दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’ | Khabarhub Khabarhub

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’



काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२ वर्षीय घाइते विजय अधिकारीको एउटै खुट्टामा छ गोली लागेको छ । उनले ‘यसरी छ गोली लागेर बाँच्नुभन्दा बरु मर्न पाएको भए सजिलो हुन्थ्यो’ भन्ने अभिव्यक्ति दिए ।

अस्पतालमा विरामीको अवस्था बुझ्नका लागि रिपोर्टिङ गर्न गएको संवाददाताहरु घाइते विजयको अभिव्यक्ति सुनेर विचार शून्य हुन पुगे । प्लसटू पास गरी जापान जान तयार अवस्थामा रहेका रुकुमका विजयलाई भदौ २३ गते भएको जेन–जी आन्दोलनमा दाँया खुट्टामा ६ वटा गोली लागेको छ । आन्दोलनको पहिलो दिन पहिलो गोली उनैलाई लागेको थियो ।

विजय तीन जना दाजुभाइमध्ये कान्छा छोरा हुन् ।देशमा भएको चरम भ्रष्टाचारको कारणले आफू विदेश जानु परेको पीडाले आन्दोलनमा सहभागी नभई उनको मनले मानेन । वेथितिविरुद्ध आफूले नबोले कस्ले बोल्छ ? अरुले बोलिदिएला भनेर बस्न मनले नमानेर उनी आन्दोलनमा गएका थिए ।

सुरुमा मिडियाले विजयको मृत्यु भएको समाचार प्रशारण गरे । समाचार सुनेर आमा बेहोस भइन् । पछि साथीहरुले ‘घाइते भएको हो । गोली लागेको हो, अस्पतालमा उपचार भइरहेको छ’ भन्ने खबर गरे । बल्ल थोरै भएपनि आमाको होस खुल्यो ।

आमाले ‘कहिले सुख नदिने भइस्’ भनेको सुनेर विजयलाई एकक्षण बाँच्नै मन नलागेको सुनाउछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘आमाले समाचार हेरेर थाहा पाउनुभएछ । मलाई कहिले सुख नदिने भइस भनेर रुनुभयो । पहिले पनि मृत्युको मुखबाट बचाएर राखेको थिएँ । अहिले किन आन्दोलनमा गइस् ? भनेर गाली गरिरहनु भयो ।’

‘बूढेसकालमा छोराले सुख देला भन्ने आस थियो । पहिले फ्याक्चर भएकै गोडामा गोली लाग्यो । आमा रिसाएको चाहिँ होइन सायद मायाले मेरो चिन्ताले त्यसो भन्नुभएको हो । यो सबै देखेर आमालाई धेरै टेन्सन भयो’, उनले भने ।

विजय पहिले पनि ठूलो दुर्घटनामा परेर बाँचेका हुन् । उपचारमा निकै ठूलो रकम खर्च भएको थियो । उनी पहिले पनि हात र खुट्टामा दाग बोकेर हिँडिरहेका थिए ।

गोली लागेको घाउ निको हुन धेरै समय लाग्ने भएकाले उनले लामो समय अस्पताल बस्नुपर्ने देखिन्छ ।

ट्रमा सेन्टरले पूरै निःशुल्क उपचार र औषधी गरिरहेको उनी बताउछन् । भन्छन्, ‘मुख्य जो जेन–जी हो । उनीहरुले निः शुल्क उपचार पाइरहेका छन् । तर भागदौडमा मापसे गरेर दौडिएका थिए । जो आन्दोलन हेर्न मात्रै गएका थिए उनीहरुलाई आधा निःशुल्क उपचार भइरहेको छ ।’

घाइते भएर अस्पतालमा लडिरहेको अवस्थामा आमाबुवा भेट्न आउन सक्नुभएन । सरकारले ३ दिन कर्फ्यू लगाएपछि रोकिए । अहिले छोराको चिन्ताले आमाबुवा दुबै जना बिरामी छन् । अब छोरा हेर्न मात्रै नभएर आफ्नै उपचारको लागि पनि विजयका आमाबाबु काठमाडौं आउँदैछन् । हाल मामा र साथीभाइहरुले अस्पतालमा उनको हेरचाह गरिरहेका छन् ।

सरकार ढल्नुलाई विजयले आफ्नो आन्दोलनको मुख्य उपलब्धि ठानेका छन् । ‘नयाँ सरकारले कर्मचारीतन्त्रभित्रको भ्रष्टाचार रोक्न सक्यो भने देश बन्छ । नेता बिगार्ने नै कर्मचारी हो’, उनी थप्छन्, ‘जबसम्म कर्मचारी सुध्रदैन तबसम्म यस्ता आन्दोलन जति गरेपनि भ्रष्टाचार उन्मूलन भएर जाँदैन । कर्मचारीलाई सुधारेर काम गर्ने हो भने यति सानो देश बनाउन धेरै समय लाग्दैन ।’

