काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिए ।
प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषदले गृहमन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी सरकारले वैदेशिक रोजगारीका सिलसिलामा इराक पुगेका र त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकलाई नेपाल फर्किएको अवस्थामा श्रमस्वीकृति दिने निर्णय गरेको छ।
इराकबाट प्राप्त रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेमा श्रमस्वीकृति प्रदान गरिने व्यवस्था गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारबीच जापान इन्टरनेशनल ट्रेडिङ कोअपर्रेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय पनि गरेको छ।
यसैबीच सरकारले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम रूपमा जिम्मेवारी दिने निर्णय गरेको छ।
सरकारका निर्णयहरु प्रशासनिक सुधार, वैदेशिक रोजगारी व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलाई सहज बनाउने उद्देश्यतर्फ केन्द्रित रहेको प्रवक्ता खरेलले बताएका छन् ।












प्रतिक्रिया