अहिले हरेक सञ्चारमाध्यमहरूमा जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिनमार्फत बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी तीव्र रूपमा न्युज कभर बनिरहेका छन् ।
नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी विभिन्न भूभाग खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुँदै धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना बुलेटिनले देखाएको छ । यद्यपि अधिकांश भूभागमा भारी वर्षा भइरहेको छ ।
जलवायु र मौसम पूर्वानुमानमा प्रयोग गरिने मोडेलहरूले मौसम प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम (जीएसएफ)ले भारीदेखि अतिभारी वर्षा हुने सङ्केत गरेका हुन् ।
बङ्गालको खाडीबाट पानी बोकेको बादल नेपाल पसेर वर्षा गर्ने समय वा प्रक्रिया मनसुन हो । मनसुन हावापानीजन्य पृथ्वी प्रणालीको एक गतिशील प्रक्रिया हो । विगतको तथ्याङ्क, हालको वायुमण्डलीय स्थिति र यसको सैद्धान्तिक आधारको वृहत्तर विश्लेषणले भविष्यको हावापानीजन्य प्रक्रियालाई जनाउन सकिन्छ ।
पछिल्लो समयमा जलवायु परिवर्तनको कारण मौसम र जलवायुजन्य प्रक्रिया भविष्यवाणी जटिल बन्दै गएको छ । नियमित र औसत जलवायुजन्य प्रक्रियाको भविष्यवाणी कठिन र अविश्वासी भएको कारण पनि जलवायुजन्य जोखिम र विपद् निरन्तरमा वृद्धि हुँदै गएको छ ।
दशैँको अन्त्यतिर मनसुन थप सक्रिय हुँदा सम्भावित वर्षाका कारण भू–क्षय, बाढीपहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुने देखिन्छ । बाहिरिने बेला सक्रिय हुँदै मनसुनी वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा अत्यधिक क्षति पुर्याउने प्रायः निश्चित जस्तै छ ।
यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो अर्थात असार १६ गते नेपाल भित्रिएको र देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि सबै ठाउँमा पानी परेको थिएन । मधेश प्रदेशले लामो समय खडेरीको सामना गर्दा तत्कालीन सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा अब मधेशमा समेत अतिवृष्टि हुने सम्भावना उच्च देखिन्छ ।
हालको विश्लेषणअनुसार देशको नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने प्रक्षेपण रहेको छ ।
यसैवर्ष २०८२ मा प्रिमनसुनकै अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढी र हुम्ला जिल्लामा जेठ १ गते राति भएको हिमपहिरोबाट सिर्जित बाढीले अग्रिम विपद् जोखिमको झल्को दिएकै थियो । नेपालमा चार महिनाको मनसुन अवधिमा वर्षाले देशको कूल वार्षिक औसत वर्षाको ८० प्रतिशत भाग समेट्दै यहाँको औसत वार्षिक वर्षा १६०० मिलिमिटर हुने गरेकोमा कहिलेकाहीँ १८०० मिमिलिटरसम्म पनि हुने गरेको रेकड छ ।
मनसुनजन्य विपद्को अवस्था
अत्याधिक रूपमा हुने मनसुनी वर्षाले मानवीय सहजतालाई बिगार्ने दैनिक क्रियाकलापहरूमा असर पुर्याउने वा धनजनको क्षति गर्ने, विकासका पूर्वाधारहरू क्षतविक्षत बनाउने प्रक्रिया नै मनसुनजन्य विपद् हुन् । मनसुन प्रणाली नियमित भएपनि अरू यसका अवयवको कारण यसको जोखिम र त्यसबाट सिर्जित विपद दिनानुदिन बढ्दै गएको छ ।
नेपालको सन्दर्भमा मनसुनसँगै जोडिने जलवायु प्रक्रिया पनि जटिल छ । पृथ्वीको सम्पूर्ण जलवायुजन्य प्रक्रियामा बङ्गालको खाडीबाट सिर्जना हुने मनसुन तथा नियन्त्रण हुने जलवायु प्रक्रिया बङ्गालको खाडीद्वारा नियन्त्रित मौसमी प्रणालीभित्र रहन्छ, जुन मनसुनजन्य विपद्को प्रमुख कारक हो । मनसुनजन्य विपद्को अर्को महत्वपूर्ण कारण भनेको बिना योजना विकास भएको अव्यवस्थित बस्ती, पूर्वाधार विकास र मानवीय क्रियाकलापहरू हुन् ।
६ हजार बढी खोला, नदीनालाहरू रहेको देशमा हिमालयक्षेत्रबाट उत्पत्ति भएका महाभारत क्षेत्रबाट उत्पत्ति हुने र मनसुनी वर्षाको समयमा आउने भलयुक्त खहरे खोला गरी तीन प्रकारका नदी तथा खोलानाला छन् । मानिसको असीमित आवश्यकता पूर्ति गर्न सहज हुने गरी नदी किनारामा बसाइएका बस्ती, उच्चतम भिरालो क्षेत्रमा बसाइएका बस्ती र भौगोलिक रूपमा उच्च जोखिम क्षेत्रमा बसेको बस्ती नै मनसुनी वर्षाको समयमा उच्च जोखिममा पर्दछन् ।
नेपाल प्राकृतिक रूपमा विविध भूगोल र जलवायुसँग जोडिएको देश पनि हो, जहाँ हरेक वर्ष मनसुनी वर्षाले विशेष गरी मनसुनजन्य विपद्का रूपमा बाढी र पहिरोका घटनाले ठूलो मानवीय र भौतिक क्षति पुर्याउने गर्छ । विशेषगरी पहाडी तथा हिमाली जिल्लाहरूमा पहिरोको जोखिम उच्च हुने गर्छ भने तराई क्षेत्रमा नदीहरूबाट आउने बाढीले जनधनमा क्षति पुर्याउने गर्छ ।
जलवायु परिवर्तन, अत्यधिक वर्षा, अव्यवस्थित बसोबास, ढल र पानीको अनुचित निकास, बिना योजनाका डोजरे संस्कृति विकास निर्माण, मानव बस्ती विस्तार, वन विनास, प्राकृतिक स्रोतहरूको अव्यवस्थित उत्खनन, वन क्षेत्रको कटानीफडानी, नदी तटीय क्षेत्रको अतिक्रमण, घर निर्माणमा भूगर्भीय अध्ययनको बेवास्था, भुउपयोगको असन्तुलित व्यवस्थापन र चेतनाको अभावले बाढी तथा पहिरोको जोखिम दिनप्रतिदिन विकराल बन्दै गएको छ ।
सामान्यतया मनसुन र वर्षाको समयमा भू–क्षय र पहिरो भौगोलिक क्रियाकलापको रूपमा नियमित प्रक्रिया भएपनि यी मनसुनी विपद्का कारण हुने मानवीय क्षति र अन्य भौतिक क्षति सर्वाधिक हुने गरेको छ । पहाडी क्षेत्र पहिरो र भू–क्षयको चपेटामा परे जस्तै तराईको समथर भू–भाग प्रायः बाढीको चपेटामा पर्दाको क्षति अत्यधिक रहने गरेको छ ।
एकातिर मनसुनको सुरुवाती चरणमा देखिएको अनावृष्टिको कारण मानवीय क्षति थोरै भएपनि मनसुनमा भर पर्ने गरेको खेती प्रणाली र कृषि उत्पादनलाई प्रत्यक्ष प्रभाव पार्दा कृषिजन्य उत्पादकत्वमा धेरै असर हुने गरेको छ । अर्कातिर अहिले बालीनाली भित्र्याउने बेलामा हुने मनसुनी अतिवृष्टिले खाद्य असुरक्षाको जोखिम बढाउँदै लगेको छ ।
मनसुनजन्य विपद् निम्त्याउने बाढी, भारी वर्षा हुने क्षेत्र, हिउँ पग्लिने सम्भावना भएका क्षेत्रहरू, नदी तट र तालतलैयाजस्ता पानीका स्रोतहरू वरपर आउने सम्भावना रहन्छ । बाढी प्रकोपको जोखिममा पर्ने सामान्य क्षेत्रहरूमा, मैदानी भाग, तल्लो तटीय क्षेत्रहरू, कमजोर पानीको निकास भएका शहरी क्षेत्रहरू, नदी र पहाडी किनारलाई बाढीको प्रकोप हुन सक्ने क्षेत्रहरू पनि हुन्छन् ।
नेपालको धरातलीय स्वरूपअनुसार भूकम्प प्रभावित क्षेत्रमा अवस्थित उच्च हिमाली तथा पहाडी क्षेत्रमा बारम्बारको भूकम्पका धक्काहरूको कारण सो क्षेत्र खुकुलो हुँदै जाँदा कमजोर बन्दै गइरहेका छन् । बढ्दो वायुमण्डलीय तापक्रमको कारण हिउँ पग्लने क्रम पनि तीब्र छ, जसका कारण हिमालय क्षेत्रमा हिमपहिरोको संख्यामा वृद्धि हुनाको साथै पानीको बहावको मात्रामा पनि वृद्धि भएको छ ।
मनसुनी वर्षाको समयमा लेदोसहितको पानी हिमालीसँगै पहाडी भेगका नदीमा मिसिन गई बहाव बढ्न थालेको छ । अतिरिक्त मनसुनी वर्षा र त्यसमा मिसिएका लेदो पदार्थले तराई क्षेत्रमा बाढीको जोखिमलाई बढाउँदै लगेको पनि छ । जसले गर्दा यो क्षेत्र बाढी प्रकोपको पर्यायवाचीजस्तै बनेको छ ।
यो क्षेत्रमा विगत ४८ वर्षको अवधिमा करिब ४४ सय बाढीका घटना रेकर्ड भएका छन । दक्षिण एसियामा बाढीको जोखिममा बंगलादेशपछि नेपाल दोस्रो उच्च स्थान र विश्वमा बहुविपद् जोखिममा २०औँ स्थानमा पर्दछ । सन् २०१९ को एसियाली विकास बैंकको प्रतिवेदनअनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलर बढी हुने अनुमान गरिएको छ । यसको क्षति नेपालको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत भएको देखिन्छ ।
मनसुनजन्य विपद् जोखिम व्यवस्थापनका विकल्पहरू
मनसुनजन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तथ्यपरक सूचनाको आदानप्रदान सबैभन्दा महत्वपूर्ण कुरा हो । नेपालमा करिब ७६ प्रतिशत नेपाली जनतामा मोबाइलफोनको पहुँच रहेकोले सम्बन्धित सूचनाहरू एक क्लिकको भरमा देशभर पुर्याउन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई नेपाल सरकार अन्तर्गतका सम्बन्धित निकायहरूले अविलम्ब निर्देशन दिनुपर्ने हुन्छ । सञ्चारका समग्र माध्यमबाट सम्भावित वर्षाको पूर्वानुमान र बाढी पहिरो जान सक्ने जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी तथ्यपरक सूचना प्रसार गरी स्थानीय बासिन्दाहरूलाई सजग गराई क्षति घटाउन सकिन्छ ।
जल तथा मौसम विभागबाट नियमित र विशेष रूपमा जारी भएका पूर्वानुमान तथा पूर्व सूचनाहरू द्रुतप्रवाह गरी पूर्व तयारी जुट्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आम सर्वसाधारणले ध्यान दिनुपर्ने हुन्छ ।
मनसुनजन्य विपद् परिहालेमा आपतकालीन नम्बरहरू नेपाल प्रहरी (१००), एम्बुलेन्स (१०२), ट्राफिक कन्ट्रोल (१०३), सशस्त्र प्रहरी (१११४), स्वास्थ्य (१११५), विपद उद्धार राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (११४९) र मौसम तथा बाढी जल तथा मौसम विज्ञान विभाग (११५५) मा प्रभावित व्यक्ति, समुदाय तथा संयन्त्रहरूले सम्पर्क स्थापित गर्नुपर्ने देखिन्छ ।
मौसम प्रक्षेपण अनुसारको जोखिमपूर्ण अवधिमा आम सर्वसाधारणले सकभर कुनै प्रकारको यात्रा नगर्ने, गर्न परे उच्च सुरक्षा सतर्कताका साथ रहनुपर्ने हुन्छ । यातायातसँग सम्वद्ध सबै सरोकारवालाहरूले जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै यातायातका साधनहरूलाई रात्रिकालीन अवस्थामा पूर्ण रूपमा बन्द गर्नु आवश्यक देखिन्छ ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र तत्काल सक्रिय भई मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुरूप आपतकालीन प्रतिकार्यमा अग्रसर बन्नुपर्ने हुन्छ । नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकायहरूसँगै विपद् व्यवस्थापनका निमित्त तीनैवटै तहमा रहेका विपद् व्यवस्थापन समिति यथाशीघ्र समन्वयकारी भूमिकामा रहनुपर्ने हुन्छ ।
नेपाल रेडक्रस सोसाइटी, विपद पूर्वतयारी सञ्जाल (डीपीनेट), नेपाल विपद् उत्थानशील सञ्जाल (एनडीआर नेट) लगायतका विपद् जोखिम व्यवस्थापनका अग्रणी संस्थाहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरू, मानवीय सहायता तथा विकास साझेदारहरूसँग सहकार्य तथा साझेदारी गरी आपतकालीन प्रतिकार्य प्राथमिक उपचार, द्रुत स्वयंसेवक परिचालन, खोज तथा उद्धारसँगै आपतकालीन राहत वितरणका लागि तम्तयार अवस्थामा बस्नुपर्ने देखिन्छ ।
राजनीतिक दल तथा कार्यकर्ताहरू पनि स्वयंसेवकका रूपमा विपद् प्रभावित क्षेत्रमा सरोकारवाला संयन्त्रको समन्वयमा परिचालन हुनलाई तयारी हालतमा रहनुपर्ने हुन्छ । आपतकालीन प्रतिकार्यका लागि अत्यावश्यक आधुनिक उपकरण, सूचना प्रणाली, राहत सामग्री र उद्धार तालिमको यथाशीघ्र व्यवस्था गरिनु पर्छ ।
जोखिमपूर्ण क्षेत्रको नक्साङ्कन गर्ने र सो नक्सालाई सर्वसाधारणसम्म सहज तरिकाले उपलब्ध गराउने आपतकालीन व्यवस्था गरी सुरक्षित स्थानान्तरणका लागि प्राथमिकीकरण गर्ने गरी व्यवस्थापन गराउनु पर्ने हुन्छ । नदीकिनारा तथा अन्य जोखिमपूर्ण स्थानका बासिन्दा धेरै प्रभावित हुने गरेको अवस्थामा उच्च वहाव तथा खतरा तह पार गरेको अवस्थामा तल्लो तटिय क्षेत्रमा समयमै पूर्वसूचना पु¥याएर धेरै जनधनको क्षति रोक्न सकिन्छ । मौसम पूर्वानुमानलाई प्रभावकारी तथा विश्वसनीय बनाई अत्याधिक मनसुनी वर्षा तथा त्यसबाट सम्भावित पहिरो तथा बाढीबाट हुने क्षति कम गर्न सकिन्छ । सामुदायिक तथा सबै क्षेत्रमा विपद सम्बन्धी पूर्वतयारीका जानकारी र बच्ने तरिकालाई यथासम्भव सचेतनापूर्ण जानकारी हुनु पर्ने देखिन्छ ।
विपद्को समयमा खोज, उद्धार र राहत वितरणमा सरकारका निकायहरू सक्रिय देखिए पनि जोखिम न्यूनीकरण र पूर्वतयारीका पक्षमा भने यर्थाथपरक योजना र दीर्घकालीन दृष्टिकोणको खडेरी अझै देखिन्छ । वर्षेनी मनसुनजन्य विपदद्वारा मानवीय, भौतिक तथा धनजनको क्षति हुनु भनेको विपद जोखिम व्यवस्थापनमा सम्वद्ध सबै सवेदंनशील नबनेको प्रमाणित हुन्छ । बाढी पहिरो जस्ता मनसुनी विपद्बाट जोगिँदै जोखिम न्यूनीकरण गर्नका लागि आधुनिक, प्राविधिक र सर्वपक्षीय समन्वयमा आधारित दीर्घकालिन बहुआयामिक उपायहरू लागू गर्नुपर्छ ।
भूउपयोगका आधारमा जोखिम मूल्याङ्कन र नक्साङ्कन गरी जोखिमयुक्त क्षेत्रलाई पहिचान गर्दै योजनाबद्ध विकासको लागि जोखिमयुक्त क्षेत्र छुट्याएर मात्र विकास निर्माण अघि बढाइनु पर्छ । विकास निर्माण कार्य अघि भू–प्राविधिक अध्ययन अनिवार्य गर्दै उपयुक्त इन्जिनियरिङ मापदण्ड र वातावरणीय प्रभाव मूल्याङ्कनलाई वस्तुनिष्ठ बनाइनु पर्छ ।
वन अतिक्रमण, वन विनाश, वनपैदावारको अत्यधिक दोहन नियन्त्रण गरी सामुदायिक वन उपभोक्ता समितिहरूलाई थप सक्रिय बनाउँदै वनडढेलो नियन्त्रण, वृक्षरोपण र वनजंगल संरक्षणमा जोड दिनुपर्छ । बाढीपहिरो नियन्त्रणका लागि तटीय क्षेत्रहरूको संरक्षण, जैविक तटबन्ध निर्माण, नदीनाला सरसफाइ र डाइभर्सन प्रणालीलाई पर्यावरणमैत्री बनाउँदै नदीको उच्च बहावलाई नियन्त्रण गर्ने प्रकृतिमैत्री प्रविधि अवलम्बन गरिनु पर्छ ।
संघीय, प्रादेशिक र स्थानीय सरकारबीच सहकार्य, समन्वय र साझेदारीलाई बलियो पारेर विपदका बेलामा आपतकालीन प्रतिकार्य, विपद पूर्वतयारी, विपद पुनःलाभ र पुनर्स्थापनामा जोड दिँदै विपद् जोखिम व्यवस्थापनका समग्र चरणका लागि नीतिगत ढाँचा, कानूनी संरचना, संस्थागत संयन्त्र र पर्याप्त बजेटसँगै स्रोत साधनको सुनिश्चितता स्पष्ट रूपमा गर्नुपर्छ ।
नेपालको परिप्रेक्ष्यमा मनसुनमा मात्र होइन, विपद् क्यालेण्डरका रूपमा वर्षेनी विभिन्न खाले विपद्को अवस्था विकराल र भयावह बन्दै गएको छ । विपदकै भाषामा भन्नुपर्दा हामीसँग बाढीका रूपमा नीति, ऐन, संयन्त्र, समिति, योजना तथा कार्यक्रमहरू बग्रेल्ती देखिन्छन् । तर कार्यान्ययनको तहमा हेर्ने हो भने खडेरी नै छ । दीर्घकालीन दृष्टिकोणका साथ अल्पकालीन रूपमा आपतकालीन प्रतिकार्यतर्फ सर्वपक्षीय संयन्त्र परिचालन भए दशैँपछिको दशालाई टार्न सकिनेछ । अन्यथा मुलुक प्राकृतिक प्रकोपको अर्को विषम परिस्थितिमा पर्ने देखिन्छ । त्यसैले आउनुहोस् विपदलाई बेलैमा बुझौँ र बुझाऔँ । विपदबारे सजग र सचेत बनौँ र बनाऔँ ।
(लेखक वातावरण, विपद र विकासका विषयमा कलम चलाउँछन् ।)
प्रतिक्रिया