काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्ध सरकार ढलेपछि अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् ।
कलाकारले जेनजी आन्दोलन खुलेर समर्थन गरेका थिए । पछिल्लो समय उनीहरुले बढी चासो देखाएको राजनीतिक घटनामा क्रम नै यही हो ।
कलाकार सुमन कार्की भन्छन्, ‘यो आन्दोलनको घटनाक्रमबारे जानकारी लिन मैले धेरै समाचार पढेँ । यो नै मैले जीवनमा सबैभन्दा बढी समाचार पढेको समय बन्यो ।’
केही कलाकार त आन्दोलनमै सहभागी भएका थिए ।
अहिले कार्की नेतृत्वको अन्तरिम सरकारमा नयाँ अनुहारहरु मन्त्री बनेर आएका छन् ।
यस विषयलाई हाम्रा कलाकारले कसरी लिएका छन् त ? केही कलाकारसँग खबरहबले प्रतिक्रिया लिएको छ ।
हरिवंश आचार्य, कलाकार

जेन–जी आन्दोलनमा तोडफोड र आगजनी भएको भए हामी पनि सडकमा उत्रिएर त्यस्तो नगर्न हात जोडेर खुट्टा समातेर पनि आग्रह गथ्र्यौं होला । यो नसोचेको अप्रिय घटना भयो ।
पहिला मन्त्रिपरिषदमा भएका व्यक्ति यसले चाहिँ आर्थिक हिनामिन गर्दैन होला, यसले चाहिँ गर्छ भनेर अनुहार हेरेर अनुमान गर्न सकिन्थ्यो ।
अहिले महावीर पुनले घुस खान्छन् भनेर म कल्पना पनि गर्न सक्दिनँ । राम्रै मान्छे मन्त्री बनेका छन् । कुलमानजी लोडसेडिङ हटाएर आफूलाई सफल साबित गरेको व्यक्ति हुनुहुन्छ ।
प्रधानमन्त्री सुशीला कार्की निडर हुनुहुन्छ । उहाँले पक्कै पनि बेइमानी गर्नुहुन्न । अरु मान्छे म भन्न सक्दिनँ । म यो मन्त्रिपरिषदले इमानको बाटो छोड्दैन भन्नेमा आशावादी छु ।
किरण केसी ‘राता मकै’
म तीन मन्त्री कुलमान घिसिङ, महावीर पुन र जगदीश खरेलसँग मात्रै परिचित छु । उहाँहरुले राम्रै काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।
उहाँहरुले राम्रो गर्नुहुन्छ, कम्तीमा नराम्रो काम गर्नुहुन्न । राम्रो कामको मात्रा नै बढी देखिन्छ जस्तो लाग्छ ।
तर, कलाकारबाट मन्त्रीको कुरा उठेको हल्ला सुनिन्छ । कलाकारलाई मन्त्री बनाउने हो भने म महानायक राजेश हमाललाई सिफारिस गर्छु । कलाकारमा मन्त्री बन्न उहाँ जति योग्य व्यक्ति कोही छैन जस्तो लाग्छ ।
स्वस्तिमा खड्का, नायिका

जेन–जी आन्दोलनको मुल एजेण्डा नै भ्रष्टाचारको अन्त्य थियो । प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियर बनाउन भएन भन्ने नै थियो ।
अहिले मन्त्री बन्नुभएकाहरु सबै आफ्नो काममा सफल हुनुहुन्छ । हामीले विश्वास गरेको र स्वच्छ छविकै व्यक्ति हुनुहुन्छ ।
मेरो विचारमा मन्त्रिपरिषदमा एकदमै सही मान्छे पुग्नु भएको छ ।
उहाँहरु पनि हाम्रो नजरमा असफल हुनुहुन्छ भन्ने डर छ तर त्यो नहोस् । म चाहिँ उहाँहरुबाट एकदमै आशावादी छु ।
सँगै यो ६ महिनाका लागि बनेको अन्तरिम सरकार हो । योसँग धेरै आश गर्नुपर्ने अवस्था पनि छैन ।
तर मुख्य कुरा उहाँहरु आश्वासन बाँड्दै हुनुहुन्न । यो नै सकारात्मक पाटो हो । यो नियत स्पष्ट र सफा छ भन्ने संकेत हो ।
भरतमणि पौडेल, हाँस्यकलाकार

म सामान्य कलाकार हो । यो भयो, त्यो भएन भनेर मिडियामा टिप्पणी गर्नु उचित हुन्छ जस्तो लाग्दैन ।
मैले कलाकारको हिसाबमा मूल्याङ्कन गरेको छु । देशमा घटेका यस्ता घटना कलाकै माध्यमबाट प्रस्तुत गर्दा उचित हुन्छ । टिप्पणीभन्दा मेरो प्रस्तुति नै गहकिलो हुन सक्छ ।
मेरो चेतना र जनताको भावनमा कालाकारिताबाट नै उठान गर्न चाहान्छु । आगामी दिनका मेरा प्रस्तुती ती कुराहरु देखिनेछन् ।
सुमन कार्की, हाँस्य कलाकार

आन्दोलनको उद्देश्य राम्रो थियो– भ्रष्टारको अन्त्य गराउने । तर, क्षतिको भयो यो नराम्रो हो । म पनि जेन–जी आन्दोलनको समर्थन जनाउने कलाकार हो ।
अहिलेको सरकारको काम निकास निकाल्ने हो । यो सरकारको बारेमा धेरै टिप्पणी गर्न उचित हुन्छ जस्तो चाहिँ लाग्दैन ।
जेन–जीको आन्दोलनले बनेको सरकार हो । यसमा जेन–जी पुस्ताहरुको सहभागिता भएको भए अझ उचित हुन्थ्यो कि जस्तो लाग्छ । मन्त्रिपरिषदमा जेन–जीको अभाव भएको महसूस गराएको छ ।
सीता न्यौपाने, हाँस्य कलाकार

विगतमा सत्तामा पुगेका नेताहरुबाट हामीले अपेक्षा गरेको केही पूरा भएन । अहिले नयाँ अनुहार हुनुहुन्छ । उहाँहरुको दिने सेवा पक्कै राम्रो होला भन्नेमा चाहिँ आशावादी छु ।
मलाई लाग्छ– अहिले मन्त्रिपरिषद्मा भएका व्यक्तिहरु जिम्मेवार हुनुहुन्छ ।
उहाँहरुले के गर्नुहुन्छ भनेर हेर्न म उत्साहित छु । या भनेको उहाँहरुबाट आशा हो ।
उहाँहरुलाई मन्त्रिपरिषद्मा हेर्न पाउँदा खिल निकालेको जस्तो भएको छ । पहिला नेताहरुले प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाएका थिए । त्यो दृश्य हेर्न नपाउँदा पनि खुशी मिल्ने रहेछ । यो मन्त्रिपरिषदप्रति म एकदमै सकारात्मक छु ।
प्रतिक्रिया