मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला | Khabarhub Khabarhub

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ । यहाँका शक्तिपीठमा पूजाअर्चना तथा मेला आयोजना गरी दशैं मनाइँदैछ ।

खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा नवरात्रीका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, सामूहिक र स्थानीय युवा क्लबको सहयोगमा दशैंलाई सभ्य एवं भव्य बनाउने काम भइरहेको छ ।

घटस्थापनाकै दिनदेखि शक्तिपीठमा लोक नृत्य, सांस्कृतिक कार्यक्रमलगायत विविध कार्यक्रम गरी दशैंलाई भव्य बनाउने प्रयास भइरहेका छन् । विशेषगरी साँझ र बिहान मन्दिरहरूमा पुरुषभन्दा महिलाहरूको भीडभाड बढी लाग्ने गरेको छ । प्रत्येक बिहान स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने क्रम घटस्थापनादेखि विजयादशमी अर्थात् विसर्जनसम्म नै हुने गरेको छ ।

जनकपुरधामको राजदेवी मन्दिर, सिरहाको लहानस्थित दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, महोत्तरीको सोनामाई, संसारी माई, पञ्चधुरा माई, सर्लाहीको चमेलीमाई, रौतहटको गौरस्थित राजदेवी मन्दिर, पर्साको गहवा माई र बाराको गढीमाई मन्दिरमा नवरात्रिभर दर्शथार्नीको भीड लाग्ने गर्दछ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिरलाई यहाँको प्रमुख शक्तिपीठ मानिन्छ । यो मन्दिरमा प्रत्येक वर्ष दशैं र चैतेदशैंमा भव्य मेला लाग्छ । मन्दिरलाई स्थानीय युवा क्लबले बेहुलीझैँ सजाएर मेलाको आयोजना गर्छन् । यहाँ नेपाल मात्रै होइन भारतका विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्छन् ।

राजदेवीलाई राजा जनकको कुलदेवीको रूपमा मानिन्छ । यहाँ अष्टमीको दिन बर्सेनि १५ हजारभन्दा बढी खसी बोकाको बलि दिने गरिएको छ ।

लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिरमा यतिबेला भव्य मेला लागेको छ । नवरात्रिका बेला यस मन्दिरमा दैनिक ठूलो भीडभाड हुन्छ । यहाँ सिरहाका मात्र नभई सप्तरी, उदयपुर, धनुषा, काठमाडौँ, विराटनगरलगायत भारतका विभिन्न ठाउँबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

धार्मिक तथा पौराणिक महत्त्व बोकेको यस मन्दिरमा भाकल पूरा हुने विश्वाससहित प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा बली दिने र खोइछ भर्ने चलन छ ।

महोत्तरीको औरहीस्थित सोनामाइ मन्दिरमा पनि दशैं विशेष रूपमा मनाइने गरिन्छ । यहाँ दसैँमा भूतमेलासमेत लाग्ने गरेको छ । दसैँको षष्ठी तिथिदेखि दशमीसम्म भूतप्रेतमा विश्वास गर्नेहरू यहाँ आउने गरेका छन् ।

मन्दिरका पुजारी केदार झा उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजन आउने गरेको बताउँछन् । मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि मानिसहरू आउने गरेको उनले सुनाए ।

यस्तै, महोत्तरीको मटिहानीमा पनि दसैँमा दुर्गा मेला विशेष रूपले मनाइन्छ । नेपाल भारतको सीमामा पर्ने यो ठाउँमा भव्य मेला लाग्ने गरेको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्राचीन शक्तिपीठ संसारी माई मन्दिरमा हरेक पाँच वर्षमा विशेष मेला लाग्छ । संसारी माईले सपनामा पूजा गर्ने वर्षको सङ्केत दिने गरेको जनविश्वासअनुसार यहाँ नेपाली सेनाको सलामीसँगै पञ्चबलि दिने परम्परा छ । सेन वंश, नान्य वंशदेखि पृथ्वीनारायण शाहको पालासम्म यहाँ विशेष पूजा हुँदैआएको बताइन्छ ।

महोत्तरीको बर्दिबास–४ स्थित प्राचीन शक्तिपीठ पञ्चधूरा माई मन्दिरलाई साक्षात् भगवतीको निवास मानिन्छ । यहाँ भक्तजन सुख–दुःख वा सन्तानको कामना लिएर पुग्ने गर्छन् । यहाँ दसैँबाहेक अन्य समयमा पनि बलि दिने परम्परा छ । किंवदन्तीअनुसार तत्कालीन अवस्थामा जङ्गबहादुर राणाले १९३३ मा सिकारका क्रममा सेतो बाघदेखि बन्दुक हानेको गोली यहीँ पञ्चधूरामा विलय भएको भनिन्छ ।

सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित यस स्थानमा बिहानदेखि रातिसम्म भीड लाग्ने गरेको छ । नेपाली मात्रै नभई भारतीय पनि यहाँ पूजा गर्न आउँछन् ।

सप्तरीकै हनुमाननगर कङ्कालिनी नगरपालिकाको भारदहमा रहेको कङ्कालिनी मन्दिर पनि सप्तरीको प्रमुख शक्तिपीठमध्येको एक हो । यस मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वाससहित नेपालका विभिन्न स्थान र भारतबाट श्रद्धालुहरू आउने गरेका छन् । दसैँमा यहाँ ठूलो मेला लाग्ने गरेको छ ।

यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको छ । मन्दिरमा पाँचस्तरको छाना रहेको छ ।

सर्लाहीको सलेमपुरमा रहेको चमेली माई मन्दिर, रौतहट सदरमुकाम गौरमा रहेको राजदेवी मन्दिर, पर्साको गहवामाई मन्दिर र विश्वमै बढी पशु बलि दिइने भनेर चर्चामा रहेको बाराको गढीमाइ मन्दिर पनि यहाँका चर्चित शक्तिपीठ हुन् । गढिमाइमा हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : ४४ बजे

दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

काठमाडौं- लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो