कर्फ्यु लाग्दा एम्बुलेन्समा खाना ओसारेर ख्वाउने तुलसी « Khabarhub

मनकारी मन

कर्फ्यु लाग्दा एम्बुलेन्समा खाना ओसारेर ख्वाउने तुलसी



काठमाडौं– आधा दशकदेखि विभिन्न अस्पतालहरूमा निःशुल्क खाना खुवाउँदै आएका तुलसी श्रेष्ठले जेन–जी आन्दोलनको समयमा एम्बुलेन्समा खाना ल्याएर खुवाउनु परेको बताएका छन् । खबरहबसँग उनले भने, ‘कर्फ्यु लागेपछि एम्बुलेन्समा खाना ल्याएर खुवाएँ । ‘निःशुल्क भोजन ढुवानी सेवा’ भनेर स्पष्ट लेखिएको गाडी प्रर्दशनकारीहरुले तोडफोड गरेपछि सिभिल अस्पतालसँग एम्बुलेन्स मागेँ ।’

‘कर्फ्यु लागेपछि अस्पतालको क्यान्टिन बन्द भयो । बाहिर होटल तथा रेष्टुरेन्ट पनि बन्द भएपछि डाक्टर, नर्स र कर्मचारीले समेत हामीले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामी तथा बिरामी कुरुवालाई खुवाउने खाना खानुभयो ।’ उनले थपे, ‘अस्पतालले खाना खुवाउनुपर्ने पाँच सय कर्मचारीको नामलिष्ट टिपाएको थियो ।’

कर्फ्युमा गाडी चलाउन नपाएपछि उनीहरूलाई सिभिल अस्पतालले एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो । बिरामी र बिरामी कुरुवा भोकै नपरून् भनेर एम्बुलेन्समा खाना ल्याएर खुवाए । बिहान र बेलुका उनले खाना खुवाइरहेका छन् ।

बिरामी कुरुवा त स्वाभाविक रूपले बढे । अर्को अस्पतालका कर्मचारीलेसमेत त्यही खाना खाएर डिउटी गर्नुपर्‍यो । कर्फ्यु भएपछि घर जान नसकेकाले पनि खानुपर्‍यो । सँगै बिरामी बढेसँगै डाक्टरहरु पनि घर नगई खटिनुपर्‍यो । डाक्टरहरू डबल डिउटीमा खट्नुपरेकाले पनि खानाको मात्रा बढ्यो । 

आन्दोलन पछाडि अस्पतालमा खाना खानेको संख्या दोब्बरले बढेको उनी सुनाउँछन् । भन्छन्, ‘पहिले सात सय जनालाई खाना खुवाउँदै आइरहेका थियौ । हाल १५ सय जनालाई खाना खुवाउनु परेको छ । झण्डै दोब्बरले खाना खुवाइरहेका छौँ । गोली चलेर धेरै भाइबहिनी घाइते भएपछि फोन आयो । आन्दोलनको पहिलो दिन नै बेलुका पाँच बजे खाना पुर्‍यायौँ ।’

‘अधिकांश घाइतेहरू काठमाडौं बाहिरका छन् । आफन्त र कुरुवा कोही पनि नहुँदा उहाँहरूले सहायता खोज्नुभयो । खाना लिएर आउँदै गर्दा आन्दोलनकारीहरूले गाडी तोडफोड गरे, उनी थप्छन् ‘हाम्रो स्टाफ एक जना भाइ ललित राउतलाई चोटपटकसम्म लाग्यो । उसले आन्दोलनकारी र प्रहरी दुवैको पिटाइ खायो । तर हामीले विचलित नभई खाना खुवाउने अभियानमा लाग्यौँ । घाइते भाइले हाल आराम गरिरहेको छ । अन्य साथीहरू सबै सेवामै जुटिरहनुभएको छ ।’ 

गाडीभित्र खाना देख्दादेख्दै तोडफोड गर्ने जेन–जी नभएको तुलसीको टिप्पणी छ । ‘निःशुल्क भोजन ढुवानी सेवा भनेर स्पष्ट लेखिएको गाडी तोडफोड गरे । 

बिरामी र घाइतेहरूको लागि अस्पतालमा खाना उपलब्ध गराइरहेका छौ भन्दा पनि कुरा सुनेनन् । तिनीहरू वास्तविक जेन–जी थिएनन् । जेन–जी आन्दोलन भनेर नाम दिइए पनि अन्य मानिसहरूले हामी माथि हमला गरिरहेका थिए’ श्रेष्ठले भने । 

त्यसैगरी प्रदर्शनकारीहरूले एम्बुलेन्ससमेत तोडफोड गरेको श्रेष्ठको गुनासो छ । ‘अहिले युवा पुस्ताले गाडीमा के लेखेको छ । यो गाडी र मानिसहरू के कामका लागि हिँडिरहेका छन् भन्ने बुझ्छ’ उनले भने, ‘जस्तै एउटा पर्यटकको गाडीलाई कति सौहार्दपूर्ण भीडबाट पास गरिएको छ । ती हुन जेन–जी । त्यो भीडमा घुसपैठ भएको पाएँ । चुनौती मोलेर भए पनि कर्फ्युमा नडराई खाना ल्याएर खुवायौँ ।’

आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भनेर सरकारले भने पनि उक्त कुरा सबै लागू नभएकोमा श्रेष्ठको गुनासो छ । उनी भन्छन्, ‘अस्पतालमा धेरै कुराहरू उपलब्ध छैन । जस्तै एमआरआई लगायतका धेरै चेकजाँच गर्न बाहिर जानुपर्ने अवस्था छ । बाहिर चेकजाँच गर्न पैसा लागिहाल्छ । अर्को, अस्पतालको फार्मेसीमा नपाइने औषधी बाहिर किन्नु परेको छ । बिरामीहरूले गुनासो गरिराख्नुभएको छ, उपचारमा सहुलियत पाइएन भनेर ।’

‘विभिन्न देशबाट नागरिक र संस्थाहरू जोडिनुभयो । खानाको मात्रा बढेको भए पनि दाताहरूले सहयोग गर्नुभयो । त्यस कारण आर्थिक समस्या हुन पाएन । अस्पतालमा बिरामीको लागि फलफूल र जुसको पनि व्यवस्था गरिरहेका छौ । आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवारलाई न्याय मिलोस् । जुन उद्देश्यको लागि आन्दोलन भएको थियो, त्यो खेर नजाओस् भन्ने हो’ उनले भने । 

गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटीका श्रेष्ठले विगत पाँच वर्षदेखि क्यान्सरको उपचार हुने सबै अस्पतालमा बिरामी र बिरामी कुरुवालाई  निःशुल्क खाना खुवाउँदै आइरहेका छन् । 

उनले नख्खु र इट्टा भट्टालगायत टिचिङ, कान्ति, वीर, ट्रमा, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल खाना खुवाइरहेका छन् । ‘सहानुभूति, नेपाल’ नामक संस्थामार्फत उनले सेवा गर्दै आएका छन् । जेन–जी आन्दोलनका क्रममा घाइते र कुरुवालाई खाना मात्रै नभएर घर फर्किनको लागि पनि आर्थिक सहायता गरेका छन् । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ०५ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल