पाठेघरको मुखको क्यान्सर : स्क्रिनिङ र खोप विस्तार जरुरी | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सर : स्क्रिनिङ र खोप विस्तार जरुरी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ । हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर रहेको छ । रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही क्यान्सरका कारण प्रतिदिन चार जना महिलाले ज्यानसमेत गुमाइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर, रोकथाम र निवारणका लागि यस नाराले सबै सरोकार भएका निकायलाई गम्भीर बनाउने विश्वास व्यक्त गरे । उनले सबैले आ–आफ्नो स्थानबाट क्यान्सर, रोकथाम र निवारणका लागि अहिलेदेखि नै कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले समयमै स्क्रिनिङ, एचपीभी (ह्यमून प्यापिलोमा भाइरस) खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने बताए। यस रोगको निवारणका लागि स्क्रिनिङ, खोप विस्तार अनिवार्य रहेको डा देवकोटाको धारणा छ ।

उनले भने, ‘पाठेघरको मुखको क्यान्सर निवारण लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोपलाई समावेश गरी ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क सेवा प्रदान गरिएको छ । यस वर्षको फागुनमा विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई उक्त खोप दिने कार्यक्रम छ ।’

यो क्यान्सर निवारणका लागि सन् २०३० सम्ममा सरकारले ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने, ३० वर्ष माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ ।

चिकित्सकका अनुसार ३० वर्ष उमेरभन्दा माथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्दछ । एचआइभी सङ्क्रमित महिलाले २५ वर्षको उमेरदेखि नियमित रूपमा प्रारम्भिक जाँच गराउनुपर्दछ ।

नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन् । यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्यांक व्यवस्थापन, सामाजिक लाजभाव र आर्थिक रहेका छन् ।

 जसले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको डा देवकोटाले बताए।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : १५ बजे

सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा

दुर्गा प्रसाईँले भने- सरकारले बेवास्ता गर्‍यो, हाम्रो आन्दोलन रोकिँदैन 

काठमाडौं–  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले

दुई महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात

मुस्ताङ– यहाँस्थित मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा सात अर्ब

प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन 

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानले विराटनगर समन्वय समिति गठन गरेको छ।

एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा

काठमाडौं- गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेपाली