काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा भएको हिंसामा गोली लागेर घाइते भएका दैलेखका प्रकाश बोहराको रगतामम्य जुत्ता आन्दोलनको प्रतीक बन्यो । अहिले पनि उनी अस्पतालमै उपचाररत छन् ।
लामो समयदेखि नेशनल ट्रमा सेन्टरमा उपचाररत प्रकाशको खुट्टामा गम्भीर चोट लागेको छ । उनको चार वटा अपरेशन भइसकेको छ । हड्डी भाँचिएकाले खुट्टामा रड राखिएको छ ।
उनको खुट्टाको नसा तान्न मिल्दैन । खुट्टा छोटो छ । अहिले उनको अवस्था क्रमशः सुधारोन्मुख छ । अस्पतालले अब एक दुई हप्तामा डिस्चार्ज गर्ने भनेको छ । तर, भविष्यमा पनि ४–५ वर्ष लामो उपचार आवश्यक पर्ने प्रकाश बताउँछन् ।
विदेश जाने योजनामा काठमाडौं आएका प्रकाश कसैको लहैलहैमा लागेर आन्दोलनमा गएका भने होइनन् । उनको अघिल्लो पुस्ताले पनि परिवार पाल्न विदेश जानु पर्यो । अहिले आफूहरु पनि विदेशिनुपर्ने बाध्यता रहेको उनले सुनाए ।
‘आगामी पुस्ताले हामीले जस्तो दुःख नपाओस्, नेपालमै रोजगारी सिर्जना होस् । जसको लागि हामीले केही गर्नुपर्छ भन्ने मनमा लागेर आन्दोलनमा गएको थिएँ । तर सोचेजस्तो केही भएन ।’ उनले सुनाए । श्रीमती र बच्चाको जिम्मेवारी लिएर कमाउन हिँडेका प्रकाश चार महिनादेखि आफैँ अस्पतालको बेडमा लडिरहेका छन् ।
उननीसँगै आमा पनि ४ महिनादेखि अस्पतालमै छिन् । छोरालाई भेट्न आउने मन्त्री, नेता, पत्रकार लगायतले दिने अश्वासन उनलाई खोक्रा लाग्छन् । ‘कोहीसँग बोलेर के पाउने हो र ? हामीले छोराको जिन्दगी बिग्रिहाल्यो ।’ झर्को मान्दै उनले भनिन् ।
डिस्चार्ज भएर गइसकेपछि दैलेखमै गएर आफ्नो व्यवसायलाई अगाडि बढाउने सोचमा रहेको प्रकाशले बताए । झण्डै ४ महिना अस्पतालको बेडमा बिताएका प्रकाशलाई आफूहरुको बलिदानी खेर जाने हो कि भन्ने चिन्ता छ ।
अहिले देशको परिस्थितिलाई सामाजिक सञ्जालबाटै नियालिरहेका प्रकाश भन्छन्, ‘सबैले चुनाव-चुनाव भनिरेहका छन् । यो चुनावबाट फेरि पुरानै अनुहार नेतृत्वमा आउँछन् कि भन्ने पिर छ । जे हुनु भयो, अब आम जनताले राम्रा मान्छेहरुलाई छानेर अगाडि बढाउनुहोला ।’

जेन-जी घाइतेहरुको उपचारको अवस्था
सरकारले भने अनुरुप नै जेन-जी आन्दोलनका घाइतेहरुको उपचार भइरहेको छ । तर, कतिपय अस्पतालले जेन-जी कार्डको आधारमा उपचार गर्न नमानेको प्रकाश बताउँछन् ।
आन्दोलनका घाइते दिपेन्द्र बस्नेतको एउटा आँखाले काम गर्न छोड्यो । अर्को आँखामा पनि विस्तारै दृष्टि कम हुँदै गएको थियो । जेन-जी कार्ड लगेर तिलगङ्गा अस्पताल जाँदा त्यो कार्डलाई मान्यता दिइएन ।
त्यस्तै, अरु घाइतेहरुले पनि यस्तै समस्या भोगिरहेका छन् । ‘यसबारे स्वास्थ्यमन्त्रीलाई नै भेटेर कुरा राख्यौँ उहाँले सबै सरकारी कार्यालयहरुमा यही कार्डको आधारमा चिठी लेखेर पठाउने आश्वासन दिनुभयो । तर, अहिलेसम्म काम भएको छैन ।’ प्रकाशले भने ।
सरकारले घाइतेहरुको वर्गीकरण अनुसार मासिक भत्ता दिने घोषणा गरेको छ । तर कार्यान्वयनमा नआएको उनले बताए । त्यस्तै वर्गीकरण पनि आफूहरुले चाहेअनुसार नभएको प्रकाश बताउँछन् ।
जेन-जीको म्याण्डेटमा चुनाव थिएन
आफूहरुको आन्दोलनको म्याण्डेट चुनाव नभएको उनी बताउँछन् । ‘भदौ २३ र २४ गते भएको आन्दोलनमा सहभागी भएका जतिपनि जेनजीहरु हामी थियौँ, हाम्रो म्याण्डेटमा यो चुनाव भन्ने कुरा छँदै थिएन ।’ जे भएपनि सरकार गठन भइसकेपछि जेन-जीकै सरकार हो भन्ने भयो ।’ उनले भने । तर अहिलेसम्म जेनजीकै कुरा सरकारले नसुनेको प्रकाशको गुनासो छ ।
खबरहबसँगको कुराकानीका क्रममा उनले केही दिनअगाडि १० बुँदे सहमति भएको र यसमा जेन-जी अगुवा र प्रधानमन्त्रीले हस्ताक्षर गरिसकेको भएपनि राष्ट्रपतिले भने हस्ताक्षर नगरेको उनले बताए ।
‘यसका लागि १५ दिनको अल्टिमेटम दिइएको थियो, त्यो समय कटिसकेको छ । हाम्रा मागहरु एक जना व्यक्तिका लागि मात्रै थिएनन् । देशमा आर्थिक क्रान्ति होस्, युवाहरु विदेशिनु नपरोस्, ५ वर्षको स्थीर सरकार होस् भन्ने हाम्रो माग थियो । तर, त्यसको उल्टो भइदियो । अन्तरिम सरकारले चुनाव रोज्यो । हो, हाम्रो सहमतिमा सरकार बनेको हो । तर उहाँहरु हाम्रैविरुद्ध गएर चुनाव गर्नुहुन्छ भने हामीले गर्नसक्ने केही छैन ।’ प्रकशले निराशा व्यक्त गरे ।
आगामी चुनावबाट राम्रो व्यक्तिहरु आउँछन् भन्ने आफूहरुको आशा रहेको उनले सुनाए । ‘२३ र २४ गतेको घटनामा ७६ जनाले ज्यान गुमाए हामी २५ सयभन्दा धेरै घाइते पनि भयौँ । हामीहरुको बलिदानी खेर नजाओस् । बुढाखाडाहरु फेरि अगाडि नआउन् । आएपनि सुध्रिएर आउन् भन्ने हाम्रो चाहना हो ।’ उनले भने ।
‘यसअघि पनि सत्तामा रहेका व्यक्तिहरुलाई सर्लक्कै फाल्ने हाम्रो चाहना होइन । सुध्रिएर आउन् भन्ने थियो । अबको चुनावमा पनि हामी आम जनताहरु सचेत भएर सक्षम व्यक्तिलाई भोट दिनुहुनेछ भन्ने आशा छ ।’ उनले भने ।

नयाँ दलहरुको समानुपातिक सुचिप्रति चित्त दुखाइ
रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको एकतापछि सायद जेन-जीले चाहेको जस्तो हुन्छ कि भन्ने आशा गरेका प्रकाशले उनीहरुको समानुपातिक सुचिप्रति चित्त दुखाएका छन् ।
‘उहाँहरुको एकाता भयो भन्दा खुशी लागेको थियो । तर, समानुपातिक सुची हेर्दा अचम्ममा परेँ । पहिलेदेखि नै पछि पारिएको कर्णाली र सुदुरपश्चिमलाई अहिले पनि समेटिएन । जबकी जेन-जी आन्दोलनमा धेरै गम्भीर घाइतेहरुको सङ्ख्या हेर्ने हो भने कर्णाली र सुदूरपश्चिमकै धेरै देखिन्छ । मृत्युको सङ्ख्या पनि त्यही भेगको धेरै छन् ।’ उनले भने ।
‘म पनि कर्णालीकै भएकाले यो कुराले दुःख लाग्यो । रवि लामिछाने र बालेन साहसँग भेट भयो भने कर्णाली र सुदूरपश्चिमलाई किन पछि पारिएको छ ? किन हेपिएको छ ? के हामी सक्षम छैनौँ ? भनेर प्रश्नगर्न चाहान्छु ।’ प्रकाशले भने, ‘उहाँहरुले पनि सुधार्ने कुरा गर्नुभएको छ । सायद सुधारिन्छ कि भन्ने आशा छ ।’
