सुशासनमा अब्बल पालिका जसले गाउँमै हुर्काउँदैछ कृषि वैज्ञानिक (भिडियो) | Khabarhub Khabarhub

सुशासनमा अब्बल पालिका जसले गाउँमै हुर्काउँदैछ कृषि वैज्ञानिक (भिडियो)



भ्रष्टाचार नियन्त्रण तथा जवाफदेही सरकारको मागसहित जेनजी पुस्ता भदौ २३ गते सामाजिक सञ्जाल हुँदै सडकमा उत्रियो। शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै माइतीघर मण्डलाबाट सुरु भएको युवाको भीड बानेश्वरस्थित संसद् भवन अगाडि पुग्दा भने आक्रोशित बन्यो। पार्टी तथा सरकारमा बुढ्यौलो पुस्ताको सिन्डिकेटलाई यो आन्दोलनले तोड्ने काम गर्यो। नातावाद र कृपावादले मौलाएको अनियमितताले वर्षौदेखि जनतामा भरिएको कुण्ठा युवामार्फत् पोखियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर आन्दोलनको पहिलो दिननै १९ जना युवाले ज्यान गुमाए। उक्त दिन इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई पालिकाको काम लिएर मन्त्री भेटघाटका लागि काठमाडौंमै थिए। अकस्मात देशभरबाट उठेको युवाको त्यो भीड र आक्रोशले आफ्नो पालिका पनि प्रभावित हुनसक्नेमा उनी पिरोलिए। संकटको घडीमा आफू पालिकावासीमाझ उभिन उचित ठान्दै उनी भोलिपल्ट बिहान ७ बजेनै हवाई मार्गमार्फत इलाम पुगेँ।

‘आन्दोलनबाट भाग्नु हुँदैन, उनीहरुको प्रश्न भए हामीले जवाफ दिनुपर्छ भन्ने भो, जनताको नजिक रहेर आन्दोलन हेरौं, बुझौं भनेर दुई तीन हजार युवाको हुल वरिपरीनै रह्यौं,’ उनले सुनाए।

आन्दोलन क्रममा जस्तोसुकै जोखिम निम्तिन सक्ने भएकाले नगरवासीसँगको सहकार्यमा सुरक्षा कायम गर्नेतर्फ केन्द्रित भएको खबरहब कार्यालयमा उपस्थित भएका उनले सुनाए।

‘सुरुमा पालिकाका युवालाई हामी सीमावर्ती क्षेत्रमा छौँ, नेपाल-भारत सीमा नाका पशुपतिनगर हाम्रै पालिकामा पर्छ, त्यसैपनि हामी बढी चनाखो हुनुपर्नेछ भन्नेमा सजग बनायौँ, युवा शान्त नै हुनुहुन्थ्यो, हामीपछि यो ठाउँ र नेतृत्व हजुरकै काँधमा आउँछ, यसलाई जोकोहीले हानी नगरोस् भन्न पालिकामा नयाँ र शंकास्पद अनुहार देखिन सक्छन्। निगरानी गर्नुपर्छ, पहिचान गरेर त्यस्ता व्यक्तिलाई सम्झाउनुहोस् भनेर लाग्यौं,’ उनले थपे।

आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु डाँडा, प्राचीन फिक्कल बजारले सजिएको सूर्योदय नगपालिकामा राईले आठ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका छन्।

आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु डाँडा, प्राचीन फिक्कल बजारले सजिएको सूर्योदय नगपालिकामा राईले आठ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका छन्। जनताको आवाजलाई केन्द्रमा राख्दै स्पष्ट, पारदर्शी र जवाफदेही बन्ने उनको शैलीका कारण २०७४ मा निर्वाचित राईलाई २०७८ मा पालिकावासीले पुनः चुनेका हुन्।

निर्वाचित भएपछिको केही समय अन्योल भएपनि नगरवासी र जानकारसँगको निरन्तर छलफलपछि बल्ल पालिकालाई दिशा दिन सकेको उनी सुनाउँछन्। ‘२०७४ मा त केही वर्ष कसरी काम गर्ने, संघीयतामा के होला, कसरी समन्वय गर्ने भन्ने चिन्ता थियो, नगरवासीको आवाज सुनेपछि न एउटा मार्गचित्र कोर्न सकिएला भनेर बढी भन्दा बढी जनतासँग नजिक बनेँ’, उनले अनुभव सुनाए।

जनप्रतिनिधि भन्दा पनि उनीहरुको आवाज बुलन्द पार्न पालिकाको सबै वडामा इन्टरनेट विस्तार गर्दै ‘गुनासो चौतारी’ नामक कार्यक्रम सञ्चालन गरेको उनले बताए।

‘सार्वजनिक सुनुवाइ गर्ने नै भैयो, गुनासो चौतारीमार्फत उहाँहरुलाई लागेका कुरा स्पष्टसँग राख्न सक्ने स्थान सिर्जना गर्‍यौं। सबै वडामा हाइस्पीड फाइबर नेट विस्तार गर्‍यौं। १० एमबिपिएसको इन्टरनेट भएको ठाउँमा तीव्र क्षमताको फाइबर टु द होम (एफटिटिएच) जडान गरियो। त्यतिबेला कोशी प्रदेशको धनकुटा र इटहरीमा मात्रै रहेछ, तेस्रो हामी भयौं। जनताले चुनेर पठाएका जनप्रतिनिधिले आफूहरुको कुरा राखे राखेनन्, कसरी राखे भन्ने देश विदेशमा रहेका सबै नगरवासीले सहजै थाहा पाउन, धारणा राखुन भनेर कार्यपालिका बैठक लाइभ गर्ने गरेका छौं, उनीहले राखेका कुरा हेरेर त्यसमा छलफल गर्दै समस्या समाधान गर्ने गरेका छौं,’ उनले सुनाए। प्रदेशबाट सूर्योदय नगरपालिका पर्यटकीय नगर घोषणा गरिए पनि त्यसको लागि स्पष्ट खाका बन्न नसक्दा अन्योल भएको उनी बताउँछन्।

प्रदेशबाट सूर्योदय नगरपालिका पर्यटकीय नगर घोषणा गरिए पनि त्यसको लागि स्पष्ट खाका बन्न नसक्दा अन्योल भएको उनको भनाइ छ ।

‘कुनै पनि पालिकालाई पर्यटकीय नगरी भनेर घोषणा गर्ने अधिकार प्रदेशलाई छ तर त्यहाँ गर्नुपर्ने रणनीतिक भूमिकाबारे प्रदेशले स्पष्ट खाका बनाउन सकेको छैन। हामीले आवश्यकता र स्रोतसाधन अनुरुप काम गर्दै आएका छौँ,’ उनले बताए।

उनले थपे, ‘गतवर्ष हामीले पर्यटन बोर्ड र परराष्ट्र मन्त्रालयसँग मिलेर राजदूतलाई पालिकासम्म पुर्‍याउन सक्यौं, उहाँहरुसँग हामी निरन्तर सम्पर्कमा छौँ।’

पर्यटक भित्र्याउन स्वीस सरकारसँगको सहकार्यमा ‘नेपाल ट्रेल वेस्ड टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ नेपालमै पहिलो सस्पेन्सन बृज, टि टेस्टिङ सेन्टर निर्माणको चरणमा रहेको उनले थपे। ‘हामी विदेशीसँगै बढी भन्दा बढी आन्तरिक पर्यटक कसरी बढाउन सकिन्छ भनेर लागिरहेका छौं, दार्जिलिङ नजिक छ, पर्यटककै कारण चलायमान दार्जिलिङ आउने पर्यटकलाई नेपालसम्म तान्न साहसिक पर्यटन हब विकास गर्ने योजना छ,’ उनले भने।

केन्द्रबाट विनियोजित बजेट वैज्ञानिक बन्न सकेको गुनासो उनको छ। ‘संघीयतापश्चात पहिलो वर्ष त बजेट राम्रो आयो, समानीकरण अनुदान हामीले आवश्यकता अनुरुप खर्च गर्न सक्छौं, त्यसै भएको थियो। तर हरेक वर्ष समानीकरण काट्दै शर्तमा बजेट हाल्न थालियो। त्यो भनेको उनीहरुको स्वार्थमा काम गर्नुपर्छ भनेको हो। प्रदेश भने भोलि संघमा जानुपर्ने भएकाले त्यतै लविङ गर्नेमा लाग्छ।’

सरकारमा हुनेले प्रणाली र प्रकृया आफू अनुकूल बनाइदिँदा संविधानले गाउँगाउँमा सिंहदरबार भनेपनि देशमा विकेन्द्रीकरण मौलाउँदै गएको उनको अनुभव छ।

नगरवासीले पर्याप्त उत्पादन गरेपनि बजारीकरणमा केन्द्र सरकारकै भरपर्नुपर्दा ढिलासुस्ती भइरहेको उनको भनाइ छ।
‘हाम्रोमा चियापछि अलैँची, अदुवा, आलु, दूध, अकबरे खुर्सानी, स्कुस लगायत अन्य उत्पादन ठूलो मात्रामा हुन्छ। २०७४ मा प्रति दिन ३२ हजार लिटर दूध उत्पादन हुनेमा अहिले ८० हजार लिटर उत्पादन हुँदै आएको छ ।

प्रत्येक घरले अलैँची रोपेका छन्। कुकुरले खाने छुर्पी अमेरिका, क्यानडा लगायतका देशमा जान्छ। त्यसलाई युरोप पठाउन धेरै पहिला कार्यविधि बनाएका थियौं। तर केन्द्र सरकारले हाम्रो पालिकालाई (एफएमडी जोन) खोरेत मुक्त पालिका घोषणा नगरिदिँदा रोकिएको छ। चीनले राँगोको मासु पनि ल्याउँछु भनिसक्यो, त्यसमा पनि त्यही समस्या छ, नगरपालिकाले सानो उत्पादन निर्यात गर्न सहजिकरण गर्न सक्थ्यो, तर यहाँ त अर्बौको बजार चाहिएको छ। त्यसमा केन्द्र सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्झौताको कुरा छ ढिलासुस्ती गर्छ,’ उनले व्यथा पोखे।

जेनजी आन्दोलन भ्रष्टाचार र पुस्तान्तरणका लागि भए पनि उनीहरु एकतावद्ध भएर देशले चाहेको परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ छ। प्रयोगात्मक शिक्षामा जोड दिँदै पालिकाले ९ करोड लगानीमा आविष्कार केन्द्र स्थापना गरेको छ।

‘हामीले पनि विज्ञान पढ्यौं, रट्यौं। खोइ कहाँ काम लाग्यो त ? अबका युवाले विज्ञान र कृषिलाई एकसाथ लैजानुपर्छ भनेर दुई रोपनी क्षेत्रफलमा इनोभेसन सेन्टर र टनेल स्थापना गरेका छौँ। त्यहाँ विद्यार्थीहरुले माछा पालन, गाई पालन, कोल्ड स्टोर सबै एकै ठाउँमा छ, मास्टर्स पढेको मैले गर्ने खेती प्रविधिको माध्यमबाट छिटो छरितो र बढी लाभदायक हुन्छ भन्नेमा युवा निर्धक्क हुने अवस्था बन्नुपर्छ,’ उनले भने। उनका अनुसार खुद्रे बजेट कटौती गरेपछि काम देखिदै गयो र जनतामा छाएको निराशा चिर्न सकेको उनी दाबी गर्छन्।

‘हामीले पनि विज्ञान पढ्यौं, रट्यौं। खोइ कहाँ काम लाग्यो ? अबका युवाले विज्ञान र कृषिलाई एकसाथ लैजानुपर्छ भनेर दुई रोपनी क्षेत्रफलमा इनोभेसन सेन्टर स्थापना गरेका छौँ। यहाँ सिकेको सीप व्यवहारमा प्रयोग हुने कुरामा विद्यार्थी निर्धक्क छन् ।’

जेनजी आन्दोलनका कारण जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारीको मनोबल डगमगाएको उनले बताए। संघीय सरकारको स्थिरता छैन वर्षमै सरकार र कानुनी प्रावधान परिवर्तन हुने, उनीहरुले उठाएको मुद्दामध्ये प्रत्क्षय निर्वाचित प्रधानमन्त्री, मन्त्रिमण्डलमा विज्ञको वाहुल्य, निर्वाचन खर्चमुक्त भयो भने भ्रष्टाचार न्यूनीकरणमा ठूलो टेवा पुग्ने उनी बताउँछन्।

योजनावद्ध र पारदर्शी रुपमा संविधानको कार्यान्वयन गर्न सकियो भने देश विकासको आधार पक्कै बन्न सक्छ। ‘पार्टीभित्र पहिले जेनजी पुस्ता भएको समयमा नीति सिद्धान्त बन्थ्यो, पटक-पटक प्रशिक्षण हुने गथ्र्यो तर अहिले युवापुस्ता संलग्नता, नेतृत्व र जागरुकता न्यून छ। पहिलेको पुरानो पुस्ता त जान्छ नै, दोस्रो, तेस्रो पुस्ता जेन-वाइ, जेन-एक्सले नेतृत्व लिन्छ, पार्टीहरु पनि यसबारे छलफलमा जुटेका छन्, यसो गरेमा अहिलेको जनतामा छाएको निराशा केही हदसम्म चिरिन सक्छ,’ उनले भने।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन क्रममा देशभर ७५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको संख्या दुई हजार तीन सय १६ पुगेको छ। दुई हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन्। इलामका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये २ पालिका र १ गाउँपालिकाका केही वडामा तोडफोड भएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी भोलानाथ गुरागाईँले बताए।

‘इलाम र माई नगरपालिका र एउटा गाउँपालिकामा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोग, र इलाम सदरमुकामस्थित दुई वटा प्रहरी विट र एक दर्जन बढी सवारीसाधन जलाइएको छ,’ उनले भने।

आमनागरिकको आवश्यकतालाई ध्यानमा राख्दै क्षतिग्रस्त कार्यालयबाटै सेवाप्रवाह भइरहेको उनको भनाइ छ। सूर्योदय नगरपालिका कार्यसम्पादन र सुशासनको मूल्याङ्कनमा दुई पटकसम्म देशभरिमा दोश्रो उत्कृष्ट नगरपालिका र कोशी प्रदेशमा भने अग्रणी स्थान पाउन सफल पालिका हो।
इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईसँगको कुराकानीः

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : १३ बजे

घोषित मितिमै निर्वाचन हुनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक

भोजपुरमा वर्षाले धानबालीमा क्षति

भोजपुर– जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति

बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

काठमाडौं– यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका

माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’ : चुनावमा जाने विषयमा आमसहमति छ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा

फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

पेरिस– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा