेत्रका विश्लेषकहरूले भने जेन–जी पुस्ताले गरेको आन्दोलन क्रोनी क्यापिटलिज्मको विरुद्धमा भएको भन्दै यसलाई कोर्स करेक्सनको रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ५७ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको