काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ७४६ औं बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले हाल कायम रहेको साधारण सेयरको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
यस अन्तर्गत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
उक्त हकप्रद सेयर जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिको माग गर्दै पत्र पठाएको छ । राष्ट्र बैंकबाट सहमति प्राप्त भए पश्चात् सो प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गरिने बैंकका कम्पनी सचिव कमल खड्काले जानकारी दिएका छन् ।













प्रतिक्रिया