काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको हताहती हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
गत कात्तिक १० गते डीआईजीमा बढुवा हुनेमा पहिलो स्थानका अधिकारीलाई छुटाएर अन्तरिम सरकारले अन्य पाँचजना एसएसपीलाई स्तरोन्नति गरेको थियो ।
त्यसबेला डीआईजीमा बढुवा सिफारिस भएकाहरूमा पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रो सानुराम भट्टराई, तेस्रो ओम अधिकारी, चौथो शेखर खनाल र पाँचौ अभिनारायण काफ्ले थिए । तर बढुवा हुनुपर्ने पहिलो नम्बर सूचीमा रहेका अधिकारीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले रोकेका थिए । उनीमाथि आन्दोलनमा भएको दमनमा भएको हताहती प्रकरण छानबिनका क्रममा रहेको जिकिरसहित बढुवा गरिएको थिएन।
तर सोमबार प्रहरी प्रधान कार्यालयले जेन-जी आन्दोलनका क्रममा दमन गर्न भूमिका खेलेको आरोप लागेका उनै अधिकारीलाई डीआईजीमा बढुवाको सिफारिस गरेको छ। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन नआइसक्दै अधिकारीले डीआईजीको फुली लगाउने भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले सोमबार बसेको बैठकमार्फत् अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
‘प्रहरी नियमावली २०७१ अनुसार तयार गरिएको सूचीमा जनपद प्रहरी समूहतर्फका एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ’, समितिले भनेको छ ।
जेन-जी आन्दोलनपछि काठमाडौंबाट सरूवा गरिएका अधिकारी हाल बागमती प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडामा कार्यरत छन्। उनले पाएको प्राप्ताङ्क ७५ मध्ये ७२.२४ रहेको समितिले जनाएको छ।
बढुवा समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले यसबारे सोमबार जानकारी दिएका हुन् ।
फेरिएको थियो सेटै
खासगरी संसद् भवनबाहिर भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर १७ जना घटनास्थलमै मारिएका थिए । अन्य ५ जनाको उपचारका क्रममा ज्यान गएको थियो ।
उक्त प्रकरणपछि आएका गृहमन्त्री अर्यालले एसएसपी अधिकारीसहित काठमाडौं प्रहरी परिसरका सबै प्रहरीलाई फेरेका थिए । अहिले काठमाडौं परिसरमा एसएसपी रशेम थापा छन् ।
जेन-जी आन्दोलनको बहानामा नरोकेको भए अधिकारी कात्तिक १० मै पहिलो नम्बरमा डीआईजी हुने थिए । अधिकारी यसअघि २०८० वैशाख २४ गतेको एसएसपी बढुवामा पहिलो नम्बरमै थिए । अधिकारी २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षकबाट प्रवेश गरेका थिए । उनले २०५६ सालमा प्रहरी निरीक्षकमा नाम निकालेपछि छलाङ मारेका थिए ।














प्रतिक्रिया