काठमाडौं– काभ्रेपलाञ्चोक बनेपाका २६ वर्षीय रोशन पराजुली ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । २३ गते जेन–जी आन्दोलनमा सहभागी रोशनको दायाँ खुट्टाको घुँडाभन्दा माथि एक गोली लागेको छ । गोली अगाडिबाट पसेर पछाडिबाट निस्किएको छ । अगाडि एक टाँका लगाइएको छ भने गोली बाहिर निस्किएको ठाउँमा १० टाँका लगाइएको
अस्पतालमा उपचार गराइरहँदा पनि उनी समाचार हेर्न छोडिरहेका छैनन् । जेन–जीले गोली खाने तर अरुले जस लिइरहेको देख्दा उनलाई नरमाइलो लागिरहेको छ । खबरहबसँग उनी प्रश्न गर्छन्, ‘गोली खाने हामी जस लिने अरुले लिने चेष्टा गरिरहेका छन् । हामी जो वास्तविक जेन–जी थियौँ । कसैले ढुङ्गा पनि हानेको थिएन । कसरी हामीमाथि गोली बर्साइयो ?
‘दङगाफसादमा उक्साउने, प्रहरीलाई ढुङगा हान्न लगाउने अरु थिए । विद्यार्थीहरूलाई टाउको र छातीमा छानी–छानी गोली हान्ने ? त्यो मान्छेको यथाशीघ्र छानविन हुनुपर्छ । गोली चलाउन आदेश दिने मान्छे सबैभन्दा पहिले अनुसन्धानको दायरामा ल्याइनुपर्यो’
उनी थप भन्छन्, ‘अर्को भोलिपल्ट जो जनधनको क्षतिमा लागे । जसले सार्वजनिक सम्पत्तिको सर्वनाश गरे उनीहरूलाई कारवाही गर्नुपर्छ । लुटपाट मच्चाउनेहरु पनि कसैलाई बाँकी नराखेर कारवाही गरिनुपर्छ । जेन–जी चोरहरू भनेर गलत सन्देश गयो ।’
रोशन घरका एक्लो सन्तान हुन् । भर्खरै बीबीएस सकेका उनी सुनौलो भविष्य निर्माणमा लाग्ने समय भएको छ । जताततै भ्रष्टाचारले आकुलव्याकुल संरचना र नातावादले आक्रान्त उनी आन्दोलनमा सहभागी नभई मनले मानेन ।
उनी र साथीहरुसहितको टिम करिब १२ बजे नयाँ बानेश्वर युवापुस्तामाझ होस्टेमा हैंसे गर्न पुगेका थिए । जेन–जी जहाँबाट जसरी सकिन्छ सहभागी हुने भनेर आह्वान गरिएको थियो । त्यसैअनुरूप उनीहरु गएका थिए ।
साढे दुई बजेसम्म केही भएको थिएन । सरकार विरुद्ध नारा लगाए, चिच्यायौ । सार्वजनिक सम्पत्तिमाथि कुनै तोडफोड भएको थिएन । संसद् भवनको अगाडि साथीहरू थिए । उनीहरु दोस्रो घेरामा बसेर नारा लगाइरहेका थिए ।
साथी पसल खोल्नुपर्ने भएकाले उनी त्यहाँबाट ३ बजे निस्किए । साथीहरू नयाँ बानेश्वर चोकबाट बिजुली बजारतिर लागे । उनीहरूलाई असन पुग्नुपर्ने थियो । तर रोशन शंखमूलमा बस्ने भएकाले नयाँ बानेश्वर चोकबाट दक्षिणतिर लागे ।
त्यतिबेला चोकको माहोल असाध्यै अशान्त हुँदै गइरहेको थियो । फेरि चोकको फुटपाथमा उभिएर उनले प्रदर्शन हेर्न थाले । एक्कासि गोली कताबाट आयो ? पड्किएको आवाज पनि आएन ।
एम्बुलेन्समा चढ्ने बित्तिकै घरमा फोन गरेर गोली लागेको सुनाएका थिए । आमाबुवा आत्तिनुहोला भनेर दाइलाई फोन गरेँ । असन फर्किएको साथीलाई पनि फोन गरेँ ।
खुट्टामा प्याट्ट गरेको आवाजले उनले छिटो–छिटो हातले छामे । ह्वालह्वाल्ती रगत बग्न थालेपछि आफू आत्तिएको उनी सुनाउँछन् ।
भन्छन्, ‘रगत देखेपछि अत्तालिन थालेँ । फुटपाथबाट किनारा लागेर गोली लाग्यो भनेँ । यस्तो जटिल अवस्थामा अब भन्नै पर्यो । गोली अगाडिबाट छेडेर पछाडीबाट निस्किएको छ । पछाडीबाट निस्कँदा ठूलो प्वाल पर्ने रहेछ ।’
‘म भन्दा अगाडि दुई जना गोलीले ढलिसकेका थिए । म उनीहरु ढलेको हेरिरहेको थिएँ । अचानक म आफैँलाई लाग्यो’ उनी भन्छन्, ‘उनीहरूसँगै एम्बुलेन्समा हालेर प्रदर्शनकारी साथीहरूले ट्रमा सेन्टर ल्याइपुर्याँए । एम्बुलेन्समा आफैँ चढ्न सकेको थिएँ । तरपनि मनमा चिसो पस्यो, गोली पो लाग्यो भन्ने कुराले । अस्पताल पुगेपछि अलि मन शान्त भयो ।’
पहिलो दिनको आन्दोलन सफल भएको र दोस्रो दिनको आन्दोलनमा घुसपैठ भएको उनको बुझाइ छ ।
‘विभिन्न राजनीतिक दलका अराजक तत्त्वहरूको प्रवेश भयो । हाम्रो गुनासो सरकारसँग मात्रै हो । हाम्रो विरोध सरकार विरुद्ध र त्यसमाथि पनि भ्रष्टाचार विरुद्ध हो । भएजति सार्वजनिक सम्पत्तिमा आगो लगाउने हामी होइन । हाम्रो नाममा अन्य व्यक्तिहरूले विध्वंश मच्चाए’ उनले भने ।
अन्त्यमा रोशनले जेजस्तो भएपनि चुनावमा युवाहरूले आफ्नो मत सही व्यक्तिलाई हाल्न अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘आन्दोलनको सार्थकता भनेको नयाँ नेतृत्व हो । यस आन्दोलनको नाममा नयाँ राजनीतिक दलहरूले फाइदा लिन खोजेका छन् । यी हाल भएका नयाँ दलहरुलाई बलियो बनाउन जेन–जीले आन्दोलन गरेको होइन । यदि हामीले भनेको जस्तो नभएमा फेरि आन्दोलन हुनेछ । एकपटक गोली खाइसकियो । अब हामी पछाडि फर्किदैनौँ ।’
डाक्टरले एघार टाँका लगाएको घाउ सन्चो हुन समय लाग्ने भएकाले शारीरिक र मानसिक रुपमा बलियो र शान्त बनेर बस्न भनेको उनले सुनाए ।
‘गोली वारपार भएको ठाउँमा रगत जम्ने रहेछ । छिरेको ठाउँमा एक टाँका लगाएको छ । निस्केको ठाउँमा १० टाँका लगाएको छ । त्यसकारण निको हुन अलिक समय लाग्ने डाक्टरले भन्नुभएको छ’ उनले भने ।
अस्पतालको खाना नमिठो भएर रोशनले खाना बाहिरबाट मगाएर खाएका छन् । सरकारले आन्दोलनमा घाइतेहरूको निःशुल्क उपचार गरिरहेको छ ।
प्रतिक्रिया