काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक विध्वंशमा परिणत भयो । ‘नेपो बेवी किड’ माथि केन्द्रित गरिएको आन्दोलनले अचानक सत्ता परिवर्तन गर्ने स्थिति पैदा गर्यो । शान्तिपूर्ण विरोध प्रदर्शन गरेका जेन–जीसँग ब्यानरसम्म थिएन । तर आन्दोलनमा गोली चल्यो । आन्दोलनको पहिलो दिन २१ जनाले ज्यान गुमाए ।
त्यसैको आक्रोश स्वरुप आन्दोलनको दोस्रो दिन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खरानी बनाइयो । प्रधानमन्त्री, गृहमन्त्री र पार्टीका शीर्ष नेतादेखि राजनीतिक दलका कार्यकर्तासमेत ज्यान जोगाउन भाग्नुपर्ने स्थिति आयो । वास्तविक जेन–जीलाई पाखा लगाउँदै स्वार्थ समूहले आन्दोलन ‘हाइज्याक’ गरेको टिकाटिप्पणी भयो ।
भदौ २४ को विध्वंश २३ गते प्रहरीको निर्मम दमनको परिणाम हो भन्ने तर्क एक पक्षको छ । अर्को पक्षले आन्दोलनको नाममा अन्य समूहले स्वार्थको रोटी सेक्न खोज्दा परिस्थिति प्रतिकूल बनेको मत राख्दै आएको छ ।
जेन–जी आन्दोलनमा विद्यार्थीमाथि प्रहरीले निर्ममतापूर्वक किन गोली चलायो ? भीड नियन्त्रण गर्न अन्य बाटा बन्द भएको अवस्था थियो ? घुसपैठमा अरुले गोली चलाएर प्रहरी बदनाम भएको पो हो कि ? आन्दोलनमा त्यतिका विधि क्षति कतै सुरक्षा निकाय चुकेर भएको त हैन ? यिनै विषयमा रहेर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेसँग गरिएको कुराकानीः
अहिलेको अवस्थामा देशभरकै शान्ति सुरक्षाका चुनौती के–कस्ता छन् ?
शान्ति सुरक्षा भन्ने कुरा जहिले पनि चुनौतीपूर्ण हुन्छ । सुरक्षा कतिबेला र कहाँनिर बिग्रन्छ भन्ने यकिन हुन्न । जतिबेला पनि हुन सक्छ । सामान्य अवस्थामा दुर्घटना भएर मान्छेको ज्यान जान्छ । त्यहाँ सुरक्षा स्थिति बिग्रिएको बुझ्नुपर्छ । भदौमा जुन जेन–जी आन्दोलन भयो । दोस्रो दिनको आन्दोलनमा ठूलो सङ्ख्यामा कैदीहरु कारागारबाट भागे । खुङ्खार कैदी जो कारागारमै रहनुपर्ने थियो, तिनीहरु यतिबेला बाहिर छन् । हातहतियारहरु लुटिएका छन् । त्यसले गर्दा प्रशासनलाई थप चुनौती थपिएको छ । तर, जस्तोसुकै चुनौतीको समाधान हुन्छ ।
सुरक्षा प्रत्याभूतिका लागि प्रहरीले ‘विशेष सुरक्षा रणनीति’ बनाएको छ । काठमाडौं उपत्यका लगायत सातै प्रदेशमा विशेष डेस्क खडा गरी टोली परिचालन गरिएको छ । त्यही टोलीले एक महिनामा नौ हजार फरार कैदी पक्राउ गरिसकेको छ । नागरिक तहको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफलता मिलेको हो ।
बाँकी अझै ५६ सय कैदी पनि छिटै पक्राउ गरिन्छ । भदौ २४ गतेको दिन प्रहरीको जुन अनुपस्थिति भयो, अभावलाई मध्यनजर गर्दै नागरिकले फुटेका सीसा, भत्केका घर, जलेका विस्तारा सबै आफ्नो तर्फबाट व्यवस्था गरिदिनुभयो ।

आन्दोलनमा प्रहरीको मृत्यु भयो र धेरै घाइते भए । फिल्डमा खटिने प्रहरी सन्त्रासमा छन् । उनीहरुको मनोबल बढाउन के गरिएको छ ?
३ जना प्रहरीको ज्यान गयो । १९ सय माथिको सङ्ख्यामा घाइते भए । १० जना अझैपनि अस्पतालमा उपचाररत छन् । त्यसकारण नागरिक स्तरमा प्रहरीको मनोबल खस्किएको होला भन्ने लाग्न सक्छ । ७०औं प्रहरी दिवस सम्पन्न भएको सन्दर्भमा सात दशकको इतिहासमा प्रहरीले यस्ता थुप्रै राजनीतिक उतार चढाव भोगिरहेको छ ।
जेन–जी आन्दोलन भन्दा कयौँ गुणा विध्वंश देख्यौं र भोग्यौँ । ०१७ सालको आन्दोलनदेखि ०४६ सालको आन्दोलन र दश वर्षे सशस्त्र द्वन्द्वसम्म अग्रपङ्तिमा रहेर कार्य गरेको छ । सबै आन्दोलनमा नेपाल प्रहरी आफ्नो कर्तव्य पालनामा चुकेको छैन ।
आन्दोलनमा मान्छेको ज्यान गएको छ । घाइते भएका छन् । भौतिक पूर्वाधार नष्ट भएको छ । यसले केहीदिन अन्यौलको स्थिति सिर्जना हुन स्वाभाविक हो । तर महिनादिनसम्म प्रहरी मनोबल खस्क्यो भनेर बसेको छैन । प्रहरी उच्च मनोबल लिएर काममा खटिएको छ । यतिबेला प्रहरीलाई झनै प्रेरणा मिलेको छ ।
हिजोका दिनमा नागरिकले जुन सम्मान दिएका थिए, यो आन्दोलनपश्चात् थप माया र सम्मान दिएको पाइएको छ । रातको समयमा टोल सुधार समितिले समेत गस्ती गरेर शान्ति सुरक्षामा हातेमालो गरिररहेका छन् । चाडपर्व लक्षित सुरक्षा नीति तयार भइसकेको छ । पटाका, जुवातास, मादक पदार्थ सेवनदेखि सम्पूर्ण कुराहरुमा कडाइ गरिनेछ ।
हतियारदेखि प्रहरीको बर्दीसमेत लुटिएको थियो, त्यसको अभावमा ड्यूटीमा खटिन कति कठिन भयो ?
बर्दी केही फिर्ता आएका छन् । तर अरुले लगाइसकेको पुनः लगाउने कुरा भएन । केही दिन बिना बर्दी पनि प्रहरीले काम गर्नुपर्यो । तर बर्दी नभएर भन्दा पनि सुरक्षाको दृष्टिकोणले नलगाएको हो । बर्दी भण्डारमा स्टक थियो । लुटिएकाहरुलाई तत्कालै वितरण गरियो । हाल सबै कर्मचारीसँग बर्दी उपलब्ध छ ।
आगलागी तथा तोडफोड भएका प्रहरी कार्यालय कसरी सञ्चालन गर्ने सोच छ ?
अधिकांश प्रहरी कार्यालय पुननिर्माण भइसकेको छ । सर्वसाधारणको सहयोगले नै आगलागी भएका ४१० प्रहरी कार्यालय सञ्चालनमा आइसकेका छन् । सानो इकाई कार्यालय जहाँ थोरै प्रहरी हुन्छन् , तिनीहरु निर्माणको चरणमा छन् ।
हराएका १२ सय हातहतियारमा साढे पाँचसय नियन्त्रणमा आइसकेको छ । त्यसमा केही हातहतियार आगजनीमा पनि परेको छ । त्यसकारण यकिन सङ्ख्या तोकेर भन्न सकिने अवस्था छैन ।
गाउँ–टोलमा फरार कैदी पुगेका छन्, चाडपर्वमा मानिस झनै डराएका छन्, प्रहरीले कस्तो सुरक्षा व्यवस्था अपनाएको छ ?
आन्दोलनका क्रममा जब कैदीहरु भागे । हामीलाई सबैभन्दा बढी डर उनीहरुले प्रतिवादीलाई प्रहार गर्छन् भन्ने थियो । बदलाबको भावले जाहेरीकर्तामाथि हमला गर्न सक्छन् भन्ने कुरालाई ख्याल गर्दै सबै जिल्लामा पत्राचार गर्यौं । जिल्लाले तल्लो तहसम्म सूचना सम्प्रेषण गर्यो ।
नागरिक तहमा पनि शंकास्पद व्यक्तिको निगरानी गर्न आह्वान गरिएको थियो । ह्वासएप ग्रुप बनाएर काम गरेका छौं । त्यो कारणले पनि कैदी गाउँमा पुग्न सकेनन् । एउटा घट्ना हुन नदिने रणनीतिले काम गर्दा पनि एक दुई घटना भने भए । अहिले नागरिक र प्रहरी दुवैले राती ड्युटी गरिरहेका छन् ।
एकातिर प्रहरीले विध्वंश मच्चाउनेलाई पक्राउ गर्ने भनेर आसश्वासन दिने अर्कातिर गृहमन्त्री ओमप्रकाश अर्यालले क्रान्तिबाट बनेको सरकार भएको हवाला दिँदै अपराधी जोगाउने ।
यो दोहोरो नीतिले जनतामा भ्रम छर्ने काम भएन ?
प्रहरी देशको निश्चित संविधान, ऐन र कानुन मानेर काम गर्छ । यस्ता किसिमका आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई पक्राउ गर्न प्रहरीले आफ्नो काम सुरु गरिसकेको छ । केहीलाई कानुनी दायरामा ल्याइसकेको छ ।
त्यो आन्दोलनको मर्म विपरीत भएका आपराधिक क्रियाकलापमा संलग्न जस्तै हतियार लुट्ने, आक्रमण गर्ने, आगो लगाउने र प्रहरीलाई मार्नेहरु पक्राउ परिसकेका छन् । त्यो प्रहरीको कर्तव्य हो ।
आन्दोलनमा मृत्यु र घाइते प्रहरीको क्षतिपूर्ति कसरी हुन्छ ?
घाइतेहरु प्रहरीको आफ्नै अस्पतालमा उपचार भइरहेको छ । १० जना अझै अस्पतालमै उपचाररत छन् । नेपाल सरकारले मृतकहरुको परिवारलाई अन्यलाई जति र जे जसरी क्षतिपूर्ति दिन्छ, प्रहरीलाई पनि त्यही हो । घाइते पाउने पनि त्यही हो । थप सेवासुविधाको लागि संगठनले पनि हेर्छ ।

भदौ २३ गते २१ जना विद्यार्थीमाथि गोली चल्यो । नेपाल प्रहरीमाथि दाग लाग्यो नि ?
उक्त दिनको आन्दोलनमा बल प्रयोगको विषयमा कुरा गर्दा आन्दोलनकारीबाट के–कस्ता गतिविधि भए र प्रहरीबाट पनि के–कस्ता गतिविधि भए । त्यहाँ अन्य समूहको घुसपैठ भयो कि ? यी यावत कुराहरुको छानविनको लागि सरकारले ‘उच्च स्तरीय न्यायीक छानविन समिति’ गठन गरेको छ । समितिले प्रतिवदेनमा सत्यतथ्य सम्प्रेषण गर्छ नै । त्यसकारण यो वा त्यो भन्नु उचित नहोला ।
अन्तिममा, आन्दोलन भन्दा अगाडि पनि प्रहरीमा जागिर छोड्नेको लहर थियो । जेन–जी आन्दोलन पश्चात् त्यो लहर झनै बढेको होला नि ?
आन्दोलन अगाडी पनि प्रहरीले जागिर छोडे भन्ने भाष्य बनाइएको छ, त्यो गलत हो । एक दुईजनाले छोड्छन्, त्यो म मान्छु । तर पेन्सन पाकिसकेपछि राजिनामा दिने हुन् । २० वर्षको उमेरमा जागिर खान पाइन्छ र अर्को २० वर्षमा पेन्सन पाक्छ । पेन्सन पाकिसकेपछि किन बस्ने ?
आफ्नो बाँकी समय अन्य काममा लगाउँछु अथवा बेटर कामका लागि छोडेका हुन्छन् । प्रहरी तलब निकै थोरै छ । तलब धेरै आउने काममा जानको लागि उसले जागिर छोडेको हुन्छ । उ थप अवसरमा हिँडेको हो । अब यो आन्दोलनको असरले जागिर छोड्ने हालसालै कोही देखिएको छैन । तिहारपछि के हुन्छ, हेरौँ ।
अडियो सुन्नुहोस्-
प्रतिक्रिया