आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै « Khabarhub

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिन्छ।”

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो। दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन्।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ।

यसैगरी उपत्यकाबाहिर पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ०७ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले