हामी भित्रैका छायाँहरू देशका दुस्मन ! « Khabarhub

हामी भित्रैका छायाँहरू देशका दुस्मन !

विरासतकाे बोझ, विसङ्गतिको शृङ्खला र विनाशको ३६ वर्ष 



‘देशको दुस्मन’ सधैँ सीमापारिबाट मात्रै आउँदैन । कहिलेकाहीँ, राष्ट्रका सबैभन्दा खतरनाक दुस्मनहरू त्यही माटोमा हुर्केका, त्यही हावापानीमा सास फेरेका, र त्यहीँका नागरिकहरूकै रूपमा देखा पर्छन् । देशका शत्रुहरूको रूप, चरित्र र पहिचान प्रत्येक राष्ट्रमा फरक–फरक हुन्छ ।

अमेरिकाका दुस्मनहरू ती हुन्, जसले लोकतान्त्रिक मूल्यहरू भत्काउने षड्यन्त्र गर्छन् । भारतका दुस्मनहरू ती हुन्, जसले सङ्घीय एकता र संविधानलाई चुनौती दिन्छन् । चीनका दुस्मनहरू ती हुन्, जसले कम्युनिस्ट अनुशासन र राष्ट्रिय एकतालाई भत्काउने काम गर्छन् र जापानका दुस्मनहरू ती हुन्, जसले श्रम, इमान र राष्ट्रप्रतिको समर्पण कमजोर पार्छन् ।

तर, नेपालका दुस्मनहरू– उनीहरूको स्वरूप धेरै सूक्ष्म र भित्री छ । हाम्रो शत्रु प्रायः बाहिरका होइनन् , ‘भित्रका छद्मभेषी छायाँहरू’ हुन् ।

हामीले दशकौँदेखि जसलाई नेता भनेर पूज्य ठान्यौँ, जसलाई मुक्तिदाता ठान्यौँ, त्यही पात्रहरू अहिले देशको कमजोर प्रणाली, राजनीतिक अस्थिरता र भ्रष्ट सिन्डिकेट संस्कृतिका मुख्य कारण बनेका छन् ।

माओवादी आन्दोलनको समयमा ‘भारतको प्रभाव’ लाई राष्ट्रविरोधी सन्दर्भमा प्रयोग गर्दै देशभित्र राष्ट्रियताका नाममा राजनीतिक अभियान चलाइयो । तर विडम्बना– ती आन्दोलनका धेरै शीर्ष नेताहरू भारतकै सहरहरूमा आश्रित भएर हुर्किए । भारतलाई ‘दुस्मन’ भनियो, त्यसकै भूभागमा बसेर राजनीतिक पुँजी बटुलेर फर्किएकाहरूले सत्ता सम्हालेपछि देशलाई फेरि परनिर्भरताको दलदलमा फ्याँके जसरी भूमिगत आन्दोलनका नाममा देश ५, ७ दशकपछि पारेका थिए ।

पञ्चायतको पतनपछि आएको लोकतान्त्रिक लहर र २०४८ सालको कांग्रेसको बहुमत, २०६३ सालपछि माओवादीको लोकप्रियता र हाल कांग्रेस–एमालेको दुई तिहाइको बल- यी सबै अवसरहरू राष्ट्रनिर्माणमा होइन, राष्ट्र विनाशको नयाँ अध्याय लेख्नमा खर्चिए । जसरी डढेलो भदौमा आगो होइन, डढेलो उपयुक्त हुनेछ । त्यसले देशको रूप नै बिगारिदियो, त्यसरी नै राजनीतिक आगोले राष्ट्रको आत्मा पोल्दै लग्यो ।

नेपालका दुस्मनहरू विदेशी षड्यन्त्रकार मात्र होइनन्— ती त हाम्रै भाषामा बोल्ने, हाम्रै पहिरन लगाउने र हाम्रै नारा लगाउने पात्रहरू हुन् । तिनै हुन्, जसले सत्ताको लागि सिद्धान्त बेचिदिए, जसले राष्ट्रहितलाई व्यक्तिगत कमिसनमा रूपान्तरण गरे र जसले जनताको विश्वासलाई निर्वाचनको व्यापारको वस्तु बनाए । उनीहरूले देशलाई गहिरो आर्थिक सङ्कट र सामाजिक विचलनको भूमरीमा धकेल्दै छन् ।

देशका दुस्मन र व्यवस्थाका खुम्ले किराहरु तिनीहरू हुन् जस्ले एउटै कानून नागरिक र नेताको सामिप्यमा फरक प्रयोग गराए । उदाहरण विष्णु पौडेलको जग्गा, कोहीले सट्टा भर्ना पाउने कोहीले अपराधी हुनुपर्ने, ऐन महर जो एकै दिन पक्राउ, एकै दिन बहस र एकै दिन फैसला गराए । अनि व्यवस्थाविरुद्ध र नेता विरुद्ध खुम्ले किरालाई मल हालिरहे ।

अहिलेको मुख्य प्रश्न हो- यस्ता दुस्मनहरू हाम्रै समाज, हाम्रै परिवार र हाम्रै व्यवस्थाबाट कसरी पुनः अवतार लिन्छन् ? उत्तर सरल छ– हाम्रो प्रणाली, हाम्रो शिक्षा र हाम्रो नागरिक चेतना अझै दासता मनोविज्ञानबाट मुक्त हुन सकेको छैन। हामी पटक पटक गलत पात्रलाई मुक्तिदाता ठान्ने र उनीहरूको गलतलाई पनि पार्टीको च्यादरले ढाक्ने आत्मघाती संस्कृतिमा बाँचेका छौँ ।

देशभित्रको सबभन्दा ठूलो युद्ध अब सीमाको होइन, चरित्र र चेतनाको  हो । यो लडाइँ बाहिरी शत्रुहरूसँग होइन, भित्रका ती दुस्मनहरूसँग हो- जसले राष्ट्रको आत्मा बेच्ने साहस गर्छन् र जनताको सपना विनासपछि पनि निर्लज्जतापूर्वक बाँचिरहन्छन् ।

हामीले लोकतन्त्रमा हदभन्दा बढी ‘स्वभाविक’ र यहाँ यस्तै त हो भन्ने ठानेर बेवास्ता गर्‍याैँ,  बेलामा बोलेनौँ । बोल्न पर्नेकुरा र गर्नुपर्ने खबरदारी काठमाडौंको मुनी थुप्रिएको भूकम्प झैँ थुप्रिए ।

जेनजी को नाममा विष्फोट भयो । त्यससँगै त्यही समाज र राजनीतिले विकास गरेको कसले के गर्छ ? पख्लास्, हेरौँला जस्ता सामाजिक संरचना जो संस्कार, पद्धति  र प्रणाली बाहिर हुर्किए । अधिकारको नाममा र यसको सुधार माओवादी समेतले मलजल गरेर देश र व्यक्तिको सम्पत्ति खरानी बनाइयो । यो संविधानले नसिहत दिने अधिकार अदालतलाई दिएकोमा त्यसको बर्खिलाप कानून हातमा लिने जङ्गली अभ्यास भए र अर्बौँ खरानीको रास बन्यो ।

हामी अब त्यस्तो युगमा प्रवेश गर्दैछौँ, जहाँ यी विसङ्गतिहरूलाई केवल लेखेर मात्र राख्नु पर्याप्त छैन । अब हामीले यी छायाँ दुस्मनहरूलाई दुस्मन करार गर्दै चिन्ने, चुनौती दिने रिङ्ग आउट गर्ने चेतना जगाउनै पर्छ । यही उद्देश्यले आगामी शृङ्खलाहरूमा सतहमा देखिएका र सबै नेपालीले चिन्ने तथा पर्गेल्ने क्षमता राख्ने दुस्मन समूहलाई केलाउने प्रयास गरिँदैछ।

यो शृङ्खलाको उद्देश्य कसैप्रति व्यक्तिगत रिस साँध्नु होइन, बरु मौनताको जालो च्यात्नु हो । हामीले चिनेर, पर्गेलेर र चुनौती दिएर आगामी चुनावहरूबाट यी देशका दुस्मनलाई बढारेर फाल्नै पर्ने आवश्यकता स्थापित गर्दैछौँ । अन्यथा, ३५ वर्षको विसङ्गति अर्को ३५ वर्षसम्म दोहोरिने निश्चित छ । नेपाली राजनीतिक क्षितिजमा २०४६ सालमा आएको परिवर्तन एउटा सुन्दर बिहानीको सङ्केत थियो ।

पञ्चायतको अँध्यारो पर्दा च्यातिँदा नागरिकले सुशासन, स्थायित्व र समृद्धिको एउटा नयाँ युगको परिकल्पना गरेका थिए । तर, २०८२ सालको संघारमा उभिएर विगत ३६ वर्षअघि २०४६ साललाई फर्केर हेर्दा, त्यो परिवर्तनले ल्याएको अवसरको दुरुपयोग र निकासको विनासबाहेक अरू केही देखिँदैन । यो अवधिमा राजनीतिक नेतृत्वले लोकतन्त्रलाई औपचारिकतामा खुम्च्याएर राज्यका हरेक संस्थालाई आफ्नो गुटगत स्वार्थ सिद्ध गर्ने औजारमा रूपान्तरण गरिदिए ।

परिवर्तनको विडम्बना, अस्थिरता र उपलब्धिको निराशाजनक ग्राफ

२०४६, २०६२/६३ र संविधान निर्माण २०७२ सम्म आइपुग्दा नेपाली जनताले पटक पटक राजनीतिक प्रणाली परिवर्तन गरे, जसको मुख्य लक्ष्य थियो- सुशासन र समावेशी विकास । तर, ३६ वर्षको यो अवधि केवल राजनीतिक अस्थिरता, खिचातानी र सत्ताको सट्टापट्टामा बित्यो । सरकारहरू फेरिँदै गए, तर शासकीय चरित्र र प्रवृत्ति फेरिएनन् बरु विकृत हुँदै  गए ।

विसङ्गतिको शृङ्खला यस्तो छ–
क)    बहुदलीय व्यवस्थाको प्रारम्भिक चरणमै देखिएको संसद्को किनबेच र अविश्वासको राजनीति ।
ख)    जनयुद्धको नाममा भएको ठूलो मानवीय र भौतिक क्षति, जसको घाउ अझै आलै छ ।
ग)    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्नु र सङ्क्रमणकालीन न्यायलाई अनन्तकालसम्म लम्ब्याउनु । फलस्वरूप, राजनीतिक परिवर्तनले दिएको ‘शक्ति’लाई नेताहरूले ‘सेवा’मा होइन, ‘स्वार्थ’मा रूपान्तरण गरे । समृद्धिको ग्राफ उकालो लाग्नुको सट्टा, निराशाको ग्राफ लगातार बढेर गयो ।
घ) सुशासनको अभाव र कुशासनको अभ्यास, लोकतन्त्र खोक्रो बनाउने ‘काखापाखा’ संस्कृति ।

२०४६ सालपछि नेपालमा संस्थागत हुन थालेको प्रजातन्त्रलाई सबैभन्दा बढी क्षति पुर्‍याउने तत्त्व हो- कुशासन र शक्तिमाथि परिवारवाद र गुटवाद क्रोनिजम हावी हुनु ।

नेपाली राजनीतिमा ‘काखापाखा’ परिवारवाद र नातावादको संस्कृति यसरी हावी भयो कि, लोकतन्त्रको जग नै खोक्रो बन्यो । पार्टीभित्रको आन्तरिक गुटगत स्वार्थले राष्ट्रिय हितलाई सधैँ छायाँमा पारिदियो । पार्टीको ‘च्यादर’ संरक्षणले ढाक्ने कामले भ्रष्ट र असक्षम व्यक्तिहरूलाई बारम्बार पुरस्कृत गर्‍यो।

शक्ति पृथकीकरणको सिद्धान्त कमजोर
कार्यपालिकाको स्वेच्छाचारिता : संसदलाई प्रभावकारी बनाउनुको सट्टा, अध्यादेश र स्वेच्छाचारी निर्णयमार्फत शासन चलाउने प्रवृत्ति बढ्यो ।
कानूनको शासनमाथि हस्तक्षेप : सत्ता र शक्तिको आडमा कानून प्रवर्तन निकाय माथि चरम राजनीतिक दबाब र राजनीतिकरण गरियो । प्रहरी प्रशासनदेखि अनुसन्धान निकायसम्म पार्टीका कार्यकर्ता वा ‘आफ्ना मान्छे’ ले नेतृत्व गर्ने परिपाटी बस्यो ।

ठेकेदार नै नेता : दिगो विकासको मजाक
दिगो विकासका योजनाहरूलाई प्राथमिकता दिनुको सट्टा, राजनीतिक नेतृत्व आफैँ  ‘ठेकेदार’को भूमिकामा देखा पर्न थाले । नीति निर्माण र ठेक्का प्रक्रियामा स्वार्थको द्वन्द्व हावी भयो । फलस्वरूप विकास निर्माणका कामहरूमा अनियमितता, कमसल निर्माण र वर्षौँसम्म आयोजनाहरू नबन्ने समस्याले देशलाई गाँज्यो । ठेकेदार नेता बने र नेता ठेकेदारका संरक्षक ।

न्यायसम्पादनमा विचलन : दण्डहीनता र  ‘पशु विपक्ष न्यायसम्पादन’
कुनै पनि लोकतन्त्रको मेरुदण्ड भनेको स्वतन्त्र र निष्पक्ष न्यायपालिका हो । तर, पछिल्ला ३६ वर्षमा न्यायपालिकामा आएको विचलनले न्यायको परिभाषा नै फेरिदियो । न्यायपालिकाको राजनीतिकरण चरम बिन्दुमा पुग्यो । सर्वोच्च अदालतका न्यायाधीशहरू नियुक्तिदेखि लिएर महत्त्वपूर्ण संवैधानिक इजलास गठनसम्ममा कार्यपालिकाको स्वार्थ र प्रभाव देखिन थाल्यो । यसबाट जनविश्वासमा गम्भीर सङ्कट उत्पन्न भयो । फलस्वरूप, देशमा न्यायसम्पादनमा पक्षविपक्षको अवस्था आयो ।

क) ठूला र शक्तिशालीलाई उन्मुक्ति : भ्रष्टाचार, मानव अधिकार उल्लङ्घन, र ठूला आर्थिक अपराधका आरोपितहरूलाई राजनीतिक आडमा क्लिन चिट दिने वा मुद्दालाई निष्क्रिय पार्ने काम भयो ।
ख)    निर्धालाई मात्र कानून : सानातिना कसुरमा सर्वसाधारण व्यक्तिहरूलाई कानूनको डण्डा लगाइयो, तर शक्तिशाली व्यक्तिहरूलाई कानूनको  ‘च्यादर’ले ढाकियो ।
ग) दण्डहीनताको संस्कृति : अपराध गर्नेलाई दण्डित गर्नुको सट्टा दण्डितग्रस्त अर्थात्, न्याय प्रणालीको कमजोर पकडको अवस्थाले गर्दा देशमा दण्डहीनताले अभूतपूर्व प्रश्रय पायो ।

संस्थागत क्षय र ‘रिटायर्ड क्लब’ 
लोकतन्त्रलाई सन्तुलित र उत्तरदायी बनाउनका लागि विभिन्न संवैधानिक र नियामक निकायहरूको परिकल्पना गरिएको थियो । तर, ३६ वर्षको अवधिमा यी संस्थाहरू राज्यका दुस्मनको निशानामा परे।

संवैधानिक निकायमाथिको प्रहार
आयोगहरू रिपोर्ट थन्क्याउने थलो :
 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगजस्ता निकायहरूलाई बलियो बनाउनुको सट्टा, यी निकायहरूमा राजनीतिक नियुक्तिका कारण दक्षता र निष्पक्षतामा ह्रास आयो । यी निकायका महत्त्वपूर्ण रिपोर्टहरू संसद र सरकारले बेवास्ता गर्दै वर्षौँसम्म थन्क्याएर राख्ने प्रचलन बस्यो, जसले आयोगहरूको औचित्यमाथि गम्भीर प्रश्न उठायो । विश्वसनियता समाप्तप्राय भयो ।
‘रिटायर्ड क्लब’ बनाइनु : संवैधानिक परिषदमार्फत हुने नियुक्तिहरूमा योग्य र इमानदार व्यक्तिलाई भन्दा स्वच्छ प्रतिस्पर्धा र नतिजाको कार्य योजनाको साटो पनि पार्टीका  रिटायर्ड पार्टी समर्थक कर्मचारी कार्यकर्ता वा घुस्याहा मानिसलाई नियुक्ति दिने परिपाटीले यी निकायलाई राजनीतिको ‘रिटायर्ड क्लब’मा परिणत गरिदियो । डेलिभरी सून्य र आमान्य हुँदै गए । विदेश भ्रमण र भत्ता चाकरीमा उनीहरुको दक्षता देखियो ।

​​​​​​​दिगो विकासको बलिदान
विकासका लागि बनाइएका राष्ट्रिय योजना आयोग, लगानी बोर्डजस्ता निकायहरूलाई पनि पार्टीको भ्रातृ संस्थाका रूपमा प्रयोग गरियो, जसले गर्दा दिगो विकासको लक्ष्य हासिल गर्ने राष्ट्रिय प्राथमिकता पछाडि पर्‍यो । योजना आयोग चीनको जस्तो हुनुपर्ने थियो । हेरौँ न  चीनको १४औँ पाँचवर्षीय योजना २०२१–२५ अन्तर्गत, चीनले अनुसन्धान विकास खर्च वृद्धि गर्‍यो, हरित उर्जा विस्तार गर्‍यो र निर्यात तथा घरेलु बजार दुवैमा सक्रिय भूमिका निभायो । यसले विश्व आपूर्ति शृङ्खलामा महत्वपूर्ण भूमिका खेलिरहेको छ- उदाहरणका लागि नयाँ उर्जा वाहन, हरित प्रविधि, पूर्वाधार निर्माणमा चीनको दबदबा बढेको छ । चीनले नयाँ पाँचवर्षीय योजना १५औँ योजनाको रूपरेखा तयार गरिरहेको छ ।आफूलाई विश्व अर्थतन्त्रको स्थिर एङ्कर बनाइरहने अपेक्षा पनि लिएको छ- जसले चीन मात्र देश नभएर ‘वैश्विक अवसर’ निर्मातामा परिणत हुने सङ्केत दिन्छ ।

नेपालको हालत सबै सामु जाहेरै छ, त्यस्ता पद्धति बसाल्ने र बिगार्ने अनि सोकल्ड योजनाकारहरू नै देशका खास दुस्मन हुन् । जसले देश सिसिफसको ढुङ्गो झै तलामाथि बनाइ रहे । 

सत्ताको सट्टापट्टा : स्थिरताको भ्रम र राष्ट्रिय स्वार्थको अवमूल्यन
पछिल्लो साढे तीन दशक यताको राजनीति एउटै सूत्रमा बाँधिएको छ । त्यो हो– ‘सत्ताको सट्टापट्टा’। जुनसुकै दलको सरकार बने पनि, सत्तामा टिकिरहने मुख्य उद्देश्य रह्यो ।
राजनीतिक अस्थिरताको व्यापार : यो अवधिमा कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न सकेनन् । बारम्बारको सत्ता परिवर्तनले नीतिगत अस्थिरता बढायो र विदेशी लगानी तथा आर्थिक विकासको वातावरण पूर्ण रूपमा बिगारिदियो ।
राष्ट्रका दुस्मनहरूको संरक्षण : सत्ता टिकाउन र गुटगत स्वार्थ पूरा गर्नका लागि भ्रष्ट, असक्षम र राष्ट्रिय हितलाई अवमूल्यन गर्ने व्यक्तिहरूलाई पार्टीको ‘च्यादर’ले ढाक्ने काम भयो । गलतलाई दण्ड होइन, भित्र न मिल्नेलाई मात्रै दण्ड दिने राजनीतिको अस्वस्थ प्रतिस्पर्धा मौलायो।

यी सम्पूर्ण विसङ्गतिहरूको परिणाम के भयो ? राज्यको ढुकुटी र स्रोतसाधनको व्यापक दुरुपयोग भयो, जसले गर्दा साधारण नागरिकहरूको जीवनस्तर उकास्ने अवसरबाट देश वञ्चित भयो।अर्को एङ्गलबाट हेर्दा उनीहरुसँग देश बदल्ने र नागरिकको समृद्धिका  सपना पनि थिएनन् र योजना पनि । हिन्दीमा एउटा भनाई छ– ‘होते होते हो गएु ।’ ती सबै टेस्टेड नेता जो शक्तिमा पुगे उनीहरु त्यही ‘होते होते हो गए’ वाला हुन् । क्षमता, ज्ञान वा विज्ञाताले बनेका थिएनन् । त्यसैले देश र नागरिकको उन्नयन उनीहरुको डिक्स्नेरी मै रहेन । तसर्थ ती सबै देश र प्रणालीका दुस्मन हुन् ।

