कस्तो छ हरिवंशको ‘दक्षिणा लिस्ट’ ? | Khabarhub Khabarhub

कस्तो छ हरिवंशको ‘दक्षिणा लिस्ट’ ?


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार हरिवंश आचार्यको प्रेसर बढेको छ । एक उनी आफू साढे २ दशकदेखि उच्च रक्तचापको औषधि खाइरहेको बताउँछन् ।

उनी भन्छन्,‘फिल्म तँ त साह्रै सुध्रिस् नि बद्री प्रदर्शनका दौरानदेखि मैले प्रेसरको औषधि खान लागेको हो । फिल्मले नै मलाई प्रेसरको औषधि खान बाध्य पारेको हो ।

यो दशैँमा भने फिल्म ‘हरिबहादुरको जुत्ता’ले मानसिक प्रेसर थपेको उनले सेयर गरे ।

उनले सुनाए, ‘यो फिल्म बनाएर प्रदर्शन गर्दा चिन्ता लिन्नँ भने पनि लाग्ने रहेछ । अहिले राति निद्राले छोड्यो भने पनि दर्शकले फिल्म मन पराउने हुन् कि होइनन् भन्ने चिन्ता लाग्ने रहेछ ।’

हरिवंशको लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुर’ फूलपातीबाट प्रदर्शनमा आइसकेको छ । उनले आफूले निर्वाह गरेको आइकोनिक क्यारेक्टर ‘हरिबहादुर’ शीर्ष भूमिकामा राखेर ‘हरिबहादुरको जुत्ता’ फिल्म बनाएका हुन् ।

उनी भन्छन्, ‘फिल्मको व्यापारभन्दा पनि नाम जोडिएको छ । चर्चित पात्रबारे फिल्म बनाएर जोखिम लिएको छु । केही चिन्ता त हुने भइहाल्यो ।’

यो उनलाई प्रेसर भएको पाटो भयो ।

सँगै अहिले दशैँको माहोल छ । सोही कारण उनी ‘फेस्टिभ मुड’मा पनि छन् । यस मौकामा हरिवंशसँग खबरहबले गरेको दशैँ विशेष कुराकानी :

तपाईं ‘फेस्टिभ मुड’ पुगिसक्नुभयो कि बाँकी नै छ ?

दशैँ आउँदै गर्दा ‘मालश्री’ धून बज्छ । अत्यन्तै सकारात्मक भाइव आउँछ । यो धूनले नै चाडपर्वलाई निम्ता गर्छ जस्तो लाग्छ। यो धूनले मलाई मात्रै होइन, सबैलाई फेस्टिभ मुडमा ल्याउँछ जस्तो लाग्छ ।

मलाई यो धूनले चाहिँ भौतिकरुपमा हामी माझ नभएकी श्रीमती (मिरा आचार्य) को याद दिलाउँछ । आँखा नै रसाउँछ ।

तर, त्यसरी नै बस्न त भएन । मैले नयाँ जीवन सुरु गरिसकेँ । त्यसरी नै बसियो भने अहिले मेरो जीवन साथी बनेकी मान्छेलाई अन्याय हुन्छ ।

तर, यो धूनले किन मलाई उनको याद दिलाउँछ, किन हो अझै थाहा पाएको छैन । जे होस् यो धून शक्तिशाली छ । मलाई पूरानो याद र फेस्टिभ मुडमा प्रवेश गराउँछ ।

नयाँ लुगा किन्नुभयो ?

नयाँ लुगा नकिन्ने । अरु नै प्रसंगमा प्रधानमन्त्री सुशीला कार्कीले नयाँ लुगा नकिनेको दुई वर्ष भयो भन्नुभएको रहेछ । त्यो भिडियो श्रीमतीलाई पनि देखाएँ ।

पहिला पहिला मेरो दुई जोर लुगा मात्रै हुन्थ्यो । एक जोर धुने एक जोर लगाउने । दुई जोर नै धोयो भने बाहिर निस्कनका लागि कपडा हुँदैन थियो । घरमै बस्नुपर्ने हुन्थ्यो ।

कहिले चिसो लुगा लगाएर नै हिँडेको क्षण पनि छ ।

अहिले त विदेश भ्रमणमा लुगा उपहार पाइन्छ । अहिले लगाउन लागि जत्ति पनि लुगा छ । दशैँका लागि नै किन्नुपर्छ भन्ने छैन ।

नयाँ लुगा नलगाइ विगतमा दशैँ नमानेको क्षण छ ?
अहिले नयाँ लुगाको मोह नै छैन । बाल्यकालमा थियो ।

अहिले त म प्रायः नयाँ लुगा नै लगाउँदिन । धेरै वर्ष भयो । पुरानै लुगाले दशैँ मनाउँछु ।

पहिला लुगा नै हुँदैन थियो । त्यसबेला दशैँको बाहाना बनाएर किन्दा मात्रै हो नयाँ लुगा लगाएको ।

बाल्यकालको दशैँको स्मृति कस्तो छ ?

बुवा–आमा म सानै छँदा बित्नुभयो । म र दिदीहरु टुहुरा थियौं । अभाव हुने भइहाल्यो ।

अरुले बुवा–आमाको हातको टीका लगाउँदै हामीले पाउँदैन थियौं । आमा बुवा भएको भए दशैँ कस्तो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो । खल्लो लाग्थ्यो ।

तर, दिदीहरुले आमा बुवाको जिम्मेवारी बहन गर्नुहुन्थ्यो ।

आफूले चाहेको लुगा र दशैँभरी मासु खान पाइएन भने साह्रै नरमाइलो लाग्थ्यो ।

अर्को रमाइलो पक्ष नयाँ लुगा नै थियो । नयाँ लुगा टीकाको दिन मात्र लगाउने भन्ने हुन्थ्यो । किनेर बाकसमा राखिन्थ्यो । म बाकस खोलेर नयाँ लुगाको बास्ना सुँघ्थेँ । निकै मिठो लाग्थ्यो ।

शास्त्रअनुसार जुठो नलाग्ने व्यक्ति बितेर दशैँ नमानेको वर्ष छ ?

छ । दिदीहरुको जुठो माइती खलकले बार्नु पर्दैन भन्छन् । मेरा दुई दिदीहरु बित्नुभयो । दुई वर्ष नै मैले टीका लगाइनँ ।

साथीहरु बितेर टीका नलगाएको क्षण छैन । सुखद कुरा नजिकका साथीहरु बितेको घटना एकदमै कम छ ।

दशैँमा तास खेल्ने बानी छ ?

म तास खेल्दै खेल्दिनँ । आउँदैन पनि । बच्चा बेला एउटा खेल आउँथ्यो, त्यो पनि बिर्सिएँ ।

फेरि दशैँको बेला घरमा चाहिँ खेल्छन् । श्रीमती र बुहारीहरु खेल्छन् । ससुरालीमा जाँदा पनि त्यहाँ खेलिरहेका हुन्छन् ।
सालोहरुले ‘भिनाजु आउनुुस् खेलौं’ भन्छन् तर म तासमा इन्जोय गर्न सक्दिनँ ।

दशैँमा भुइँ छोड्नुपर्छ भन्छन् । पिङ खेल्नुहुन्छ ?

पिङ त बच्चामा मात्रै हो । बाल्यकालमा पिङ चुडिएर लडेको अनुभव छ । मलाई पिङमा मच्चिन भने आउँछ ।
अहिले धेरै वर्ष भयो खेलेको छैन ।

बाल्यकालमा र अहिलेको दशैँमा के फरक ?

मेरा हकमा बुवा–आमाको अनुपस्थिति दशैँ पनि हामी आफैँले मान्नुपर्थ्यो । जोहो गर्नुपर्थ्यो ।

म ११ वर्षको हुँदासम्म आमाले धान्नुभयो । उहाँले कसरी जोहो गर्नुहुथ्यो होला जस्तो लाग्छ, आज भोलि । आमाको पनि आम्दानी थिएन । बुवा बितिसक्नु भएको थियो ।

अहिले म आमालाई सम्झन्छु । कसरी धान्नुभयो होला जस्तो लाग्छ ।

अहिले चाहिँ दशैँ भनेको नातागोता भेट्ने अवसर हो जस्तो लाग्छ । पहिला जस्तो नाताका मान्छे भेट्ने चलन पनि छैन । कम्तीमा दशैँले भेटाउँछ ।

बुवा र मेरो ‘एज ग्याप’ धेरै छ । सोहीकारण म भन्दा बढी उमेरका मेरा भजितहरु छन् । ९० वर्षका मान्छेले पनि मलाई काका भन्छन् ।

त्यो हिसाबले टीका थाप्ने मेरो घरमा राम्रै संख्यामा मान्छेहरु आउनुहुन्छ । अनि अहिले अभाव छैन । उहाँहरुलाई खुवाउने त्यसैमा रमाइलो गर्ने गरिन्छ ।

आफ्न्तलाई खुसी बनाएर आफू खुसी हुन मन लाग्छ ।

बाल्यकालमा आफू खुसी हुन मन लाग्थ्यो, अहिले अरुलाई खुसी बनाउन मन लाग्छ ।

यसपालीको दक्षिणा लिस्ट कस्तो छ ?

न्यूनमत एक सय । अधिकतम पाँच सय । ज्वाइँ चेलाहरुलाई एक हजार दिनुपर्ला ।

नयाँ नोट साट्नुभयो ?

अहिले राष्ट्र बैंकले नयाँ होइन सुकिला नोट दिन्छ । मलाई नयाँ नोट खासै महत्वको विषय लाग्दैन ।

नयाँ र पुरानोको विनिमय महत्व उही हो क्यार । नयाँ नोट साटिएको छैन ।

आफूले दक्षिणा पाउने ठाउँ पनि छ ?

छ, एक दुई स्थान । ससुराली र श्रीमतीका दिदीहरु । त्यहाँ मैले पनि पाउँछु नि ।

दर्शकलाई के भन्नुहुन्छ ?

शुभकामना । अभाव सम्पन्नता जे भए पनि सकेसम्म रमाइलो गर्नुहोस् ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १ : ४० बजे

७ दशक अघिको त्यो दशैं (भिडियो)

महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

जलेश्वर– बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष

मुस्ताङ भन्सारबाट दुई अर्ब दुई करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा

हराउँदै मौलिक संस्कृति, भेटिन छाडे दसैँमा लिङ्गे पिङ

ढोरपाटन– दसैँ पर्वसँग लिङ्गेपिङको नजिकको साइनो छ । पहिले पहिले