‘मुख्य जेन–जी कुनैपनि राजनीतिक दलसँग आबद्ध छैन । हामी र हाम्रो साथीहरु कोहीपनि कुनै पनि दलमा आबद्ध छैनौँ । हामीले कसैप्रति प्रतिसोध साँधेर आन्दोलन गरेको थिएनौँ । जेन–जीको नाममा घुसपैठ भएको छ । संसद् भवनसम्म हामी पुगेको हो तर आगो लगाउने कुनै नियत थिएन । आगो लगाउने अरु हुन् । जेन–जी सलाई बोकेर आन्दोलनमा गएको थिएन’, उनले भने ।

जेन–जीहरुले सडकको रुखबिरुवासमेत भाँच्न दिएका थिएनन् । सडक वरपर रोपिएका फूल र दूबोसमेत जोगाउदै आन्दोलन गरिरहेका थिए । आन्दोलनमा मनकारीहरुले पानी बाँडिरहेका थिए । उनीहरुले आन्दोलनकारीले पानी खाएर फ्याँकेका बोतल र प्लाष्टिक आफैँ उठाएर हिँडिरहेका थिए ।

जेन–जीले रुखविरुवा भाँचे भन्ने समाचार आउछ भन्ने कुरामा समेत सचेत थिए पहिले–पहिले आन्दोलनहरुमा काठमाडौं महानगरले फोहोर गरेको भनेर जरिवाना तिराउँदै आएको थियो । ‘हामीसँग पैसा छैन, जरिवाना तिर्न सक्दैनौँ’, भन्दै फोहोर उठाइरहेका थिए । शान्तिपूर्ण आन्दोलन थियो । जेन–जीहरुको हातमा ढुङ्गा पनि थिएन ।

परिचालित व्यक्तिहरुले आन्दोलनको नाममा विध्वंश मच्याएको विजयको बुझाइ छ । ‘संसद् भवन जलाउने तथा तोडफोड गर्ने र प्रहरीलाई हान्ने भन्ने थिएन । प्रहरीले अचानक गोली हान्न थाल्यो । मलाई पहिलो गोली लागेपनि अर्को साथी सडकमै ढल्यो । त्यसपछि भने हामी पछाडी फर्किएनौँ । साथीहरु आवेगमा आए र प्रहरीमाथि जाइलाग्न थालेको कुरा सत्य हो ।’

‘सरकारको पक्षबाट धेरै ज्यादती भएको छ । लुकेर अश्रुग्यास हान्यो । हातहतियार विना आएको आन्दोलनकारीलाई गोली हान्ने हो ? अधिकांश स्कूल र कलेजको ड्रेसमा आएका थिए । किताब र कलम बोकेर आएको विद्यार्थीलाई सरकारले गोली हान्ला भनेर सोचेकै थिएनौँ, उनले भने ।

‘हामी युवा नेपालमै जागिर दे भन्न गएका थियौ । जागिरको सट्टा सरकारले गोली दिने ? हरेक दिन वैदेशिक रोजगारमा युवाहरु पलायन छन् । म आफैँ जापान जाने तयारीमा थिएँ । सीओई आइसकेको छ । यसलाई रोकिदेउ । हामीलाई यहि काम देउ भन्न गएको हो ।’ उनले सुनाए ।

नागरिकले अधिकार माग्दा जाँदा गोली हान्ने सरकार चाहिँदैन भनेरै २४ घण्टामै ढालियो । जनताको शक्ति कति हुने रहेछ भनेर पुराना दलका नेताहरुले बुझ्न जरुरी छ । यस आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरुको रगतमा कसैले खेलवाड गर्ने प्रयास नगरोस् । यो आन्दोलन दोहोर्‍याउन नपरोस् ।’ उनले भने ।

‘पुराना नेताहरुले सुध्रिएर आउछौँ भनिरहेका छन् । तर, व्यक्तिगत रुपमा मलाई यिनिहरु सुध्रिएर आउछन् भन्ने विश्वास छैन । यो ३० वर्षमा नसुध्रिएका यिनीहरु अब कसरी सुध्रेलान् ? यो बीचमा कति आन्दोलन भए तर खै परिवर्तन ? खै सुध्रिएको ?जनताले मौका दिएकै हो ।’ उनले भने, ‘स्कूलको ड्रेस लगाएको नाबालकमागि गोली हान्ने यो कस्तो सरकार हो ? सरकार नालायकी हुन छुट छ ? जनताको सुरक्षा गर्न नसक्ने सरकार नालायक होइन ? गोली हान्ने आदेश दिनेलाई कडा भन्दा कडा सजाय होस् । नयाँ सरकारले उनीहरुलाई कानूनी कठघरामा उभ्याउन सकेन भने हामीले न्याय पाउने छैनौँ ।’

उनले भने, ‘यदि उनीहरुको ढाकछोप भयो भने हामी पुनः सडकमा उत्रनेछौँ । यो भन्दा चर्को आन्दोलनाको सामना गर्नुपर्ने स्थिति सिर्जना नहोस् । अनुन्धानमा कत्तिपनि विचलित नभइ निष्पक्ष होस् र गोली ठोक्न आदेश दिनेलाई सजाय भएको हेर्न पाइयोस् ।’

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : ११ बजे

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बालियो दीप

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको