काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट अहिले विभिन्न युट्युब च्यानललाई अन्तर्वार्ता दिन व्यस्त छन् ।
समीरले अहिले हरेक दिनजसो अन्तर्वार्ता दिइरहेका छन् । फिल्म प्रदर्शनअघि भने उनले मिडियासँग दूरी बनाएका थिए ।
फिल्मको अकुपेन्सी कमजोर भएको कारण उनले ‘बलिदान’माथि आक्रमण भएको दाबी गरेका छन् । कसले र किन आक्रमण गर्यो भन्नेबारे उनी बोलेका छैनन् ।
तर, फिल्मले अपेक्षित व्यापार गर्न नसकेको सत्य हो । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार यो फिल्मको लगानी पाँच करोड छ । यस फिल्मको सुरुवाती ८ दिनको ग्रस कलेक्सन चार करोड हाराहारी मात्रै छ ।
समीर आफ्नो फिल्म व्यापारिक रुपमा कमजोर र समीक्षात्मक रुपमा सफल नभएको स्वीकार गर्न चाहिरहेका छैनन् । उनका अभिव्यक्तिहरुले त्यही बुझिन्छ ।
‘बलिदान’लाई अन्य दुई नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’सँगको प्रतिस्पर्धा नै कठिन भइरहेको अवस्था छ । यि तीनै फिल्म घरेलु बक्स अफिसमा कमाल गर्न नसक्ने सूचीमै पर्छन् ।
यही अवस्थामा समीरको अर्को अभिव्यक्ति चर्चामा आएको छ । उनले ‘बलिदान’को प्रतिस्पर्धा अब विदेशी फिल्म अर्थात् ‘कांन्तारा’सँग हुने बताएका छन् ।
१०० करोड भारुमा बनेको दाबी गरिएको ‘कांतारा’ले भारतमा सकारात्मक प्रतिक्रियाका साथ उच्च व्यापार गरिरहेको छ ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मले अहिलेसम्म विश्वभरबाट ४१४ करोड भारु ग्रस कलेक्सन गरेको छ ।
यसरी बक्स अफिसमा बलियो सावित भएको ‘कांतारा’सँग प्रतिस्पर्धा गर्न समीरले ‘कन्फिडेन्ट’ देखाएका हुन् ।
उनले भने, ‘प्रतिस्पर्धा भनेको नै विदेशी फिल्मसँग हो । जनरा पनि मिल्छ । कांन्तार उताको ठूलो बजेटको फिल्म हो । बलिदान नेपालको ठूलो बजेटको फिल्म हो ।’
‘बलिदान’को एक्सन दृश्यले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने ल्याकत राख्ने समीरको बुझाइ छ ।
उनले थपे, ‘हामी पनि एक्सन गर्न सक्छौं है भनेर हामीले देखाएका छौं । दर्शकले पनि त्यही भन्नुभएको छ । कतिले विदेशी फिल्मभन्दा राम्रो छ है भनेर पनि भन्नु भएको छ ।’
प्रतिक्रिया