सडक-सम्पर्कविच्छेद भएपछि बीपी राजमार्गमा कष्टकर यात्रा | Khabarhub Khabarhub

सडक-सम्पर्कविच्छेद भएपछि बीपी राजमार्गमा कष्टकर यात्रा


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बीपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । 

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । 

राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा घण्टौँ हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् । यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन् । 

चौकीडाँडा आइपुग्न नै निकै कठिन भएको पैदल यात्री बताउँछन् ।

‘हातगोडा टेकेर चौकीडाँडा आएर गाडी चढियो’, मंगलबार बनेपा आइपुगेका भिमखोरीका राजेन्द्र श्रेष्ठले भने। उनका अनुसार सडकको नामोनिशान नभएको स्थानमा भीर चढेर पार गर्नुपरेको छ । ‘महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको छ, गोरेटो बाटो बनाउन सके निकै राहत मिल्नेछ’, श्रेष्ठले भने । केही सुरक्षाकर्मीले सहयोग गरे पनि हिँड्दा ध्यान नपुर्‍याए खोलामा खस्नेसमेत डर भएको श्रेष्ठको भनाइ छ । 

उक्त राजमार्गमा लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीको जोडिएका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता बनेको हो । पैदलै हिँड्न पनि ठाउँठाउँमा रोशी खोला तर्नुपर्ने अर्को बाध्यता रहेको छ । स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन् । सुरक्षाकर्मीले बिरामीलाई स्ट्रेचरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन् । 

जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको हो । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलाको बहाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

कार्यालयले रोशी र नमोबद्धको समन्वयमा बगाएको राजमार्गको सडकखण्डमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । यसअघि गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो । 

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन÷चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गर्ने डिभिजनले योजना बनाएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए । उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले खोलाको बहावभन्दा थप उचाइमा सडकको डाइभर्सन पुनर्निर्माण गर्नुपर्ने बाध्यता रहेको छ । 

यस्तै शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि आजैदेखि पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बीपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो । 

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : १२ बजे

पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु

एजेन्सी– इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस)ले जारी

कपिलवस्तुमा २ लाख मूल्य बराबरको पटका बरामद

कपिलवस्तु– कृष्णनगर नगरपालिका-९ घुरनडेहवास्थित सडक छेउबाट करिब २ लाख ३१ हजार ७

लिची बगैँचा घुस डिल प्रकरणमा के देख्यो अख्तियारले ?

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा बाटुलेचौरको दीप विर्ता (लिची

रक्षात्मक स्थितिमा समीर, भन्छन्– ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग’

काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२