शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए « Khabarhub

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

भोजपुर- कुनै बेला एकअर्काको राजनीतिक उचाइ र फाइदाका लागि कुममा कुम मिलाएका नेता कृपाशुर शेर्पालाई कोशी प्रदेश इन्चार्जसमेत रहेका शेरधन राईले कारबाही गरी छाडेका छन् ।

नेकपा एमाले मोरङको अधिवेशनबाट संस्थापन इतरका अजम्बर राईसहितको प्यानल नै विजयी भएपछि २०८१ फागुनमा तेस्रो साता लेखेको फेसबुक स्टाटसका आधारमा राईले शेर्पामाथि कारबाहीको डन्डा चलाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पार्टीविरुद्ध स्टाटस लेखेको भन्दै करिब ९ महिनापछि एमाले भोजपुर जिल्ला कमिटीले यही ५ मंसिरमा शेर्पालाई कारबाही गरेको हो ।

गत शुक्रबार बसेको जिल्ला सचिवालय बैठकले शेर्पालाई उक्त स्टाटसकै आधारमा ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । यसअघि दुई पटक सोधिएको स्पष्टीकरणमा चित्त नबुझेको भन्दै उनीमाथि कारबाहीको डन्डा चलाइएको हो ।

यसअघि भोजपुर जिल्ला कमिटीको उपाध्यक्षमा पराजित पूर्वमन्त्री शेर्पाले मोरङ जिल्ला अधिवेशनमा विद्या भण्डारी समर्थित नेतृत्व आएपछि लेखेको स्टाटसबाट उनी कारबाहीको भागी भएका हुन् ।

मोरङमा पार्टी अध्यक्ष ओली समूहका सबै पदाधिकारी पराजित भएछि उनले लेखेका थिए, ‘मोरङका कमरेडहरू सचेत रहेछन्, भोजपुरमा जस्तो उधारो पदको लोभमा कोही नफसेकाले खेलाडीको खेल तुहाएछन् ! मज्जा लाग्यो । सलाम कमरेडहरू !’

शेर्पाले मोरङको विषय जोडेर भोजपुरलाई लक्षित गर्दै लेखेको उक्त अभिव्यक्तिले जिल्लामा निर्वाचित नेतृत्व र पार्टी सदस्यहरूको अपमान भएको ठहरसहित स्पष्टीकरण सोधिएको थियो ।

उता शेर्पाले आफूलाई पूर्वाग्रही व्यवहारसहित स्पष्टीकरण र कारबाही गरिएको बताएका छन् । शेर्पाले आफू पार्टीको संघीय मामिला तथा केन्द्रीय प्रशासन विभागको सदस्य भएकाले जिल्लाले कारबाही गर्नै नसक्ने पनि बताएका छन् ।

उनै शेर्पाले भोजपुर जिल्ला कमिटीको कारबाहीपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । एमालेको भोजपुर-काठमाडौं सम्पर्क मञ्चका पदधिकारीहरूसहित उनले गुन्डुमै पुगेर ओलीलाई भेटेका हुन् ।

शनिबार बिहानै गुन्डु पुगेर ओलीलाई भेटेपछि उनले दिउँसो भृकुटीमण्डपमा भएको आमसभामा सहभागिता जनाए । ‘आजै हाम्रो गौरवशाली पार्टी नेकपा एमालेका आदरणीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटपछि दिउँसो पार्टीद्वारा आयोजित विशाल जनसभामा सहभागी भएँ’, उनले भोजपुर जिल्ला कमिटीले गरेको कारबाहीको अर्थ नरहेको सन्देश दिँदै भनेका छन् ।

शेरधन र कृपाशुर दुवैको गृहजिल्ला भोजपुर नै हो । तर यी दुई नेताबीच शेर्पा पर्यटन मन्त्री बनेयता सम्बन्ध बिग्रिएको छ । आफू मन्त्री हुने बेलामा शेरधनले केही पत्रकार उचालेर आफूविरुद्ध समाचार लेखाएर बदनाम गर्न खोजेको आरोप उनले लगाउँदै आएका छन् ।

खासगरी एकजना छोरासम्बन्धी विवादलाई मन्त्री हुने बेला सञ्चारमाध्यममा ल्याइदिएर शेरधनले षड्यन्त्र गरेको आरोप उनले लगाउँदै आएका छन् । आफू मन्त्री हुने बेला रोक्न शेरधन डेलिगेशनसहित बालकोट नै पुगेको उनको बुझाइ छ ।

कुनै बेला एकअर्काका पर्याय मानिने यी दुई नेताबीचको कलह युवा संघकै एकजना कार्यकर्ता बालिका खड्कासम्म पनि जोडियो । कृपाशुरले आफूविरुद्ध बालिका उठाएर बदनाम गर्न लगाएको आरोप शेरधनको छ। बालिकाले एमालेको पार्टी कार्यालय थापाथलीमा हुन्जेल शेरधनलाई जहाँ भेट्यो त्यहीँ छेकेर आफूलाई यौन शोषण गरेको गुनासो गर्थिन् । तर अहिले उनी चुपचाप छिन् ।

यी दुईको लामो विवादको श्रृंखला अब २०८१ फागुनको फेसबुक पोस्टलाई आधार मानेर निलम्बनसम्म पुगेको छ । तर शेरधनकै जोडबलमा निलम्बनमा परे पनि शेर्पाले ओलीलाई भेटेर त्यसले आफूलाई फरक नपर्ने सन्देश दिएका हुन् । शेर्पाले ओलीसँगको भेटबारे विस्तृत केही खुलाएका छैनन् । तर ओलीसँग भेटिसकेपछि शेरधनसमेत सहभागी शनिबारको आमसभामा शेर्पा पनि मिसिए ।

गुन्डु भेटबारे शेर्पाले अध्यक्ष ओलीसँग आफ्ना कुरा राखेको बताए । ‘भोजपुरले गरेको कारबाहीको कुराबारे मैले आफ्ना कुरा राखेको छ। म केपी ओलीकै छत्रछायामा राजनीतिक गर्दै यहाँसम्म आएको हुँ’, उनले भने, ‘म राष्ट्रिय परिषद् सदस्य छु । संघीय मामिला तथा केन्द्रीय प्रशासन विभागको पनि सदस्य छु, तल्लो कमिटीले मलाई कारबाही गर्न सक्दैन ।’

उनले आफूलाई ११ औँ महाधिवेशनमा प्रतिनिधि बनेर जान नदिन कारबाहीको नाटक रचिएको बताएका छन् । ‘कारबाहीको खबर सुनेपछि म गुन्डु गएँ । सुन्दैछु, माइन्युट पनि गरेका छैनन् रे’, उनले भने, ‘मलाई महाधिवेशनका जान नदिने गरी गरिएको यो कारबाहीले मलाई छुँदैन । मैले आफ्नो कुरा अध्यक्षसँग राखेर आएँ, उहाँले हेरौँला, सम्बोधन गरौँला भन्नु भएको छ।’

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ३ : ३३ बजे

सन्तोष परियार भन्छन्- राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भयो

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नयाँ पार्टीले समावेशी

नेताको भ्रष्टीकरण, परिवारवाद र कुर्सीको खेलका कारण जेन-जी आन्दोलन भयो : जनार्दन शर्मा

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति

बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ

काठमाडौं– नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम

प्रतिनिधि छनोटमा ओलीको एकलौटी रोक्न पोखरेल पक्ष चनाखो

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही २७ मङ्सिरबाट काठमाडौँमा हुँदै

दोलखामा थपिए ६ हजार बढी मतदाता

दोलखा– जिल्लामा आउँदो निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको