काडमाडौँ– नुवाकोटको ककनीका ४२ वर्षीय ललितमान लामा ट्रमा सेन्टरमा भर्ना भएको साता बितिसकेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समर्थनमा मैदानमै उत्रिएका उनी अहिले बैसाखीको सहारामा छन् ।
तर उनलाई नयाँबोनश्वरस्थित आन्दोलनको मैदानमा उत्रिँदा होइन, घाइतेलाई रगत दिन हिँड्दा गोली लाग्यो । ट्रमा सेन्टरको बेड नम्बर ५४५ मा उपचार गरिरहेका उनी हेर्दा हट्टाकट्टा छन् तर दायाँ गोडामा लागेको गोलीले उनलाई गलाएको छ ।
उनी भदौ २३ गते जेन–जी आन्दोलनलाई समर्थन जनाउन नयाँबानेश्वर पुगेका थिए । त्यसदिन आफ्नै अगाडि गोलीले ढलेका युवा अस्पतालमा रगत अभावले छट्पटिएको खबरले उनले आफूलाई सम्हाल्न सकेनन् । आन्दोलनको दोस्रो दिन भदौ २४ गते उनी तारकेश्वरबाट ट्रमा सेन्टरतिर दौडिए ।
तर, बालाजु चौकी क्षेत्रको बाइधारानिर तनावपूर्ण अवस्था थियो । उनले सामान्य ठाने तर ढुङ्गामुढा भइरहेको थियो । त्यो भिड छिचोलेर अस्पताल पुग्ने ठानेका उनलाई त्यहीँ गोली लाग्यो ।
अस्पतालमा घाइतेहरूको अवस्था नाजुक देखेपछि घरमा बस्न मनले नमानेको उनी सुनाउँछन् । ‘ट्रमा सेन्टरमा घाइतेका लागि रगत अभाव भएको समाचार आयो । विभिन्न संस्थाले पनि रक्तदानका लागि आह्वान गरेको सुनेँ । कम्तीमा रक्तदान गरेर सहयोग गर्नुपर्ने ठानेर अस्पतालतिर हानिएँ’, उनले सुनाए ।
आफ्नै आँखासामु गोली लागेकाहरूलाई रगत अभाव भएको सुन्दा मनले नमानेको उनले बताए । ‘मेरै अगाडि गोली लागेका घाइतेलाई रगतको अभाव भएपछि सेवाभावले हिँडेको थिएँ’, लामा भन्छन्, ‘तर आन्दोलन होइन, रक्तदान गर्न हिँड्दा गोली लाग्यो । अहिले ट्रमा सेन्टर निःशुल्क उपचार भइरहेको छ । मैले पैसा तिर्नुपरेको छैन । उपचारमा गुनासो छैन ।’

लामो समय सवारीसाधन चलाएका एक छोरा र एक छोरीका बाबु उनी अहिले होटल चलाउँछन् । उनका दुवै सन्तान जेन–जी हुन् । घरको सम्पूर्ण जिम्मेवारी काँधमा बोकेर हिँड्ने अभिभावक आन्दोलनमा हिँडेको भनेर श्रीमतीले प्रश्न गरिरहेकी छिन् । तर उनी चुप लागेर बसेका छन् ।
‘म जेन–जी थिइनँ । नैतिक रुपमा यस आन्दोलनलाई समर्थन थियो । पहिलो दिन भदौ २३ गते बानेश्वरको आन्दोलनमा सहभागी भएँ’, उनले भने, ‘युवाहरूले के गर्न लागे ? यिनीहरूको नारा के हो ? सरकारसँग के माग छ ? के–कसरी आन्दोलन गर्छन् भनेर बुझ्न गएको थिएँ ।’
दलबिनाको जेन–जी आन्दोलन कस्तो होला भनेर हेर्न गएको उनी बताउँछन् । ‘बिनानेतृत्वको, दलको साथबिनाको आन्दोलनले कसरी सरकारलाई तर्साउन सक्ला भन्ने जिज्ञासा थियो’, उनले भने, ‘अर्को, जेन–जी पुस्तामा राजनीतिक चेतना छैन भनिन्थ्यो । म यिनै कुरा बुझ्न गएको थिएँ । सुरूमा सिर्जनात्मक शान्तिपूर्ण विरोध कार्यक्रममै एकाएक गोली चल्यो । विद्यार्थीमाथि सरकारले गोली चलाउला भन्ने अनुमान थिएन ।’
उनी आफू कुनै राजनीतिक घरानाको व्यक्ति नभएको बताउँछन् । ‘हामी राजनीतिक घरपरिवारका होइनौँ । काम गरेर खाने मान्छे किन जान्ने हुनु भनेर परिवारका सदस्य कराउँछन्’, उनले भने, ‘अहिले चुप लागेर सुनिरहेको छु । त्यो मप्रतिको माया हो भनेर बुझेको छु । यो आन्दोलनमा जेजति भाइबहिनीले ज्यान गुमाए, घाइते भए । उनीहरुले न्याय पाउन यो आन्दोलन सार्थक हुनुपर्छ ।’
जेन–जी आन्दोलनको सफलता र असफलताको जाँच फागुन २१ को चुनावले गर्ने ललितमानको बुझाइ छ । ‘जेन–जी ले अहिले पहिलो पाइला मात्रै टेके । सम्भवतः आउने चुनावले निर्णय गर्ला । यो आन्दोलन कति सफल भयो भन्ने आधार चुनाव नै हो’, उनले भने, ‘जनताले दलीय सिन्डिकेटलाई बाइपास गरे आन्दोलन सफल होला । तर यिनै नेता र यिनै दल हाबी भए आन्दोलन असफल हुनेछ ।’
उनले अब नयाँ पुस्ताले दललाई आँखा चिम्लेर भोट नहाल्ने बताए । ‘कम्तीमा युवाले दललाई भोट हाल्दैनन् भन्नेमा छु । पुराना मतदाता अझै भोट नबदल्ने मनस्थितिमा छन्’, उनले भने, ‘उनीहरुका कारण देशमा भ्रष्टाचार मौलायो । जेन–जीको विद्रोह त्यसैको विरोधमा हो । नेताका घर त जले तर चुनावले के तय गर्छ त्यो मुख्य विषय हो ।’
प्रतिक्रिया