इक्वेडरका राष्ट्रपति नोबोआमाथि आक्रमण, नोबोआ सुरक्षित | Khabarhub Khabarhub

इक्वेडरका राष्ट्रपति नोबोआमाथि आक्रमण, नोबोआ सुरक्षित


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ आफ्नो मोटरकाडमाथि ढुङ्गा र सम्भावित गोली प्रहार भएको छ । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शनकारीहरूले मंगलबार उनको सवारीमाथि आक्रमण गरेका थिए ।

राष्ट्रपति नोबोआ मध्य इक्वेडरमा पानी प्रशोधन संयन्त्रको उद्घाटन कार्यक्रममा सहभागी भएका बेला करिब पाँच सय प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै ढुङ्गा प्रहार गरेका थिए ।

वातावरण मन्त्री इनेस मन्जानोका अनुसार राष्ट्रपतिको गाडीमा गोलीका निशानहरू भेटिएका छन् । उनले पाँच जनालाई पक्राउ गरिएको र तिनीहरूलाई आतङ्कवादको मुद्दामा कारबाही हुने बताए, जसको सजाय अधिकतम ३० वर्षसम्म हुन सक्छ ।

मन्त्री मन्जानोले भने, ‘यस प्रकारका हिंसात्मक प्रदर्शनहरू स्वीकार्य होइनन् । हामीलाई शान्तिपूर्ण विरोध चाहिएको हो ।’

सरकारद्वारा जारी गरिएको भिडियोमा प्रदर्शनकारीहरू सडकमा झण्डा बोकेर ढुङ्गा र इँटा संकलन गर्दै राष्ट्रपतिको गाडीमा प्रहार गरिरहेको देखिन्छ । भिडियोमा ‘तल झर १’ भन्ने आवाजसँगै मोटरकाड तीव्र गतिमा अघि बढेको सुन्न सकिन्छ ।

अधिकारीहरूले राष्ट्रपति सवार बख्तरबन्द शेभ्रोलेट उपनगरीयमा लागेको केही निशान गोलीका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

यो आक्रमण डिजेलको मूल्यवृद्धिविरुद्ध बढ्दै गएको आन्दोलनका बीच भएको हो । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै १६ जना सैनिकलाई अपहरण गरेका थिए । उनीहरूलाई पछि सकुशल रिहा गरिएको छ ।

इक्वेडरको सबैभन्दा ठूलो आदिवासी संगठनले हालैको र्‍यालीमा सुरक्षा निकायको गोलीबाट एक प्रदर्शनकारीको मृत्यु भएको दाबी गरेको छ । हालसम्म प्रदर्शनमा एक सयभन्दा बढी घाइते भएका छन् ।

राष्ट्रपति नोबोआले हिंसात्मक परिस्थितिलाई नियन्त्रणमा लिन विभिन्न प्रान्तमा आपत्काल घोषणा गरेका छन् । आदिवासी सङ्घ–कन्फेडेरेसन अफ इन्डिजिनियस नेसनालिटीज अफ इक्वेडर–ले भने राष्ट्रपतिको सवारी ‘प्रतिरोध क्षेत्रमा प्रवेश गरेर’ झडप उत्पन्न भएको र सरकार ‘युद्ध नीति’ लाई औचित्य दिने प्रयासमा रहेको आरोप लगाएको छ ।

संगठनले ‘न्याय र सम्मानका साथ संट समाधान गर्न’ आग्रह गरेको छ ।

नोबोआको कार्यालयले सामाजिक सञ्जालमा आक्रमणपछि ‘कायरतापूर्ण कार्यहरूले राष्ट्रपतिलाई रोक्न नसक्ने’ बताउँदै वक्तव्य जारी गरेको छ । उनले पनामा, कोस्टा रिका, पेरु र बोलिभियालगायत छिमेकी मुलुकहरूबाट प्राप्त समर्थन र एकताको सन्देशको कदर गरेका छन्।

हालै पुनः निर्वाचित राष्ट्रपति नोबोआले सरकारी खर्चमा करिब एक अर्ब डलर बचत गर्न डिजेल अनुदान कटौती गरेका छन् । यसको ठूलो भाग राष्ट्रिय सुरक्षा कोषमा विनियोजन गर्न लागिएको छ ।

कुनै समय ल्याटिन अमेरिकाको सबैभन्दा सुरक्षित देश मानिने इक्वेडर पछिल्ला वर्षहरूमा हिंसाको भयानक वृद्धिले त्रसित बनेको छ । कोलम्बिया र पेरु दुवै प्रमुख कोकेन उत्पादक राष्ट्रबीचको भौगोलिक अवस्थाका कारण इक्वेडर हाल लागुऔषध तस्करीको प्रमुख मार्ग बनेको छ । अधिकारीहरूले अपराधी गिरोहहरूले विरोध प्रदर्शनलाई अस्थिरता फैलाउने साधनका रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

अनुमान अनुसार विश्वको करिब ७० प्रतिशत कोकेन आपूर्ति इक्वेडर हुँदै जान्छ । यसको ठूलो हिस्सा संयुक्त राज्य अमेरिकातर्फ पठाइन्छ । यस अवैध व्यापारमा मेक्सिकोको सिनालोआ कार्टेल, इटालीको न्ड्राङ्गेटा र अल्बानियाको माफियासहितका अन्तर्राष्ट्रिय आपराधिक सञ्जालहरू संलग्न छन् । तस्करी मार्गमा नियन्त्रणका लागि भइरहेको तीव्र प्रतिस्पर्धाले इक्वेडरलाई अहिले क्षेत्रको सबैभन्दा खतरनाक देशमध्ये एक बनाइदिएको छ ।

राष्ट्रपति नोबोआले सन् २००९ मा लगाइएको विदेशी सैन्य आधार प्रतिबन्ध हटाउने र अमेरिकी सेनालाई पुनः देशमा फिर्ता ल्याउने प्रस्तावसहित जनमत सङ्ग्रहको आह्वान गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : १० बजे

दशैँ भिडन्त : न्यून ग्रस कलेक्सन, तीन फिल्मको व्यापार जोड्दा पनि पुगेन १० करोड

काठमाडौं – दशै लक्षित गरी प्रदर्शनमा आएका तीन फिल्महरु ‘बलिदान’,

राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउनू 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा

बङ्गलादेशका पूर्व उच्चसुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

एजेन्सी – बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा

प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

बरहथवा– प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई