काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर आइतबार बैठक बोलाइएको हो ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिए । एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आज प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकमा जानकारी गराउने कार्यसूची छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलि पुष १३ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीहरुको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिव सहितका नेताहरुले छोटो सूची तयार गरेका छन् ।
भोलिको बैठकमा विभिन्न नेताहरुले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर भोलि नै निर्वाचन आयोगमा बुझाउने तयारी छ ।













प्रतिक्रिया