बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन | Khabarhub Khabarhub

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो ।

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भासिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।

सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो ।

मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले जानकारी दिए । बडादशैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ ।

सूचना अधिकारी बर्देवाले भने, ‘लामो समयसम्म सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नुपर्‍यो । निरन्तर वर्षा र पहिरो झरिरहँदा सडक खुलाउन समस्या भइरहेको थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म जनशक्तिसहित विभिन्न उपकरण प्रयोग गरी पहिरो पन्छाएका हौँ । खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएका छौँ, अझै स्वीकृत भएको छैन ।’

विगत तीन वर्षदेखि यस क्षेत्रमा पहिरो जाँदा पहिरो पन्छाउन करोड बढी खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । अघिल्लो वर्ष मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले करिब ५० लाख खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थापन गरी सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उनले बताए ।

पहिरो व्यवस्थापनका लागि भूगर्भविद्को टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार रकम नहुँदा पहिरो नियन्त्रण गरी सडकको दीर्घकालीन समाधान गर्न समस्या भएको उपप्रमुख खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि सङ्घीय सरकारबाट तीन करोड विनियोजन भएको छ ।

पहिरोका कारण कालीगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ । बर्खाभरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारसम्म पुर्‍याउन समस्या हुने गरेको स्थानीय किसान कुलराज पौडेलले बताए । (रासस)

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : ०२ बजे

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी 

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले छाडे काठमाडौं

काठमाडौं– घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई

व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण

दसैँमा पर्यटक भिसा खुला रहने

काठमाडौं– अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला

पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालियो

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई