काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य सहित कुलमान घिसिङ र पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय बसेर राति १२ बजेसम्म बैठक गरेका थिए ।
हिजोको बैठकमा उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएपछि त्यो एकीकरण लचिलो भएको र समानुपातिकमा पार्टीका संरक्षक कुलमान घिसिङले आफ्ना अनुकूलका मानिस घुसाएको आरोपमा केन्द्रित थियो ।
उज्यालो नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको समानुपातिक बन्द सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा। राम लामाको नाममा धेरै केन्द्रीय सदस्यहरूले आपत्ति जनाए ।
लामा कुलमानको भान्जा भएकाले नातावाद हावी भएको बैठकमा कुरा उठेको थियो । तर कुलमानले उनी आफ्ना नातेदार नभएको भन्दै स्पष्टिकरण दिए । यति मात्रै होइन बैठकमा नेताहरूले सहमति तोडेर पार्टी एकता गरेकोमा गम्भीर आपत्ति जनाए ।
उनीहरूले पार्टीको नाम चुनाव चिन्ह लगायत अरु कुरा नै नामेट गरेर गरिएको सहमति आफूहरूलाई स्वीकार्य नहुने भन्दै यसमा नेतृत्व तहले उचित जवाफ दिनुपर्ने प्रश्न उठाएका थिए । मङ्गलबारको बैठकमा दुःखले निर्माण गरेको पार्टीको अस्तित्व सकिने गरी गरिएको सहमतिमा पुनर्विचार गर्न केन्द्रीय सदस्यहरूले दबाब दिए ।
बैठकमा पूर्वका पहिचानवादी नेता डा. महेन्द्र लावती, इलामका डकेन्द्र थेगिम, केन्द्रीय सदस्य गणेश बिके, तुलसा वाइबा, विशाल भण्डारी, जितराम लामा, लाक्पाफुजी शेर्पाले असन्तुष्टि राखेका थिए । केन्द्रीय सदस्य सरस्वता लिम्बू सरु, खगेन्द्र माखिमले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र लगायतका विषयमा स्पष्ट धारणा आउनुपर्ने, उज्यालो नेपालका केन्द्रीय सदस्य र अन्य नेताहरूको हैसियतका विषयमा पनि लिखित प्रतिबद्धता चाहिने स्पष्ट गरे ।
उनीहरूले यति गम्भीर विषयमा सबैसँग सल्लाह नलिई सहमति गरेकाले पार्टी नै विभाजन हुने अवस्था आएको भन्दै अध्यक्ष उपाध्याय र कुलमानलाई कसको म्याण्डेटमा यस्तो गम्भीर निर्णय गरेको भनेर र्याखर्याख बनाएका थिए । बैठकमा नेताहरूले भनेका थिए– ‘रवि भनेको विचार र नियतमा कांग्रेस सभापति शेरबहादुर देउवा, केपी ओली र प्रचण्डसंग कुम जुधाउने मान्छे भएकाले ऊसंग व्यवहार गर्दा सचेत हुनुपर्छ । हामी ब्यूरोक्रेसीबाट आएका मान्छेहरु तलमाथि गर्न नजान्ने भएकाले थप होसियार हुन जरुरी छ ।’
बैठकमा एक केन्द्रीय सदस्यले भने– ‘सातवटा बुँदाको मात्रै सहमति हो भने यो सहमति तोडेर हामी आफ्नो हिसाबले अगाडि बढौँ ।’
रक्षात्मक अवस्थामा रहेका कुलमानले सहमति आफ्नो पक्षमा रहेकोमा आश्वस्त बनाउँदै फेरि पुरक सहमति गरिने आश्वासन दिए । संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयहरू नसमेटेकाले ती विषयहरू आगामी घोषणापत्र र विधानमा समेटेर आउने उनले बताए । पहिचान र प्रादेशिक संरचनाका विषयहरूमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको यकिन धारणा आउने घिसिङको भनाइ थियो ।
‘बैठकमा कुलमान दाइ र पार्टी अध्यक्षले हतार–हतार भएकाले जेनजीको मर्म र भावना अनुरुप मिल्नुपर्ने अवस्था आएको बताउनुभयो । हतारमा एकैपटक सबै सहमतिमा लेखेर दुई तीन पन्नाको सहमति गर्ने कुरा भएन पूरक सहमति गर्ने कुरा भएको छ ।’
बैठकमा घिसिङले राखेको भनाइ राख्दै एक केन्द्रीय नेताले भने, ‘धर्म निरपेक्ष राज्य, संघीयता गणतन्त्र, समानुपातिक सहभागिता उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मौखिक एग्रिमेन्ट भएको छ, त्यसलाई पूरक लिखित एग्रिमेन्ट बनाउने कुरा भएको छ ।’
नेताहरूका अनुसार बुधबार पनि उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच बैठक भएको छ । नेताले दिएको जानकारी अनुसार यी सबै विषयमा लिखित सहमति गर्ने कुरा भएको छ ।
‘महामन्त्री दिने कुरा यथार्थ हो’ उज्यालोका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा आफ्ना पक्षका नेताहरू महामन्त्री पद दिने विषयमा भद्र सहमति भएको दावी गर्छन् । तर यो सहमतिलाई लिखित प्रतिबद्धता नजनाइकन मौखिक रुपमै स्वीकार गरेकाले आफूहरूलाई महामन्त्री पाउनेमा उनीहरू ढुक्क छन् ।
‘पार्टीको पनि वर्चस्व कायम हुने गरी बराबरी हिसाबमा सहमति गरेर जाउँ भनेर हामीले भनेका थियौं । त्यो अनुरूप राष्ट्रिय स्वतन्त्र पार्टीकै चुनाव चिन्ह, उहाँहरुकै नाम राखेर जाने कुरा भएपछि महामन्त्री पद दिने भद्र सहमति भएको थियो । एकताको बाधक नबन्ने किसिमले रवि लामिछाने बालेन शाह र कुलमान घिसिङले सहमति गर्नुभएको रहेछ ।’
बैठकमा सहभागी एक नेताले भने,– ‘पुराना सत्तालाई ढालेर नयाँ सत्ता स्थापित गर्नका लागि नयाँहरू मिल्नैपर्छ भन्ने कुरा भएपछि हामीले भद्र सहमति गरेका छौं । अहिलेलाई लचिलो भएर नै काम गरेर अगाडि बढौं किनकि दुवै पक्ष लचिलो नभएको खण्डमा एकता दिगो हुन्छ भन्ने हामीलाई लाग्दैन ।
हार्ड एण्ड फास्ट रूपमा साथीहरूले पनि आफ्नो प्रतिक्रिया नदिनुहोला । भनेर पार्टी बैठकमा अध्यक्ष उपाध्यायले जेन्टलमेन्ट एग्रिमेन्टको कुराहरू राख्नुभयो । यसमा हाम्रो पार्टी संरक्षक कुलमान दाइले पनि प्रतिबद्धता जनाउनुभयो ।’













प्रतिक्रिया