काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने जनाएको छ ।
जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने बताएका हुन् ।
प्रचण्डका साथै पार्टीका पदाधिकारी लगायतका नेताहरूले तोडफोड र आगजनी भएको केन्द्रीय कार्यालयको निरीक्षण गरेका थिए ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले केन्द्रीय कार्यालयलाई अत्याधुनिक कार्यालयका रूपमा पुन निर्माण गरिने उल्लेख गरे । जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरेको बताए । जतिसुकै व्यवस्था विरोधी षडयन्त्र गरे पनि त्यसलाई परास्त गर्ने उनको भनाइ छ ।
सापकोटाले जेन-जीको आन्दोलनमा घुसेका परिवर्तन विरोधी तत्त्वहरूलाई जनताका अगाडी सार्वजनिक गर्ने धारणा राखे । उनले फेरि एक पटक देशमा अमन चयन कायम गरेर समाजवादी क्रान्ति आधार तयार पार्ने दिशातर्फ अघि बढ्ने जिकिर गरे ।
त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले केपी ओली नेतृत्वको सरकार निरंकुश र गैर जिम्मेवार भएकाले अहिलेको अवस्था आएको आरोप लगाए ।
आन्दोलनका क्रममा भएको धनजनको क्षति प्रति दुख व्यक्त गर्दै जेन-जीले उठाएका जायज कुराहरूलाई राज्य र दलहरूले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।
उनले तोकिएको समयमा निर्वाचन गर्न निकै गाह्रो भए पनि निर्वाचनमार्फत लोकतन्त्रलाई ट्रयाकमा राख्न सबै जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
तोडफोड र आगजनीबाट पार्टी कार्यालयमा पूर्ण रूपमा क्षति भए पनि माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू जोगिएको माओवादीले जनाएको छ ।
प्रतिक्रिया