काठमाडौँ- गत भदौ २३र २४ गते भएको जेन-जि आन्दोलनका क्रममा घुसपैठ गराएर निजी र राष्ट्रिय सम्पत्ति जनाएको आरोपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र जेन-जी आन्दोलनका अगुवा बताउने सुधन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
उक्त घुसपैठ गराएर आगजनी र तोडफोड गराएको तथा विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा जान उकासेकाे आरोप नेविसंघले लगाएको छ।
जाहेरीमा बालेन र सुधनले भिड उतारेर राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको पनि आरोप लगाएको छ ।
नेविसंघले बालेन्द्र र हामी नेपालका संस्थापक गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।
यसअघि नेकपा एमालेनिकट अनेरास्ववियुले पनि बालेन्द्र र सुधनविरुद्ध जाहेरी दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको दबाब बालेन र सुधन दुवैले बढाइरहेका छन् ।
उनीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ओली र लेखकलाई पक्राउको दबाब दिइरहँदा उल्टै दुवैविरुद्ध पनि जाहेरी पर्न थालेको हो ।
प्रतिक्रिया