दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई « Khabarhub

दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई



सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बुझाएका बन्दसूचीमा कैफियत देखिएपछि सुधार प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले देशका प्रमुख दल एमाले र कांग्रेसलाई समेत सच्याउनुपर्ने बुँदासहित सुझाव पठाइसकेको छ । तर आयोगको चासो मुख्यतः भूगोल र क्लस्टर नमिलेको सामान्य विषयमै सीमित देखिन्छ । जबकी हरेक निर्वाचनमा दलभित्रै र जनस्तरबाट संविधानको मर्मअनुरुप आफैँ निर्वाचन लड्न असक्षम उम्मेदवार नआएको प्रश्न चर्की रहन्छ ।

यसरी आयोग र दलबाट पारित हुने सूचीमा पटक–पटक पहुँचवाला र कुलीन वर्गकै वर्चस्व कायम भएको आरोप किन उठिरहन्छ ? के राजनीतिक दलले कानुनअनुसार उम्मेदवार छनोट नगरेका हुन् वा समस्या स्वयं कानुनी संरचनामै छ ? हरेक निर्वाचनसँगै दोहोरिने यो विवाद अन्त्य गर्ने ठोस उपाय के हुन सक्छ ? यिनै प्रश्नहरूका सन्दर्भमा खबरहबले संविधानविद् वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईसँग गरेको संवादको सम्पादित अंशः

२०६२/०६३ को जनआन्दोलनको मर्मअनुरुप २०६४ सालको संविधानसभाको निर्वाचन पश्चात समावेशी सहभागिताका लागि समानुपातिक निर्वाचन प्रणाली संविधानमै ल्याइयो । यसको मूल उद्देश्य के हो ?
यसको मुल उद्देश्य भनेको प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिस्पर्धा गरेर नीतिनिर्माण गर्ने थलोसम्म पुग्न नसक्ने क्षमता र हैसियत नभएका वर्ग र समुदायलाई राज्यका विभिन्न अंगमा समावेश गराउनुपर्छ भनेर सामाजिक न्यायको हक अन्तर्गत नेपालको संविधानले यो व्यवस्थालाई अवलम्बन गरेको हो । सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिको संविधानमा समान अपनत्व महसुस गरी राज्य प्रणाली तथा नीति निर्माण तहमा सहभागी गराउन मिश्रित निर्वाचन अन्तर्गतको समानुपातिक प्रणाली ल्याइएको हो ।

सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिको संविधानमा समान अपनत्व महसुस गरी राज्य प्रणाली तथा नीति निर्माण तहमा सहभागी गराउन मिश्रित निर्वाचन अन्तर्गतको समानुपातिक प्रणाली ल्याइएको हो ।

हालकोे समानुपातिक सूचीले वास्तविक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ त ?
संविधानले जम्मा १८ वटा क्लस्टर निर्माण गरेको छ । त्यो क्लस्टरलाई प्राविधिक रुपले हेर्ने हो भने महिला, दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति सबै वर्गको यान्त्रिक रूपमा त प्रतिनिधित्व भएको छ । तर यसको अन्तर्य भनेको प्रतिनिधित्व गराउनु मात्रै होइन् ।

समानुपातिक सूचीले त त्यो वर्गभित्र पनि आफैं निर्वाचन जित्न सक्ने आर्थिक हैसियत वा क्षमता नभएका व्यक्तिलाई समावेश गर्नका लागि हामीले यो प्रणाली ल्याएका थियौं । यतिका वर्षको अभ्यास अनुसार जात, थर, रङ, नाक सबै हेरियो तर ती हेरिएका मान्छे संविधानले भनेजस्तै आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिकोणले पछि परेका हुन् कि होइनन् भन्ने विषय दलले त वास्ता गरेनन् नै, निर्वाचन आयोगले पनि समानुपातिक सूचीमा परेका व्यक्तिहरू जाँच्न कुनै मापदण्ड बनाएकै छैन । जसकारण जुन उद्देश्य राखेर समानुपातिक प्रणाली ल्याइएको थियो, त्यो वर्ग समुदायले यसको प्रतिफल प्राप्त गर्न सकेका छैनन् ।

खसआर्य, दलित, मुस्लिम, जनजाति सबै क्लस्टरमा पनि ती मध्येका हुनेखाने अर्थात् तरमारा वर्गकै पकड छ । यथार्थमा तरमारा वर्गलाई प्रतिनिधित्व गराउने प्रयोजनका लागि संविधानको धारा ४२ वा ८४ राखिएको थिएन ।

२० वर्षसम्मको अभ्यासमा पनि दल सुधारिएर आएनन् । नयाँको तौरतरिका पनि फरक देखिएन । दोहोरिने नाम र कुलीन वर्ग नै हाबी हुनु कानुनी कमजोरी हो कि राजनीतिक दुरुपयोग ? कि राजनीतिक इच्छाशक्तिको कमी ?
यो दलहरूले पर्याप्त ध्यान नदिँदाको परिणाम हो । संविधानको मर्मलाई नबुझेको वा बुझ्न नचाहेको र निर्वाचन आयोगले पनि तदनुरूपको कानूनी व्यवस्था गर्न नसकेका एउटै नियति दोहोरिएको छ । हालसम्म पनि दलको नेतृत्वमा सबै वर्गलाई नेतृत्व गराउनुपर्छ भन्ने मत कमजोर देखिन्छ ।

संविधानको मर्मलाई नबुझेको वा बुझ्न नचाहेको र निर्वाचन आयोगले पनि तदनुरूपको कानूनी व्यवस्था गर्न नसक्दा एउटै नियति दोहोरिएको छ ।

हाम्रो राजनीतिक दलहरूमा पनि नेतृत्वमा हेर्दा कुलीन घरानाकै वर्चस्व देखिन्छ । समानुपातिक सूचीमा कसलाई राख्ने नराख्ने भन्ने निर्णय गर्ने त्यही नेतृत्वले नै हो । ती दलमा नै संविधानले परीलक्षित गरेका, पिछडिएको वर्ग र समुदायका मान्छे नै नीति निर्माण र दलको केन्द्रीय समितिमा कमजोर नेतृत्वमा कमजोर उपस्थिति हुनु यसको प्रमुख पहिलो कारण हो ।

दोस्रो, हाम्रो संसदले अहिलेसम्म को–को आर्थिक हैसियतले निर्वाचन लड्न नसक्ने हो, आर्थिक र सामाजिक हैसियतले बञ्चितिकरणमा परेको छ भन्ने पहिचान गर्ने कानुन नै बनाउन सकेको छैन । क्लस्टर भर्ने नाममा जोसुकै भए पनि हुने जतिसुकै शक्तिशाली, पहुँचवाला, बलियो भए पनि थर, जात र भूगोल मिल्ने भयो भने हुन्छ भनेर दलहरुले यसलाई यन्त्रिक रुपमा मात्रै पालना गरेका छन् ।

यसमा पहिलो राजनैतिक दलहरु दोषी छन् , दोस्रो संसदले कानुन बनाएको छैन, संसद दोषी छ र तेस्रो निर्वाचन आयोगले पनि संवैधानिक मर्मअनुसार छनोट गर्नका लागि पर्याप्त ध्यान नदिएको देखिन्छ । त्यसैले समान रुपमा दल, संसद, सरकार र आयोग सबै यसका दोषी हुन् ।

दलले पाएको मतको अनुपातमा संसदमा कहिले अनुहार र दल फेरिएनन् । युवा पुस्ताले नयाँ स्वाद खोजिरहेको अवस्थामा त्यही नियति दोहोरिने चर्चा सुनिन्छ नि ?
संविधानमा नै संशोधन जरुरी थियो । अहिले चुनावी र प्राविधिक सरकार भएकाले यसलाई कानुन र संविधान संशोधनको दूरगामी असर पार्ने जस्ता विषयमा यो सरकारले काम गर्न सक्दैन र अध्यादेशमार्फत गर्न पनि उचित हुँदैन । नयाँ बन्ने सरकारले यस विषयमा ध्यान दिनुपर्छ र स्थापित राजनीतिक दलहरुले साँच्चै हृदयदेखि नै जुन वर्गलाई लक्षित गरेर यो व्यवस्था राखिएको हो, त्यही वर्गले प्रतिफल पाउने गरी संविधान र कानुनमा संशोधन गर्नुपर्छ ।

गत वर्ष साउनमा समानुपातिक प्रणाली सुधारका लागि परेको रिटमा सर्वोच्च अदालतले नै परिमार्जन गर्न आदेश दिएको थियो । तर त्यो आदेश कार्यान्वयन भएन । यसपटक तिनै कुलीन वर्गकै हालीमुहाली समानुपातिक सूचीमा देखियो । आदेशअनुरुप समानुपातिक कानूनमा कस्ता सुधार देखिनुपर्थ्यो ?
क्लस्टर समूहभित्रको वर्ग र समुदायमै पनि आर्थिक तथा सामाजिक रुपले सम्पन्न आफैँ निर्वाचन लड्न सक्षमलाई प्रत्यक्ष प्रणालीमार्फत आउन सुझाउनु पर्छ । यो प्रणालीको प्रतिफल दिइनु हुँदैन । यसका लागि राज्यले क्लष्टर समूहमा परेका वर्गमा पनि उच्च, मध्यम र न्यून आय भएका, गरिबीको रेखामुनि परेका भनेर वर्गीकरण गर्दै उनीहरुलाई परिचयपत्र वितरण गर्नुपर्छ । त्यसको आधारमा मात्रै ती समुदायको प्रतिनिधित्व गराउने व्यवस्था गरियो भने यो समस्याको समाधान हुन्छ अन्यथा सधैं हालकै परिपाटी दोहोरिन्छ । यसका लागि संसद र राजनीतिक दलहरुको इच्छा शक्ति चाहिन्छ ।

अदालतको आदेश यसरी बेवास्ता भइरह्यो भने लोकतन्त्र र विधिको शासनमा कस्तो असर पर्छ ?
अदालतको आदेश आफूखुसी मान्ने वा नमान्ने हामीमा पुरानै रोग हो । संवैधानिक सर्वोच्चता भएको मुलुकमा अदालतको आदेश पालना गर्नुपर्छ । अदालतको आदेश नमान्नेलाई उचित र कानून सम्वत भन्न सकिँदैन । अहिले त यो आदेश कार्यान्वयन गर्न पनि संसद नभएका कारण समस्या पैदा भएको हो ।

अदालतको आदेश आफूखुसी मान्ने वा नमान्ने हामीमा पुरानै रोग हो । संवैधानिक सर्वोच्चता भएको मुलुकमा अदालतको आदेश पालना गर्नुपर्छ ।

राष्ट्रिय सभामा लैजाने कि भन्ने चर्चा पनि थियो यो कति उचित होला ?
समानुपातिक सूचीबाट आएका सीमान्तकृत समुदायका वर्ग राष्ट्रिय सभामा मात्रै जानुपर्ने प्रत्यक्षमा नआउने भन्ने बहस उपयुक्त छैन । किनभने, यो आफैमा विभेदरहित हुँदैन । त्यसैले आगामी संसदले यी सबै विषयमा गहन अध्ययन गरेर कानुनमा संशोधन गर्नुपर्छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : १७ बजे

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका

कुमारी बैंकले मनायो २५ औँ वार्षिकोत्सव

काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

एजेन्सी– पछिल्लो अमेरिकी गुप्तचर मूल्यांकनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६