तुलनात्मक विश्लेषण : समुन्नतिमा फड्को मार्ने छिमेकी र स्थिर रहेका देशहरू

नेपालले ३५ वर्षको अवधि राजनीतिक खिचातानीमा बिताउँदै गर्दा, विश्वका केही देशहरूले यही अवधिमा गम्भीर आर्थिक र राजनीतिक चुनौतीहरूलाई पन्छाउँदै गरिबीबाट समुन्नति तर्फ फड्को मारे ।

२०४६ साल (सन् १९९०) को आसपासको अवस्था हेर्ने हो भने, नेपालसँग मिल्दोजुल्दो आर्थिक अवस्था भएका केही देशहरूको ३५ वर्षपछिको यात्रा तुलनात्मक रूपमा निराशाजनक छ ।

गरिबीबाट समुन्नतिमा फड्को मारेका देशहरूको ग्राफ (सन् १९९०–२०२५ को अवधिमा)

देशसन् १९९० को अवस्थासन् २०२५ को अवस्थामुख्य सफलताको सूत्र
भियतनामनिम्न-आय भएको कृषि प्रधान देश, राजनीतिक अस्थिरताबाट भर्खर मुक्त।तीव्र मध्यम-आय भएको देश, बलियो विदेशी लगानी र निर्यात उन्मुख अर्थतन्त्र।स्थिर र दूरदर्शी सरकारी नीति, शिक्षा र पूर्वाधारमा व्यापक लगानी, र भ्रष्टाचारमा शून्य सहनशीलता।
इन्डोनेसियाराजनीतिक सङ्क्रमण र वित्तीय सङ्कटको सामना गर्दै।G20 को सदस्य, दक्षिण-पूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र, लोकतन्त्रको संस्थागत विकास।संस्थागत सुधार, सुशासनमा जोड, र व्यापारमैत्री वातावरण।
बंगलादेशप्राकृतिक प्रकोप र राजनैतिक अस्थिरता, गरिबीको उच्च दर।तीव्र मध्यम-आय भएको देश, तयार पोशाक उद्योग (RMG) मा विश्वको दोस्रो ठूलो निर्यातक, सामाजिक विकासमा फड्को।राजनीतिक स्थिरता (केही हदसम्म),निर्यातमा केन्द्रित अर्थनीति, र ग्रामीण अर्थतन्त्रको सशक्तीकरण।

नेपालको विडम्बना :
सन् १९९० मा भियतनाम वा बङ्गलादेशले भोगेका समस्याभन्दा नेपालको समस्या कम थिएनन् । तर, आज ती देशहरूले गरिबीको चङ्गुलबाट मुक्त भई मध्यम आय भएका देशको सूचीमा फड्को मारिसकेका छन् । उनीहरूले आफ्नो राजनीतिक प्रणालीलाई आर्थिक विकास र सुशासन सँग जोड्न सफल भए ।

यसको ठीक विपरीत, नेपालले यो ३५ वर्षको अवधि राजनीतिक प्रयोग, संस्थागत क्षय र दण्डहीनता को शृङ्खलामा गुमायो । आर्थिक नीतिहरू राजनीतिक हस्तक्षेपको शिकार भए र देशमा रोजगारी तथा अवसर सिर्जना नहुँदा लाखौँ युवाहरू खाडी र अन्य देशमा पलायन हुन बाध्य भए।

अबको बाटो र राष्ट्रलाई चुनौती
नेपाल देशका दुस्मन कोही अदृश्य शक्ति होइनन् । यो देशका दुस्मन ३६ वर्षको अवधिमा राजनीतिक नेतृत्वले सिर्जना गरेको विसङ्गतिको शृङ्खला हो ।

१) सुशासनको अभाव र परिवारवादको संस्कृति।
२) कानूनको शासनमाथिको राजनीतिक हस्तक्षेप।
३) न्यायपालिका र संवैधानिक निकायको राजनीतिकरण र संस्थागत क्षय ।
४) दण्डहीनता र भ्रष्टहरूलाई पार्टीको ‘च्यादर’ भित्र ढाक्ने परिपाटी ।

जबसम्म नेपालको राजनीतिक नेतृत्वले व्यक्तिगत र गुटगत स्वार्थ लाई राष्ट्रिय स्वार्थ भन्दा माथि राख्ने प्रवृत्ति त्याग्दैन, तबसम्म देशले समृद्धिको बाटो पहिल्याउन सक्दैन ।

अबको बाटो भनेको राजनीतिको ढाँचा परिवर्तन गर्नु होइन, शासकीय चरित्र र आचरण परिवर्तन गर्नु हो ।

दण्डितलाई होइन, गलतलाई दण्ड : दण्डहीनताको संस्कृतिलाई समाप्त पार्दै हरेक नागरिकमाथि कानूनको समान पहुँच स्थापित गर्नु आवश्यक छ ।
संस्थागत पुनर्निर्माण : संवैधानिक निकायहरूलाई साँच्चिकै स्वायत्त र राजनीतिक प्रभावबाट मुक्त बनाउनु जरुरी छ ।
युवा शक्तिको परिचालन : पलायन भइसकेको वा पलायन हुन लागेको युवा शक्तिलाई देशको विकासमा संलग्न गराउनका लागि सुशासनको ग्यारेन्टी दिनुपर्छ ।

२०४६ सालको परिवर्तनको विरासतलाई बोझको रूपमा होइन, सुध्रिने अन्तिम अवसरको रूपमा लिनु नै अहिलेको राजनीतिक नेतृत्वका लागि राष्ट्रिय चुनौती हो । अन्यथा, इतिहासले यो ३६ वर्षको विसङ्गतिको शृङ्खलाका लागि वर्तमान नेतृत्वलाई कहिल्यै माफी दिने छैन ।

देशका दुस्मनलाई पर्गेल्ने सङ्कल्प
यो विसङ्गतिको शृङ्खला तोड्न अब नागरिकहरूले कठोर कदम चाल्नुपर्छ । देशका दुस्मनहरूलाई शक्ति र सत्ताको केन्द्रबाट हटाउन निम्न चारवटा कडा उपायहरू अनिवार्य छन् ।

सार्वजनिक बहिष्कार : राजनीतिक शुद्धीकरणको पहिलो चरण भ्रष्ट र असक्षम नेताहरूलाई हरेक सार्वजनिक मञ्च, पार्टी कार्यक्रम, र सामाजिक जमघटबाट पूर्णरूपमा सार्वजनिक बहिष्कार (सोसल आउटकास्टिङ) गर्नु हो ।

निर्वाचनमा पराजयको सुनिश्चितता : आउँदा हरेक निर्वाचनमा जनताले आफ्नो चेतनाको शक्ति प्रयोग गर्दै यी प्रमाणित दुस्मनहरूलाई सधैँका लागि पराजय गराउनु अपरिहार्य छ ।

फिर्ता बोलाउने अधिकारको व्यवस्था : संविधान संशोधन गरेरै भए पनि राइट टु रिकल अर्थात् जनप्रतिनिधि फिर्ता बोलाउने अधिकारलाई सशक्त कानूनी व्यवस्थाका रूपमा स्थापित गर्नु आवश्यक छ । जसले गर्दा गलत व्यक्ति चुनिएमा वा गलत गरेमा फिर्ता गर्न सकिने छ ।

दण्डको भय : जबसम्म नागरिकको चेतना, सङ्गठित बहिष्कार, र फिर्ता बोलाउने बलियो कानूनी तरबार शक्तिमा पुग्ने हरेक व्यक्तिको टाउकोमा झुन्डिएर बस्दैन, तबसम्म देशका दुस्मनहरू शक्तिमा पुग्नबाट रोकिने छैनन् ।

(समसामयिक मुद्दामा कलम चलाउने लेखक जिसी सार्वजनिक नीति विषयमा विद्यावारिधि हुन् ।)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : १५ बजे

स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट : द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु

काठमाडौं– राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत

नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको चुनौती

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले भारतलाई ११५

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 

काठमाडौं– गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो

काठमाडौं – नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा