काठमाडौं – नायक-नायिकालाई नामको अगाडि विभिन्न ट्याग दिने प्रचलन पुरानै हो । विशेषतः दक्षिण भारतीय फिल्ममा यस्तो अभ्यास बढी भएको पाइन्छ ।
नेपालमा पनि यो अभ्यास निकै हाबी भएको पाइन्छ । उदाहरणका लागि राजेश हमालको नामको अगाडि ‘महानायक’को फुर्को जोडिएको छ ।
निखिललाई ‘एक्सन स्टार’, आर्यन सिक्देललाई ‘चकलेटी हिरो’ लगायतका फुर्का जोडेर सम्बोधन गर्ने गरेको पाइन्छ ।
दर्शकले दिएका यस्ता ट्यागलाई मेकरले अंगिकार गर्नु सामान्य नै मान्न सकिन्छ ।
तर, पछिल्लो समय मेकरहरुले आफूखुसी नै आफ्नो फिल्मको हिरोलाई विभिन्न ट्याग भिराउने गर्छन् ।
यसमा नायकले पनि सन्तुष्ट नै देखिन्छन् । किनभने उनीहरुले ती ट्याग अस्वीकार गरेको सार्वजनिक अभिव्यक्ति दिएको भेटिदैन ।
यस्ता ट्याग दिन पनि मेकरले हतार गरेको भेटिन्छ । निर्देशक तथा निर्माता सन्तोष सेनले नायक समीर भट्टलाई दोस्रो फिल्म ‘बलिदान’मै ‘एक्सन किङ’को ट्याग दिन भ्याएका छन् ।

समीरको पहिलो फिल्म ‘१२ गाउँ’ हो । यो बक्स अफिसमा ब्लकबस्टर बनेको थियो ।
यस फिल्ममा समीर र उनका बुवा विराज भट्ट शीर्ष भूमिकामा छन् । समीरकै भनाइअनुसार यस फिल्ममा उनको स्क्रिन टाइम विराजकोभन्दा कम छ ।
‘बलिदान’ अघि एक फिल्ममा मात्रै अभिनय गरेका समीरलाई सन्तोषले दोस्रो मै ‘एक्सन किङ’को ट्याग दिए ।
‘एक्सन किङ’ ट्याग पाएको पहिलो फिल्ममै समीरले असफलताको स्वाद चाखेका छन् । सन्तोषले हाइ बजेट भनेर प्रचार गरेको यस फिल्मले बक्स अफिसबाट लगानी सुरक्षित गर्ने सम्भावना कम छ ।
यस फिल्मको सुरुवाती ८ दिनको ग्रस कलेक्सन चार करोड पनि पुगेको छैन । यसको लगानी नै पाँच करोडमाथि रहेको बताइएको छ ।
बक्स अफिसबाट मात्रै यसको लगानी सुरक्षित हुन कम्तीमा १२ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।
अर्थात्, अन्य केही नायकलाई जस्तै समीरलाई पनि ट्याग भारी बनेको छ । यस्तो गहकिलो ट्याग दिएको फिल्म नै बक्स अफिसमा असफल भएको छ ।
पहिला कुन हिरोलाई भएको थियो यस्तो ?
फिल्म ‘क्याप्टेन’को एक कार्यक्रममा नायक अनमोल केसीलाई ‘मेघा स्टार’को ट्याग दिएर सम्बोधन गरिएको थियो ।
उनलाई उक्त ट्याग दिइएको विषयमा कार्यक्रममा पत्रकार र निर्माण पक्षबीच सवाल जवाफ भएको थियो ।
अनमोल राम्रो फ्यान–फलोइङ नायक हुन् । फ्यानले पनि उक्त ट्याग रुचाए । तसर्थ, अनमोललाई अहिले ‘मेघास्टार’ कै ट्याग दिइन्छ ।
तर, यो ट्याग पाएपछिको अनमोलको पहिलो फिल्म ‘क्याप्टेन’ बक्स अफिसमा कमजोर सावित भयो ।
यो फिल्म फितलो भएका कारण अहिले पनि अनमोल आलोचित बनिरहेका छन् । जबकि यो फिल्म ०७५ सालमा प्रदर्शनमा आएको हो ।
उनले भने यो फिल्मबारे भन्दै आएका छन्, ‘प्रोस्ट प्रोडक्सनमा बिग्रिएको फिल्म हो । भीएफएक्सको काम कमजोर भएको हो ।’
अर्थात्, ट्याग पाएको पहिलो फिल्मबाटै अनमोल पनि निराश बन्नु परेको थियो ।
यसअघि उनको फिल्मले यति धेरै आलोचना खेपेका थिएनन् ।

अर्का नायक प्रदीप खड्काको हकमा पनि यही लागु भएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’मा प्रदीपलाई सुपरस्टारको ट्याग दिइएको थियो ।
यही फिल्मको कार्यक्रममा निर्देशक राजन भुसालले आफ्नो जिद्दीमा प्रदीपलाई उक्त ट्याग दिइएको बताएका थिए ।
उनले भनेका थिए, ‘प्रदीपले नमान्दा नमान्दै मैले नै जिद्दीले सुपरस्टारको ट्याग दिएको हुँ ।’
तर, प्रदीपको यही फिल्म करिअरकै सबैभन्दा कम व्यापार गर्ने बन्यो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको ग्रस कलेक्सन एक करोड दुई लाख मात्रै छ ।
अर्थात्, ट्याग पाएको पहिलो फिल्मले लगानीसमेग जोगाउन सकेन ।
तीन हिरोहरु अनमोल, प्रदीप र समीरले नामको अगाडि गहकिलो फुर्को पाएको पहिलो फिल्मले व्यापारिक असफलता नै भोगेका छन् ।
यो एउटा रोचकसँगै दुखद संयोग पनि हो ।
प्रतिक्रिया