जेन-जी आन्दोलनलाई सामाजिक सञ्जाल बन्दविरुद्ध भन्नु गलत
आफूहरुको आन्दोलन नेपोबेबी र सामाजिक सञ्जाल बन्दविरुद्धमा भनेर गलत व्याख्या गरिएको उनले बताए । ‘भदौ २३ र २४ गते जुन किसिमले हामी सडकमा आयौँ, विद्रोहमा उत्रियौँ, भर्खरै मन दुखेर यो व्यवस्था नै सबै फाल्नुपर्छ भनेर आएका हैनौँ ।’ उनले भने, ‘पहिलेदेखि नै यो देशको बेथिति कुशासन, भ्रष्टाचारदेखि लिएर विकास हुन नसक्नु, युवाहरुको विदेशिन बाध्य हुनु लगायत विभिन्न कुरामा सुधार ल्याउनका लागि थियो ।’
‘तर हाम्रो आन्दोलन नेपोबेबी र सामाजिक सञ्जाल बन्दको विरुद्धमा भनेर गलत व्याख्या गरियो । हामीभित्र पहिलेदेखि नै कुण्ठा भरिएको थियो, पोख्ने क्रममा सबै कुराहरु मिसिन आएको हो ।’ उनले भने ।
हाम्रो मुख्य माग भनेको भ्रष्टाचारको अन्त्य, आर्थिक क्रान्ति र जुनसुकै भएपनि ५ वर्षको स्थीर सरकार होस् भन्ने थियो । तर, त्यसो हुन सकेन । सरकार ढल्यो । अन्तरिम सरकार गठन भयो । अन्तरिम सरकारले पनि हाम्रा मागहरु पूरा गर्न सकेन ।’ उनले भने ।
आफ्ना माग पूरा गराउन कोही जेन-जीहरु सडकमै छन् भने कोही सरकारसँग मिलेर काम गरिहरेका छन् । अझ भन्ने हो भने जेन-जीहरु नै एक आपसमा मिलेका छैनन् । अहिले त सरकार नै एनजीओ, आईएनजीओहरुले चलाएका छन् भन्ने पनि सुनिन्छ नि भन्ने प्रश्नमा उनले अनभिज्ञता जाहेर गरे ।
‘म त ४ महिनदेखि अस्पतालको बेडमै छु । यस बारेमा केही थाहा छैन । सबैले चुनावको बारेमा कुरा गरिरहेको सुन्छु । चुनाव सफल होस् आम जनताहरुले पनि राम्रो व्यक्तिलाई छानुन् यही कामना छ ।’ प्रकाशले भने ।
मिराज र सुदनको नाम आन्दोलनअघि सुनेकै थिइनँ
आन्दोलनको सुरुवात कसले गर्यो भन्दा पनि आन्दोलन केका लागि हो भन्ने कुरा महत्वपूर्ण लागेर सहभागी भएको भन्दै उनले आन्दोलनअघि मिराज ढुङ्गाना र सुदन गुरुङको नामै नसुनेको खुलाए । ‘सुदन गुरुङलाई त्यहाँ पानी बाँडिरहेको देखेको थिएँ । आन्दोलनको क्रममा मलाई गोली लागेर ढलेपछि के भयो मलाई थाहा नै भएन । २ दिनपछि होसमा आउँदामात्रै रक्षा बम, मिराज ढुङ्गाना, सुदन गुरुङहरुको चर्चा भइरहेको पाएँ । जबकी मिराज आन्दोलनमै सहभागी थिएनन् ।’ उनले भने ।
काठमाडौं महानगरका मेयर बालेनले आफूहरुको अपेक्षा पूरा नगरेको उनको भनाइ छ । ‘आन्दोलनको सुरुवात गर्दा बालेनले जसरी साथ दिनुभएको थियो । त्यसरी नै आगामी दिनमा पनि साथ दिनुहुनेछ भन्ने हाम्रो आशा थियो । त्यो आशा निराशामा परिणत भयो । आवश्यक पर्दा उहाँ केही बोल्नुभएन । घाइतेहरुलाई भेट्न एक पटक पनि अस्पताल नआउँदा दुःख लाग्यो ।’ प्रकाशले भने ।
‘हुन त त्यसको पनि केही कारण होला । अहिले आएर हामीले चाहेको व्यक्तिहरु मिलेर अगाडि बढेका छन् । बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको छ । आशा गरौँ केही हुन्छ की ?’ उनले आशा व्यक्त गरे ।













प्रतिक्रिया