म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट गत भदौ २५ गते बिहान तोडफोड गरी ७६ जना कैदीबन्दी भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १४ जनाबाहेक सबै कारागार फर्काइएको जानकारी दिए । फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ ।
काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै भागेका थिए ।
प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन, २०७९ बमोजिम मुद्दा चलाइएको छ । बेनी नगरपालिका–२ खबराका २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा–१ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनील थापामगर, ३१ वर्षीय सुशन थापामगर र १९ वर्षीय अभिषेक परियार हाल प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया