सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया | Khabarhub Khabarhub

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आइपुगेका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्‍यो ।

यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाएका छन् । ‘मैले सायद यसैको प्रतीक्षा गररहेको थिएँ किनकि मैले यो समयका लागि धेरै मेहनत गरेको छु । मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो । मैले आफूले सक्ने कोसिस गरेर पात्रलाई जीवन्त बनाएको छु’, अभिनेता चौरसियाले भने ।

बाल्यकालदेखि नै चलचित्र हेर्ने बानीले गर्दा उनी कलाकार बनेर ठूलो पर्दामा देखिने सपना बोकेर काठमाडौं आएका थिए । चौरसियाले अभाव र बेरोजगारीको सामना गर्नु पर्‍याे । ‘मलाई घरबाट विदेश गएर काम गर्न धेरै दबाब आएको थियो । मेरो सर्टिफिकेट लिएर वैदेशिक यात्राको प्रक्रिया अगाडि बढाउने कुरा भएको थियो, तर म नेपालमा नै केही गर्न चाहन्थे । त्यसैले मैले आफ्नो शैक्षिक प्रमाणपत्र नै फाले । त्यसपछि परिवारसँग मेरो हार्दिक सम्बन्ध हुन् सकेन’, उनले भने ।

चौरसियाले काठमाडौं मात्र नभई भारतको दिल्लीसम्म पुगेर अभिनय सिक्ने र चलचित्र काम गर्ने प्रयास गरे । उनको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो । विसं २०७२ सालको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उनको चर्चा भयो । त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो । बनिसकेको माहोल बिथोलियो ।

त्यसपछि पुनः चलचित्र प्रदर्शन भयो, तर उनले सोचेजस्तो चर्चा हुन सकेन, तर त्यसबाट उनको अभिनय कलाबारे धेरैले थाहा पाए । ‘त्यसपछि अन्य चलचित्रमा अभिनयका लागि प्रस्ताव आउन थाल्यो । मलाई उस्तै किसिमका भूमिका, सहायक भूमिका मात्र प्रस्ताव भए । म मुख्य अभिनेता बन्न चाहन्थे, केही फरक गर्न चाहन्थे । मैले केही चलचित्रकर्मीलाई ‘नो’ भनेपछि त्यो सबैतिर फैलियो । फलतः मैले बिस्तारै काम पाउनै छाडे’, अभिनेता चौरसियाले भने ।

उनले केही समय अभिनय छाडेर माछा बेच्ने व्यवसायसमेत गरे । कोरोना महामारीका कारण त्यो पनि सफल भएन । ‘मैले जे गरे पनि बिग्रिने जस्तो हुन थाल्यो । मैले आफ्नो इमान्दारिताका साथ काम गरे पनि त्यसको नतिजा आउन सकेन ।

फलतः म शून्य भएँ, के गर्ने भन्ने सोच्नै कठिन थियो । त्यही क्रममा चलचित्रहरू प्रस्ताव हुन थाले, मैले काम त गरेँ, तर ती सब गरिबी हटाउन थिएँ किनकि मैले प्रतीक्षा गरेको मुख्य भूमिका अझै प्रस्ताव भएका थिएनन्’, उनले भने ।

फेरि पाँच वर्षपछि ‘रेशम फिलिली’ नामक चलचित्रमार्फत अभिनयमा फर्किएका अभिनेता चौरसियालाई एकदिन निर्माता विनोद पौडेलले फोन गरेर भेट्ने प्रस्ताव राखे ।

‘पूर्णबहादुरको सारङ्गी’ निर्माताले बोलाएपछि नभेट्ने कुरै भएन । उनले कार्यालयमा पुगेर चलचित्रको कथा सुने । मधेस र बोर्डर छेउको कथा भएकाले उनलाई आकर्षित गर्नु स्वाभाविक थियो, तर मुख्य अभिनेताको प्रस्ताव आएपछि उनी अक्क न बक्क भए । ‘मैले जे चीजका लागि यत्रो मेहनत गरेको थिएँ, त्यो मैले पाउँदै थिएँ । त्यो क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ । आफ्नो मेहनतको फल पाएँ झैँ लागेको छ’, अभिनेता चौरसियाले भने ।

चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । मधेसको पृष्ठभूमिमा आधारित यो चलचित्रमा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतले अभिनय गरेका छन् । चलचित्रमा मुकेस खनालको लेखन, सुशान्त गौतमको निर्देशन, शरद महतोको छायाङ्कन र मदन घिमिरेको सम्पादन रहेको छ । (रासस)

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ९ : ३६ बजे

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको