काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
उनले पार्टीमा आवद्ध नेता-कार्यकर्ताहरूलाई एक अपिल जारी गर्दै जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै मुलुकको विषम परिस्थितिमा विगतका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।
उनले राजनीतिमा आउने हरेक आरोहअवरोह, चुनौती र बाधालाई पन्छाएर लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र नागरिकको नैसर्गिक अधिकार रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
नेता शाहीले यो सङ्कट र अप्ठ्यारो घडीबाट देश र पार्टीलाई जोगाउन एक ढिक्का हुनुको विकल्प नभएको उल्लेख गरेका छन् ।
उनले अहिले एकआपसमा लड्ने, फुट्ने र हिलो छ्यापाछ्याप गर्ने बेला नभएको स्मरण गराउँदै आपसी मतभेदलाई बिर्सिएर धैर्यता र संयमपूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाली कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया