काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंमा प्रहरी कार्यालय तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकीलाई पक्राउ गरिएको हो। उनलाई आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सिद्धिकीमाथि प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधनमा तोडफोड र आगजनी गरेको आरोप लागेको छ । उनीसहितका युवाहरूले सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गर्दै उनीहरूका बर्दी फुकाल्न बाध्य पारेका थिए।सिद्धिकीले प्रहरीका हातहतियार लुटपाट गरेको पनि खुलेको छ ।
पक्राउ परेका सिद्धिकीको कोठा खानतलासी गर्दा प्रहरीले ग्यास गनका दुईवटा सेल बरामद गरेको जनाएको छ। उनलाई आपराधिक उपद्रव गर्न नहुने ऐन र हातहतियार तथा खरखजानासम्बन्धी कसूर अन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराई यस घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् ।













प्रतिक्रिया