‘सिक्वेल’का नाममा ब्याज खाने लोभ ! | Khabarhub Khabarhub

‘सिक्वेल’का नाममा ब्याज खाने लोभ !


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ब्रान्डका रुपमा प्रस्तुत गरेर सिक्वेल ल्याउने अभ्यास बढ्दो छ । सिक्वेलको अभ्यास पुरानै हो ।

प्रायः हिट फिल्मको सिक्वेल आउने गर्छ । बक्स अफिसमा गुमनाम बनेका फिल्मका सिक्वेल पनि नबनेका होइनन् । उदाहरणका लागि फिल्म ‘नाइँ नभन्नु ल’लाई हेर्दा हुन्छ ।

‘नाइँ भन्नु ल’ १ र २ मात्रै दर्शकले मन पराए । बाँकी फ्लप हुँदा पनि यो फिल्मको सिक्वेल ६ सम्म पुगेको छ । सबैभन्दा बढी सिक्वेल बनेको नेपाली फिल्म नै यही हो ।

मेकरहरुलाई व्यवसायिक रुपमा सिक्वेल ल्याउँदा फाइदै पुगेछ । हिट फिल्म आफैँमा ब्रान्ड बनिसकेको हुन्छ । मन परेको फिल्मको निरन्तरता हेर्न दर्शकलाई पनि चासो हुने नै भयो । सिक्वेलले फिल्म प्रचारमा पनि सहज हुन्छ ।

आलोचनात्मक दृष्टिले हेर्ने हो भने सिक्वेल हिट फिल्मको आडमा अर्को कथा भन्न मेकर लालायित भएको उपज हो ।

त्यही भएर अहिले सिक्वेल बनाउने मेकरहरुलाई प्रश्न आउँछ- ब्याज खान सिक्वेल बनाउनु भएको हो ?

अघिल्लो तुलनामा सिक्वेल कमजोर भए पनि व्यापार ठीकठाक हुने उदाहरण व्याप्त भएकाले यो प्रश्नले मेकरहरुलाई घेरिरहन्छ ।

सिक्वेल कमजोर बन्नुलाई ‘दर्शकप्रतिको धोका’ बताउने विश्लेषकहरुको जमात पनि छ ।

सिक्वेलमा अभिनय नगर्ने स्थापित नायकहरु नायकहरु कम नै छन् । बक्स अफिसमा पनि पकड बलियो छ । थुप्रै नायक नायिकाले सिक्वेललाई फिल्म क्षेत्रमा प्रवेश गर्ने ढोका बनाएका छन् । केही त सिक्वेलमा अभिनय गरेकै कारण स्थापितसमेत बनेका छन् ।

नेपाली फिल्मको पछिल्लो दुई दशक हेर्ने भने हिट फिल्मको सूचीमा सिक्वेलकै दबदबा छ ।

बक्स अफिसमा प्रभुत्व

नेपाली बक्स अफिसमा सिक्वेलको दबदबा कस्तो छ भनेर थाहा पाउन गत भदौमा चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची हेर्दा हुन्छ ।

यी २५ फिल्ममा १४ वटाले सिक्वेलसँग सम्बन्ध राख्छन् । ‘छक्का पञ्जा’का पाँचै र ‘कबड्डी’का चारवटै सिक्वेल यो सूचीमा छन् ।
‘जारी’ पनि यो सूचीमा छ । यसको सिक्वेल ‘जारी २’ प्रदर्शनरत छ ।

त्यस्तै, ‘परदेशी २’, ‘पशुपति प्रसाद २’ र ‘प्रेम गीत ३’ पनि यो सूचीमा छन् ।

उक्त सूचीमा रहेका बाँकी ११ मध्ये दुई फिलम ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’को पनि सिक्वेल निर्माणको घोषणा भइसकेको छ ।

’पूर्णबहादुरको सारङ्गगी’ले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गर्दै सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्मको कीर्तिमान राखेको छ । यो फिल्मका निर्माता पनि सिक्वेल निर्माणमा तम्सिएका छन् ।

अर्थात्, अहिलको अवस्थामा अल टाइम हिट फिल्मको सूचीमा परेको २५ मध्ये ९ फिल्म मात्रै सिक्वेल निर्माणमा प्रवेश गरेका छैनन् । तर, सिक्वेल बन्ने सम्भावना सबैको उत्तिकै छ ।

सिक्वेलबाट चर्चित कलाकार

सबैभन्दा बढी संख्यामा नयाँ नायक-नायिका स्थापित गर्ने सिक्वेल ‘होस्टल’ हो । यसले नायक-नायिकाको जन्म गराउने ब्रान्डको उपमा पनि पाएको छ ।

‘होस्टल’बाटै अहिले महँगा नायक अनमोल केसीको उदय भएको हो । फुलफ्लेज हिरोको रुपमा उनको यो डेब्यू फिल्म हो । सहायक पात्रमा बढी रुचाइएका युवा नायक सलोन बस्नेतले यही फिल्मबाट चर्चा पाएका हुन् ।

‘होस्टल २’ बाट नायक नायक सुशील श्रेष्ठ, नायिका स्वस्तिमा, नाजिर हुसेनले फिल्ममा डेब्यू गरेका हुन् । यी तिनै अहिलेका स्थापित कलाकार हुन् ।

‘होस्टल ३’बाट नायक पारस बमले फिल्ममा डेब्यू गरे । गत वर्ष यो फिल्म प्रदर्शनमा आएको थियो । अहिले पारसलाई फिल्ममा प्रस्ताव आइरहेको छ । उनले फिल्म ‘भाइटीका’ साइन गरेको चर्चा छ । यसकी नायिका हेना नगरकोटी र सिम्रन पन्तले पनि नेपाली फिल्ममा सम्भावना देखाएका छन् ।

त्यस्तै, महँगा मध्येका एक नायक प्रदीप खड्का पनि सिक्वेलबाटै चर्चामा आएका हुन् । उनले ‘प्रेम गीत’ सिक्वेलबाट फिल्म क्षेत्रमा आफ्नो पकड बनाए ।

अनमोललाई सिक्वेलकै डर, सिक्वेलकै भर

महँगो नायकको छवि बनाइरहेको बेला नायक अनमोल केसीले दर्शकले मन पराएको फिल्म ‘छड्के’को सिक्वेल ‘छड्के २’ गरे । उनले त्यसअघि नै सिक्वेल फिल्म ‘ए मेरो हजुर’ ३ र ४ गरिसकेका थिए ।

तर, छड्केले अनमोललाई नराम्ररी डुबायो । यो फिल्म फ्लप भयो । आफूले पारिश्रमिक लिएको जति पनि बक्स अफिस कलेक्सन भएन । अनमोलको करिअरकै डिजास्टर फिल्म बन्यो ।

अनमोलले ‘छड्के २’ का लागि ५० लाख पारिश्रमिक लिएको चर्चा थियो । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको ग्रस कलेक्सन ३० लाख मात्रै छ ।

तर, अनमोललाई सिक्वेलले नै उद्धार गरेको छ । उनको दोस्रो फिल्म ‘जेरी’को सिक्वेल ‘जेरी अन टप’ प्रदर्शनरत छ । यो अनमोलकै करिअरकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म हो ।

यो फिल्मको व्यापार साढे ११ करोड नाघेको छ । १० करोड ग्रस कलेक्सन गर्ने यो नै उनको पहिलो र एक मात्रै फिल्म हो ।

अनमोललाई ‘छड्के २’ले डुबाए पनि अर्को सिक्वेल ‘जेरी अन टप’ले उद्धार गरेको छ ।

सिक्वेलमा दयाहाङको दबदबा

नयाँ दयाहाङ अहिलको समयका सबैभन्दा व्यस्त नायक हुन् । सबैभन्दा धेरै फिल्म दिने नायकको सूचीको अग्रस्थान उनकै कब्जामा छ ।

उनी तीन फिल्महरु कबड्डी, जारी र लुट सिक्वेलका शीर्ष नायक हुन् । कबड्डीको चारै, जारी र लुटको दुई-दुई सिक्वेल गरेर उनले अभिनय गरेका ९ वटा सिक्वेल प्रदर्शनमा आइसके । अहिले उनी ‘कबड्डी ५’को छायाङ्कनको क्रममा छन् ।

अहिलेका अर्का स्थापित नायक विपीन कार्कीले ‘लुट’को सिक्वेलमा ‘लुट २’ र ‘जात्रै जात्रा’का तीनै वटा सिक्वेलमा अभिनय गरेका छन् । सौगात मल्लले पनि ‘कबड्डी सिक्वेल’मा अभिनय गरेका छन् ।

जुन फिल्मका सबै सिक्वेल हिट भए

सबै सिक्वेल हिट बनेको दुई फिल्म ‘छक्का पञ्जा’ र ‘कबड्डी’ हुन् ।

यी फिल्मका सबै सिक्वेल बोर्डले सार्वजनिक गरेको सर्वाधिक व्यापार गर्ने २५ फिल्ममा समावेश छन् ।

‘कबड्डी’ सिक्वेलबाट सबैभन्दा बढी व्यापार गर्ने ‘कबड्डी ४’ हो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाखमाथि छ । २० करोड ग्रस कलेक्सन कटाउने दुई मात्र नेपाली फिल्ममा यो पर्छ ।

छक्का पञ्जाको सिक्वेलबाट सबैभन्दा बढी व्यापार ‘छक्का पञ्जा ४’ले गरेको छ । यसको ग्रस कलेक्सन १७ करोड ५३ लाख छ ।

‘कबड्डी ४’ सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्मको सूचीको दोस्रो स्थानमा छ । ‘छक्का पञ्जा ४’ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : १० बजे

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका