झापा- झापाको दमकस्थित इलाका प्रहरी कार्यालयबाट गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा हतियार लुट्ने युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
प्रहरीको एसएलआर राइफल लुटेर भागेका दमक नगरपालिका–३ का १८ वर्षीय आदित्य लिम्बू लागुऔषध मुद्दामा पक्राउ परेका हुन् ।
उनैले जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट एसएलआर राइफल लुटेर लाने क्रममा खिचिएको फोटो भाइरल भएको थियो।
इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ए थ्री हट नम्बर ३५३ का साजन थापाको छाप्रोबाट थापासहित इलामको चुलाचुली-३ का तिलकबहादुर तामाङका छोरा ३२ वर्षीय दिपेश तामाङ, त्यही स्थानका प्रेमबहादुर राईका छोरा ३२ वर्षीय सनम राई पक्राउ परेका छन् ।
उता झापाको दमक-३ का रविकुमार आङ्देम्बेका छोरा १८ वर्षीय आदित्य लिम्बू, त्यही स्थानका हरिभक्त विश्वकर्माको छोरा १९ वर्षीय पविन विश्वकर्मा, कृष्णबहादुर दर्जीका छोरा २५ वर्षीय सूचन दर्जी पनि पक्राउ परेका छन् ।
त्यसैगरी बेलडाँगी भुटानी शरणार्थी शिविरका बिर्खबहादुर माझीका छोरा २५ वर्षीय विजय माझी र मोरङको मिक्लाजुङ-८ का दिलबहादुर पोर्तेलका छोरा २० वर्षीय निश्चल पोर्तेललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका पोर्तेल मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा थिए । उनी जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।
आदित्य इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको एसएलआर हतियार लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। हतियार लुटेर भागेका लिम्बूले हतियार प्रदर्शन गरिरहेको फोटो पनि प्रहरीले सार्वजनिक गरेको छ।
प्रतिक्रिया