‘मेरो बाबुले मलाई छोडेर किन गयो ?’ भन्दै रोएको आमाको चित्कारले विकास ल्यायो कि विनाश विचार गर्याै ? तर यो छोटो समयमा हामीले धेरै परिवर्तन र सफलताहरू भने अवश्य देख्यौँ । तर, राजनीतिमा भएका कुनै पनि घटना संयोगमात्र हुन सक्दैन, यहाँ हरेक घटना क्रमश योजनाबद्ध हुन्छन् । नेपालको सडकदेखि सरकार, व्यवस्थापिकादेखि न्यायपालिका, स्थानीय क्षेत्रदेखि माथिल्लो तह, शिक्षादेखि स्वास्थ्यसम्म सबै स्थानमा रहेको आर्थिक, नीतिगत, नैतिक तथा समाजिक हरेक प्रकारको भ्रष्टाचार हटाउने मुख्य उद्देश्य लिएर भाद्र २३ गतेका दिन जेनजीहरूको नेतृत्वमा अभियान सुरु भयो ।
त्यहाँ हामी कसैले कल्पनासम्म पनि नगरेको घटना भए । नेपाल आमाले आफ्ना सपुतहरू गुमाउनु पर्याे । आमाबुबाको एक थप्पड नखाएका सन्ततिले बाल्यकालमा नै प्रहरीको गोली र लौरोको नीलडाम सहनुपर्याे । ती रगताम्य सडक र अबोध बालबालिकाको चित्कार, ३० वर्षदेखिको बेथिति र विसंगतिसँग लड्न नेपाली युवाको उम्लेको रगतको प्रतिफलस्वरूप हामी सबैले धेरै कुरा गुमाउनु पर्याे । तर, यसपछि हामीले के पायौँ वा के गुमायौँ त ?
राष्ट्रले सायद हालसम्मकै कठिन परिस्थितिबाट गुज्रिनुपर्याे । करिब २–३ दिन जनताले सैनिक शासन, सङ्कटकाल, निषेधाज्ञा, कर्फ्युजस्ता विभिन्न परिस्थितिको सामना गर्नुपर्याे । राष्ट्र र जनता दुवै अभिभावकविहीन भयौँ । यो समयमा हामीले देशप्रति नेपाली जनताको माया पनि देख्यौँ र युवापुस्ताको आक्रोश पनि ।
जेनजीको नियत, विचार, संकल्पमा कुनै पनि शङ्का रहेको छैन तर नेतृत्व, राजनीतिक ज्ञान, कूटनीतिक विचार, योजनाजस्ता विषयको अभावले विभिन्न बाहिरी क्षेत्र, राजनीतिक हस्तक्षेप र देशद्रोहीको हस्तक्षेपलाई हामी नकार्न सक्दैनौँ । म यो किन भन्दैछु भने नेपाल आमाका सन्तान कुनै मानेमा यति निर्दयी र निष्ठुरी हुन सक्दैनन् ।
हाम्रो उद्देश्य कहिल्यै पनि ː
– कैदी जेलबाट छुटाउने थिएन
– राजनीतिक दल नमान्ने थिएन
– नेपालको आत्मको रूपमा रहेको संविधान नमान्नु थिएन
– कसैलाई सत्ता सुम्पिने थिएन
– भौतिक संरचना जलाउनु, नष्ट गर्नु थिएन ।
जेन–जीको नेतृत्वमा यति ठूलो आमूल परिवर्तन भएपछि समय परिस्थितिको मागअनुसार देशमा भ्रष्टाचार पूर्णरूपमा निर्मूल गर्ने व्यवस्थाको आवश्यकता थियो । वडा कार्यालयदेखि शीतल निवाससम्मका सम्पूर्ण सरकारी तथा व्यक्तिगत संरचना जलिरहँदा देशमा रहेका, जनताले मानेको ‘मै हुँ’ भन्ने दिग्गज भनिने कुनै व्यक्तित्वले बचाउने प्रयाससम्म गरेको देखिएन ।
म कुनै राजनीतिज्ञ होइन, कानूनको विद्यार्थीको नाताले यो महसुस गर्दै आएकी थिएँ र छु । सायद त्यसैले होला कानून, सरकार, व्यवस्थापिका, कार्यपालिका सम्पूर्णको रक्षाको लागि बार, कानुनविद्, संविधानविद्, वरिष्ठ अधिवक्ता, न्यायाधीशसँग ठूलो आशा र भरोसा थियो ।
‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनू’ भनेको सुनेको थिएँ । तर, यो परिस्थितिले देख्ने मौका पनि दियो । देश राजनीतिक सङ्कटमा गएको थियो । हाम्रो भूमिका भनेको राजनीतिक सङ्कटको बेलामा कानूनी समाधान खोज्नु थियो । देश जनता तथा संविधानलाई सङ्कटको बेलामा पनि जोगाउन अग्रसर हुनुपर्ने थियो ।
धेरै संघर्षपछि नेपालमा वर्तमान परिस्थितिबाट उठ्न अन्तरिम सरकार प्रमुखमा सुशीला कार्कीलाई नियुक्त गर्ने निर्णय गरियो । राष्ट्रपतिद्वारा संविधानको धारा ६१ (३) (४) लाई प्रयोग गरी संवैधानिक वा असंवैधानिक प्रश्नलाई थाती राखेर राज्यलाई चाहिएको अभिभावकका रूपमा अन्तरिम सरकारको गठन गरियो । संसद् विघटन सँगसँगै मन्त्रिपरिषद्को पनि गठन भयो ।
देश यस्तो घाइते भएको अवस्थामा यो चोटमा मलम लगाउन त कोही आएन । अझ संविधान र कानूनको अक्षरमा मात्र अड्किएर वास्तवमा संविधानभन्दा बाहिरको वास्तविकता समाजको पतन, जनताको इच्छा, स्थिरताको आकस्मिक आवश्यकता जस्ता विषयलाई हेर्न असमर्थ भएको छ ।
तर, प्रमुख प्रश्न के यो विरोध पुरानै संरचना र संविधान जोगाउनको लागि हो ? कि आफ्नो कुनै राजनीतिक स्वार्थबाट प्रेरित हो ? जसले उनीहरूलाई फाइदा पुर्याउँछ वा कानूनी दीक्षाले हामीलाई यति संवैधानिक पाठमै बाँधिदिएको हो कि त्यसपारी हामी केही देख्नै सक्दैनौँ ? जेसुकै भए पनि यदि कानूनले हामीलाई नेपाल आमा रोएको, ती अबोध बालबालिकाको रगतले नसुकेको बाटो, हाम्रो विश्वास, भविष्य र व्यवस्था आँखै अगाडि ढलिरहेको नदेख्ने बनाउँछ भने, त्यसबेला हामी संविधानको रक्षा गर्दैछौँ भन्ने होइन, आफ्नै भ्रमको रक्षा र दम्भको रक्षा गर्दैछौँ भन्ने हो ।
हाम्रो संविधान यति कठोर हुन सक्दैन, जसले ती निर्दोष बालबालिकाको बली मागोस् । संविधानको रक्षा गर्ने, लोकतन्त्र जोगाउने, राष्ट्र यस्तो दिशाहीन भएको बेलामा सही मार्गदर्शन गर्ने दायित्व पनि त हाम्रो हो ।
संविधान जनताको सेवाका लागि बनेको हो, न कि जनताले संविधानको सेवा गर्नका लागि । त्यसैले यो समय ठीक र बेठीक छुट्याउने, कानूनी र राजनीतिक गल्ती सुधार्ने पनि हो । परिवर्तन आफैँमा कठिन परिस्थिति हो । सत्ता, शक्ति र पैसा निकै ठूलो नसा हो, जसले आज हाम्रो देशलाई निमिट्यान्न बनायो । अन्तरिम सरकारले शान्ति, सुव्यवस्था कायम गर्ने, निष्पक्ष र स्वच्छ निर्वाचन गर्ने, भ्रष्टाचारीको छानविन तथा नियन्त्रण गर्ने समेतका कार्यमा सबैको सहयोग भयो भने यी हाम्रो अभियान केही हदसम्म सफल हुन्छ ।
के पायौँ, के गुमायौँ ?
हामीले संसारकै लोकतान्त्रिक, स्वतन्त्र र शक्तिशाली मुलुकको रूपमा रहेको अमेरिकाको राष्ट्रले पनि नआँटेको परिवर्तन ल्यायौँ । नेपालको पहिलो महिला प्रधानमन्त्री, नेपालको पहिलो महिला महान्यायाधिवक्ता महिला सशक्तिकरणका दृष्टिले ठूलो प्राप्ति हो ।
हामीले यो पुस्ताको हिम्मत, जोस, आँट र वीरता देख्यौँ । देशमा हुन सक्ने परिवर्तनसँग परिचित भयौँ । अब केही हुन सक्छ कि भन्ने विश्वास र आशको किरण देख्न पाइयो । तर यो सँगै हामीले धेरै अमूल्य कुरा गुमायौँ । ती नाबालिगको जीवन, ती भवन र संरचनासँग जलेका विश्वासका आधार, त्यो आगोमा जलेका लाखौँको न्याय पाउने झिनो आशा, हाम्रो इतिहास, हाम्रो भविष्य, आर्थिक भार, हाम्रो विश्वासको प्रतीक ती सबै खरानी भए ।
यसरी हामीले पढेर नजानेको नबुझेको कुरा परेर जान्यौँ । तर, अझै पनि भविष्यमा आउने धेरै राजनीतिक चुनौती, चुनावी चुनौती, मतदाता सम्बन्धको संवैधानिक व्यवस्थालाई मनन गर्नुपर्ने छ ।
विगतमा जे–जस्तो परिस्थिति भए पनि अबको सबैभन्दा ठूलो कुरा भनेको हामी सबै मिलेर देश बचाउनु र देश बनाउनु नै हो । देश नै नरहे हाम्रो तथा हामी पछिको सन्ततिको अस्तित्व नै नरहने कुरालाई मनन गरी हामी सबै मिलेर देश बचाउने अभियानमा पूर्ण रूपमा लागौँ ।
प्रतिक्रिया