काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षतिको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको उनले बताए । त्यसका लागि कुनै पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाइने अर्यालले बताए ।
त्यस्तै बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
त्यस्तै सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकालाई १० लाख र अन्य खर्च ५ लाखसहित १५ लाख रुपैया राहत दिने निर्णय गरेको मन्त्री अर्यालले बताए ।
बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन-जी जागरण स्मारक पार्क बनाउने निर्णयसमेत गरेको छ । त्यस्तै अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरिएको उनले बताए ।
प्रतिक्रिया